अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जुम्लाको गुठिचौरस्थित भेडा बाख्रा फारमको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने ३ सरकारी कर्मचारीसहित १६ जना विरूद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । मालपोत कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख गोबिन्द प्रसाद न्यौपानेलगायतका कर्मचारीले गुठीचौर भेंडा बाख्रा फारमको नाममा नाप नक्सा भई फिल्डबुक कायम भएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेका थिए ।
गुठीचौर भेंडा बाख्रा फारमको नाममा रहेको करिव ९३ हजार बर्ग मीटर क्षेत्रफल रहेको जग्गा व्यक्तिको नाममा दर्ता गराएको भन्ने उजुरी परेपछि आयोगले प्राथमिकताका साथ अनुसन्धान गरेको थियो । आयोगका प्रबक्ता प्रदीपकुमार कोइरालाका अनुसार जुम्लाको गुठी चौरको सरकारी जग्गा सरकारी तथा स्थानीय केही मानिसको मिलेमतोबाट निजी ब्यक्तिको नाममा दर्ता गरेको उजुरीलाई आयोगले अत्यन्तै चासो र प्राथमिकताका साथ वढाइ अनुसन्धान गरेको हो । विस्तृत अनुन्धानपछि सरकारी जग्गा व्यक्तिको नाममा गर्ने कार्य भ्रष्टाचार निवारण ऐन विपरित भएकाले उनीहरुलाई उक्त ऐन बमोजिमकै कसुरमा विगो माग गर्दै मुद्धा दर्ता गराएको हो ।
जुम्ला मालपोत कार्यालयका कर्मचारीले नापी कार्यालय र भेंडा वाख्रा फारमसँग मिली करिब ९३ हजार वर्ग मिटर क्षेत्रफल रहेको जग्गा बाँडफाँड गरी व्यक्तिको नाममा दर्ता गरेका थिए । उक्त कार्य भूमिसुधार ऐन, २०२१ विपरित मानिन्छ । सरकारी जग्गा गलत नियतले हदबन्दीभन्दा बढी दर्ता गर्नुका साथै जग्गा बिक्री वितरणसमेत गरेकाले उक्त जग्गा व्यक्तिको नाममा दर्ता गर्ने मालपोत कार्यालय जुम्लाका तत्कालीन निमित्त प्रमुख (नासु) गोविन्दप्रसाद न्यौपानेसहित १६ जनालाई विभिन्न विगो माग दावी गर्दै विशेष अदालत काठमाडौंमा मुद्धा दर्ता गरिएको हो ।
प्राप्त अधिकारको दुरुपयोग गरी सरकारी जग्गा दर्ता गर्ने कार्यमा संलग्न कर्मचारी उपर छानविन गरी भ्रष्टाचारी माथि आवश्यक कार्बाही होस् भन्ने व्यहोराको आयोगमा उजुरी परेको थियो । साथै उक्त जग्गाको सम्बन्धमा व्यापक समाचारहरु समेत प्रकाशित भएका थिए ।







