एजेन्सी । प्रेम प्रस्ताव गर्दा मान्छेहरूले अनेक तरिका प्रयोग गरेको सुन्नमा आइरहन्छन् । केही दिनअघि अमेरिकाका एक युवकले आफ्नी प्रेमिकालाई बिहेको प्रस्ताव गर्दा अपनाएको अनौठो तरिका अहिले चर्चामा छ ।
होस्टनका २४ वर्षीय विदाल नवासले गर्लफ्रेन्ड मिचेल वेकफलाई व्यस्त राजमार्गको बीचमा गाडी रोकेर बिहेको प्रस्ताव गरेका हुन् । यात्राकै क्रममा एकाएक राजमार्गको बीचैमा गाडी रोकेपछि विदालले राजमार्गमै गर्लफ्रेन्डलाई अंकमाल गर्दै बिहेको प्रस्ताव गरेका थिए । यो जोडीका कारण व्यस्त राजमार्गमा केही समय सवारीसाधनको लामै जाम परेको थियो ।
समस्यामा परेकाहरूले एकैचोटि गाडीको हर्न बजाउँदा पूरै कोलाहल मच्चिएको थियो । चर्को जामको मार खेप्नुपरेकाहरूले विदाल र मिचेललाई स्वार्थी र खराबको संज्ञा दिँदै आलोचना गरेका थिए । राजमार्गको बीचमै प्रेमजोडीको अनौठो गतिविधि देखेपछि प्रहरीले तत्कालै विदाललाई पक्राउ गरेको थियो । राजमार्ग जाम गराएर यात्रुलाई दु:ख दिएपछि कानुनत: उनलाई कम्तीमा ६ महिना जेल सजाय हुने बताइएको छ । (नयाँ पत्रिकाबाट)







