जब जिम्न्यास्टहरूले ओलम्पिक वा राष्ट्रिय प्रतिस्पस्र्धामा आफ्नो उच्च खेल प्रदर्शन गर्छन्, त्यतिवेला सबैको मनमा एउटै प्रश्न उब्जिन्छ, ‘कसरी उनीहरू यति धेरै शक्तिशाली र लचकदार
भए ?’
शक्ति, लचकता, संयोजन, कलात्मक र आफ्नो शरीरमाथि आफैँले नियन्त्रण राख्न सक्ने क्षमताको विकास जिम्न्यास्टिकले गर्छ । बोनिस्या एन्ड हर्जिगोभिनाका चर्चित फिटनेस प्रशिक्षक समीर बेकिकले आफ्नो पुस्तकमा जिम्न्यास्टिकका १० फाइदाबारे लेखेका छन् ।
लचकता
लचकता जिम्न्यास्टिकको प्रारम्भिक पक्ष हो । शरीरको लचकता बढ्नु भनेको चोटपटक कम गर्न सहायकसिद्ध हुनु पनि हो । मुभमेन्ट बुझ्दै त्यसलाई आफ्नो रुटिनमा संयोजन गरेर जिम्न्यास्टहरूले ठूलो लचकता र शरीरमाथिको ठूलो नियन्त्रण हासिल गर्न सक्छन् ।
रोगप्रतिरोधक
जिम्न्यास्टिकले तपाईंको शरीरलाई स्वस्थ राख्छ । आस्थामा, क्यान्सर, अबिसिटी, मुटु रोग र डायबेटिजजस्ता रोग निम्तिने खतरा कम गर्छ । जिम्न्यास्टिक गर्नेहरूको जीवनशैली स्वस्थ हुन्छ । नियमित व्यायाम र सन्तुलित भोजनका लागि यो सहायक सिद्ध हुन्छ ।
बलियो हड्डी
जिम्न्यास्टिकले बलियो र स्वस्थ हड्डी विकास गर्नका लागि महत्वपूर्ण भूमिका खेल्छ । बाल्यकाल वा किशोरावस्थादेखि जिम्न्यास्टिक खेल्न सुरु गरेकाहरूको हड्डी बलियो बन्दै जान्छ । सानैदेखि बलियो र स्वस्थ हड्डीको विकास हुँदा ओस्यिोपोरोसिसजस्ता समस्या देखिने खतरा कम रहन्छ ।
आत्मविश्वासी बनाउँछ
रोबर्ट उड जोनसन मेडिकल कलेजले गरेको एक अध्ययनअनुसार जिम्न्यास्टिकलगायत शारीरिक गतिविधिमा संलग्न बालबालिकाको आत्मविश्वास र आत्मसम्मान अन्यको दाँजोमा धेरै हुन्छ । उनीहरूको क्षमता पनि बढ्दै गएको हुन्छ ।
दैनिक अभ्यास
अमेरिकन हर्ट एसोसिएसनका अनुसार बालबालिका कम्तीमा पनि एक दिनमा एक घन्टासम्म शारीरिक गतिविधिमा संलग्न हुन आवश्यक छ । १८ वा त्यसभन्दा माथि उमेरका व्यक्तिले कम्तीमा पनि सातामा ५ दिनसम्म ३० मिनेट अभ्यास गर्न जरुरी छ । एसोसिएसनका अनुसार जिम्न्यास्टिक खेल्दा अधिकतम फाइदा लिन सकिन्छ ।
सोच्ने शक्तिको विकास
जिम्न्यास्टिकका सहभागीले शारीरिक फाइदा मात्रै लिन्छन् भन्ने छैन । सोच्ने शक्तिको विकास गर्न र ध्यान केन्द्रित गर्नका लागि यसले महत्वपूर्ण भूमिका खेल्छ । बालबालिकालाई कल्पना शक्तिको भरपुर उपयोग गर्दै आफ्नै बारेमा सोच्न सिकाउँछ । आत्मविश्वासको कमी, डिप्रेसनलगायत समस्या जिम्न्यास्टिक गर्नेहरूमा कमै देखिन्छ ।
संयोजनको वृद्धि
जिम्न्यास्टिक खेल्नेहरू संयोजनकारी भूमिका कसरी खेल्ने भन्ने विषयमा राम्रो जानकार हुन्छन् । त्यसैले उनीहरू हतारमा प्रतिक्रिया दिँदैनन् । यस सिद्धान्तलाई खेलकुदबाहिर प्रयोगमा ल्याउँदा मानिसहरू विभिन्न खतराबाट जोगिन सक्छन् । समस्या परेका वेला उनीहरूले त्यसलाई छिटो पत्ता लगाउन सक्छन् र समाधान खोज्न सक्छन् । हिँड्ने, उभिने र जम्प गर्ने वेलामा उनीहरूले शरीरको पोजिसन कस्तो बनाउने भन्ने ज्ञान लिएका हुन्छन् ।
स्टेन्थ विकास
जिम्न्यास्टिक खेल्नेहरूको शरीरका अंग निरन्तर चलायमान हुन्छन् । त्यसैले ती निकै बलिया हुन्छन् । अपर बडी, लोअर बडी र कोर स्ट्रेन्थको विकासमा जिम्न्यास्टिक फलदायी हुन्छ ।
अनुशासित हुन्छन्
जिम्न्यास्टिक खेल्नेहरूले अनुशासित कसरी हुने भनेर सिकेका हुन्छन् । हरेक खेलाडीसँग प्रशिक्षकले सोधेका वेला गल्ती करेक्सन गर्न सक्ने आत्मनियन्त्रण खुबी हुन्छ र प्रशिक्षकले अर्को खेलाडीलाई सिकाइरहेका वेला अनुशासनमा बसेर आफैँ अभ्यास गर्ने बानी उनीहरूको हुन्छ । उनीहरू धैर्यवान् र शान्त हुन्छन् ।
सामाजिक क्षमता
जिम्न्यास्टिकले सामाजिक क्षमताको विकास गराउँछ । बालबालिकालाई कसरी लाइनमा उभिने, हेर्ने, सुन्ने र अरू बोलेका वेला आफू चुप रहने भन्ने विषय सिकेका हुन्छन् । उनीहरूलाई स्वतन्त्र ढंगले सोच्ने र काम गर्ने बानी परेको हुन्छ । कसरी अरूको सम्मान गर्न सकिन्छ भन्ने विषय सिकिन्छ ।







