थुनामुक्त भएलगत्तै पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नौ जना कार्यकर्तालाई उच्च अदालत पोखराले मंगलबार पुनः थुनामुक्त गर्न आदेश दिएको छ ।

मंगलबार अदालतले थुनामुक्त गर्न आदेश दिएपछि विप्लव कार्यकर्ताहरुले मानवाधिकार आयोग कास्कीका अधिकृत ज्योती प्रसाद घिमिरे, टंक खनाल र नेपाल बार एशोसिएसन उच्च अदालतका अध्यक्ष रोहितराज बास्तोलाको रोहबरमा छुटेको व्यहोरासहितको कागजातमा सहिछाप गरेका छन् ।

उच्च अदालतले उक्त जानकारी जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय डाँडाकोनाकलाई पनि पठाएको छ । अदालतले जारी गरेको जानकारीपत्रमा लेखिएको छ, “आज यस अदालतकाको संयुक्त इजलाश समक्ष पेश हुँदा बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहरी आदेश भई हामीहरुलाई रजिष्ट्रारले राष्ट्रिय मानव अधिकार आयोग, कास्कीका अधिकृत र नेपाल बार एशोसिएसन उच्च अदालत पोखरा इकाइका अध्यक्षको रोहबरमा आजै छोडिदिनु भन्ने समेत आदेश भएकोले सो आदेश बमोजिम हामीहरु रजिष्ट्रारले आयोगका अधिकृत ज्योतीप्रसाद घिमिरे र बारका अध्यक्ष रोहितराज बास्तोला रोहबरमा छुटि गएकोले यो कागज लेखी लेखाई सहिछाप गरी श्री उच्च अदालत पोखरामा चढायौँ ।”

गत बिहिबार पनि उनीहरुलाई अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो । तर, प्रहरीले आदेश दिएकै दिन बिहिबार मध्यरातमा प्रहरीले भवनभित्रैबाट पक्राउ गरि इलाका प्रहरी कार्यालय डाँडाकोनाक पुर्‍याएको थियो । उनीहरुलाई सार्वजनिक अपराधको मुद्दा लगाइएको छ । मध्यरातमा पक्राउ गरे पनि प्रहरीले पक्राउ पुर्जी भने शुक्रबार बिहानमात्रै लिएको थियो ।

विप्लव नेकपा कार्यकर्ताका कार्यकर्ता छोड्न अदालतको आदेश, प्रहरी भने अदालतबाहिर कुर्दै

गैरकानुनी तरिकाले पक्राउ गरिएको भन्दै पक्राउ परेको भोलिपल्टै अदालतमा पक्राउ पर्ने मध्येका जंगबहादुर भण्डारी (आक्रोश) को तर्फबाट पृथ्वीराज भण्डारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । उक्त रिट उपरको सुनुवाई पश्चात मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल र न्यायाधीश डालकुमार खड्काको इजलाशले जंगबहादुर भण्डारी, प्रकाश बास्तोला, गगन परियार, सुजन सापकोटा, सन्तोष विक, काजी गुरुङ, आस्था नेपाली, राजन साउद र मिलन राईलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

विप्लव नेकपा कार्यकर्ताका नौ कार्यकर्ता मध्यरातमा फेरि पक्राउ

यद्यपी, आयोग र बारको रोहबरमा छुटेको भनेतापनि विप्लव कार्यकर्ताहरु भने अहिले अदालतभित्रै छन् । अदालतको भित्री बाहिरी परिसरमा सिभिल र नेपाल प्रहरीको बाक्लो उपस्थिती छ ।

मंगलबार निवेदकतर्फबाट रोहितराज बास्तोला, सन्तोष कोईराला, मिना कुमारी रानाभाट, हिमलाल पराजुली, ईश्वर चिलवाल, सन्तोषमणि लामिछाने र डिल्लीराम अधिकारीले निवेदकको पक्षमा र विपक्षमा उपन्यायधिवक्ता प्रेमराज पौडेलले बहस गरेका थिए । बहसपछि आदेश जारी गर्दै अदालतले तुरुन्तै थुनामुक्त गर्न आदेश दिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार