नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शान्तिप्रक्रिया टुंगोमा नपुगेको नपुगेको बताएका छन् । सिटौलाले विस्तृत शान्ति सम्झौताको मर्मअनुसार वेपत्ता पारिएका व्यक्तिहरुको सार्वजनिक गर्नेलगायत द्वन्द्वका सबै समस्याको समाधान नभए अर्को विद्रोह जन्मिने बताए ।
तत्कालिन गृहमन्त्री तथा विस्तृत शान्ति सम्झौतामा महत्वपूर्ण भूमिका खेलेका सिटौलाले भने, “मैले मओवादी नेताहरुलाई शान्ति सम्झौतामा ल्याउन भूमिका खेलेँ, गिरिजाबाबु र प्रचण्डबीच भएका महत्वपूर्ण छलफलको साँची पनि हुँ । त्यति बेला भएको छलफल सहमतिअनुसार शान्तिसम्झौता टुंगोमा पुगेको छैन । यो जति ढिलो हुन्छ, अर्को विद्रोहको आधारभूमी तयार पार्छ ।” उनले अहिलेको सरकारले थुप्रै काम गर्न सक्ने अवस्था भएपनि त्यो नगरेको आरोप पनि लगाए ।
राज्यद्वारा वेपत्ता पारिएका विपिन भण्डारी र दिलबहादुर राईको स्मरणमा राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज, नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै सिटौलाले नागरिक बेपत्ता पार्ने कार्य गम्भीर अपराध भएको बताउँदै पीडितहरुलाई न्याय दिन नसके द्वन्द्व व्यवस्थापन नहुने बताए ।
द्वन्द्व व्यवस्थापनमा नेताहरु असफल भए अन्तर्राष्ट्रिय शक्ति आकर्षित हुने भन्दै सिटौलाले भने, “शान्ति सम्झौताअनुसार द्वन्द्वको व्यवस्थापन गर्न नसके हाम्रा नेताहरु असफल हुनेछन्, त्यसपछि देश रहला तर सार्वभौम सत्ता नरहन पनि सक्छ ।” उनले देश रहने तर नागरिक नरहने अवस्था आउन नहुने बताए ।
आफू द्वन्द्व व्यवस्थापनको लागि हरदम तयार रहेको बताउँदै नेता सिटौलाले माओवादी तर्फबाट आधिकारिक व्यक्ति को हो भन्ने प्रश्न समेत गरे । उनले तत्कालिन विद्रोही पक्षका नेता प्रचण्डले एमालेसँग एकता गरिसकेको र केही माओवादी घटक बाहिर रहेकोले आधिकारिक कसलाई आधिकारिक मान्ने प्रश्न उठेको बताए ।
शान्ति प्रक्रियाको सुरु हुँदाको अनुभूति सुनाउँदै सिटौलाले कति व्यक्ति बेपत्ता छन् भन्ने सरकारसँग रेकर्ड थिएन, ६० दिनमा सकिन्छ होला भनेर लेख्यौं तर सकिएन । उनले अहिले पनि गृहमन्त्रालयसँग त्यसको कुनै रेकर्ड नभएको दाबी गरे ।







