काठमाडौं । केरुङ रेलमार्गनिर्माणका विषयमा छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीको नेतृत्वको टोली चीन पुगेको छ । नेपाली टोली सोमबार चीन गएको हो । काठमाडौँबाट छन्दू पुगेको नेपाली टोली छन्दूबाट चीनको सान्तोङ प्रान्तमा पर्ने पर्यटकीय स्थल छिन्तावो पुगेको छ ।

छिन्तावोबाट बुधबार अपराह्न नेपाली टोली बेइजिङ जाने भएको छ । शुक्रबार चिनियाँ पक्षसँग दुईपक्षीय बैठक बस्ने पूर्वकार्यतालिकामा केही हेरफेर भएर बिहीबार चिनियाँ पक्षसँग बैठक रहेको बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर सुशीलकुमार लम्सालले नागरिकलाई बताए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो पनी हेर्नुहोस्, नेपाल वायुसेवा निगमका बाह्य र आन्तरिक उडानका सबै जहाज घाटामा छन् । नयाँ पत्रिकालाई प्राप्त तथ्यांकअनुसार गत साउनदेखि पुससम्मको ६ महिनामा निगमले दुई अर्ब ११ करोड रुपैयाँ घाटा व्यहोरेको छ । त्यसयता निगमका जहाजको उडान अवधि घटेका कारण असार मसान्तसम्म यो घाटा दोब्बरभन्दा बढी हुने देखिन्छ ।

असार मसान्तमा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई २४ अर्ब ऋणको त्रैमासिक किस्ताबापत एक अर्ब ६० करोड बुझाउनुपर्नेछ । यो किस्ता बुझाउन सक्ने अवस्थामा निगम छैन ।

किस्ता तिरिदिने विषयमा सरकारसँग छलफल चलिरहेको निगमका प्रवक्ता नवराज कोइरालले बताए । यसअघि गत चैतको किस्ता पनि तिर्न नसकेपछि सरकारले तिरिदिएको थियो ।

निगमले गत वर्ष मात्रै भित्र्याएका एयरबसका वाइडबडी मात्रै होइन, न्यारोबडी जहाज पनि घाटामा छन् । न्यारोबडीमा निगमले हरेक महिना एक करोड ९४ लाख रुपैयाँ घाटा व्यहोरेको छ ।

नयाँ पत्रिकालाई प्राप्त विवरणअनुसार गत साउनदेखि पुससम्मको ६ महिनामा न्यारोबडी जहाजको घाटा ११ करोड ६७ लाख रुपैयाँ छ । यस हिसाबले यस आर्थिक वर्ष सम्पन्न हुँदा घाटा २३ करोड ३४ लाख रुपैयाँ पुग्नेछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार