एकलौटी निर्णयका कारण प्रधानमन्त्री केपी शर्मा ओली नेकपाभित्रै अल्पमतमा पर्न थालेका बेला उनका एक मन्त्री पनि आफ्नै पार्टीका सांसदबाट आलोचित भएका छन्।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बजेटसम्बन्धी गरेका निर्णयलाई लिएर उनकै पार्टीबाट उनको राजीनामाको माग उठेको छ।
खासगरी बजेट विनियोजनका मामिलामा महासेठले प्रधानमन्त्री ओलीको मात्र कुरा सुनेको र स्थानीय स्तरको समस्यालाई बेवास्ता गरेको भन्दै नेकपाका सांसद जनार्दन शर्मा, लालबहादुर थापासुदन किराँती लगायतले उनको तिव्र आलोचना गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा उनीहरुले व्यंग्यात्मक शैलीमा विनियोजित सबै बजेट रकमान्तर गरी प्रधानमन्त्री ओलीको जिल्ला झापा र मन्त्री महासेठको जिल्ला धनुषा लैजान आग्रह समेत गरेका छन्।
आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमाथि छलफलका क्रममा नेकपा सांसद जनार्दन शर्माले आफ्नो जिल्ला रुकुमका लागि छुट्याएको बजेट निकै न्यून भएको भन्दै त्यसलाई हटाउन आग्रह गरे।
उनले भने, ‘जति रकम भए पनि बजेटको यो शीर्षक रुकुमबाट हटाइयोस्। रकमान्तर गरेर झापा हालियोस्। झापा मात्र भन्यो भनेर मन्त्रीलाई दुःख लागे थोरै बजेट जनकपुरमा लैजानुहोला।’
सांसद लालबहादुर थापाले सरकारले बजेट विनियोजन गर्दा पक्षपात गरेको बताए। त्योसँगै उनले पूर्वाग्रहीढंगले काम गरेको भन्दै मन्त्री महासेठको राजीनामा माग गरेका छन्।
थापाले भने, ‘पूर्वाग्रही भएर बजेट शून्य बनाइयो। जनताका माग हामीले कसरी धान्ने?’ सांसद सुदन किराँतीले भोजपुरलाई विकास योजनाबाट हटाएको भन्दै दुःख व्यक्त गरे।







