दाईजोको निहुँमा आफूलाई श्रीमान् र सासु–ससुराले घरबाट निकालेको आरोप लगाएकी वीरगञ्ज महानगरपालिका वडा नम्बर–६ बस्ने डाक्टर निलम साह र उनीका श्रीमान डाक्टर राजेश साहबीच बुधबार पत्रकार सम्मेलनमै झगडा भएकाे छ।

सञ्चार माध्यम मार्फत आफू र आफ्नो परिवारलाई झुठो आरोप लगाएर बदनाम गर्न खोजेको भन्दै निलमका पति राजेश साहले बुधबार पत्रकार सम्मेलन गरेका थिए।

उक्त पत्रकार सम्मेलन चलिरहेको समयमा एक्कासी आइपुगेकी निलमले पत्रकार सम्मेलनमै श्रीमान राजेशमाथि अपशब्द प्रयोग गरेर दुर्व्यबहार गरेकी थिइन्।

उनीहरुबीच पत्रकार सम्मेलनमै करिब आधाघण्टा घम्साघम्सी भएको थियो। सो क्रममा निलमले श्रीमानकाे घाँटीमा सलले बाँधेर अपशब्द प्रयोग गरेकी थिइन्।

पत्रकार सम्मेलनमा राजेशले बिहेको केही समयसम्म आफूहरुबीच राम्रो सम्बन्ध भएपनि निलम एमबीबीएस पढ्न जनकपुर गएको र जनकपुरबाट घर फर्कनुको साटो निलम आफ्ना अविभावकसँग काठमाडौँ गएर बस्न थालेपछि सम्बन्ध बिग्रिन थालेको बताए। उनले  एमबीबीएसको अध्ययनपछि निलम एमडी पढ्न चीन गएको बताए।

राजेशले आफू अध्ययनको लागि न्यूजिल्याण्डमा बस्दै आएको तर निलम पाँचवर्षदेखि आफ्नो घरमा नबसेको पत्रकार सम्मेलनमा बताएका थिए।

उनले निलममाथि घरेलु हिंसा नभएको दाबी गरे। ‘म अध्ययनको लागि न्यूजिल्याण्डमा बस्दै आएको छु। निलम पनि मेरो परिवारसित बसेकी छैनन्’, उनले भने, ‘अनि कसरी कुन अवस्थामा म वा मेरो आमाबुवाले निलममाथि घरेलु हिंसा गरे?।’

उनले अदालतमा आफूले समबन्ध विच्छेदको मुद्दा दिएको र त्यसको फैसला जे जस्तो आए  पनि आफू मान्नलाई तयार रहेको बताए।

केहि दिनअघि डा. निलमले आफूलाई घरबाट निकालिएको भन्दै जीवनरक्षाको माग गर्दै पत्रकार सम्मेलन गरेकी थिइन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार