अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदो वर्ष हुने राष्ट्रिपति चुनावका लागि आफ्नो चुनावी अभियान औपचारिक रुपमा सुरु गरेका छन् । ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी अभियानको सुरुवात फ्लोरिडाको ओरल्याण्डोबाट गरेका हुन् ।स्थानीय समय अनुसार मंगलबार बेलुका (नेपाली समय अनुसार बुधबार बिहान) ओरल्याण्डमा आयोजित र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी अभियानको सुरुवात गरेका हुन् ।
उनले अमेरिकालाई ‘ग्रेट’ बनाइराख्नका लागि थप चार वर्ष आफूलाई विश्वास गर्न आग्रह गरेका छन्। चुनावी अभियानको औपचारिक घोषणा र्यालीमा प्रथम महिला मिलानिया ट्रम्प पनि साथमा थिइन् ।
सन् २०१६ मा डेमोक्र्याटिक पार्टीकी हिलारी क्लिन्टनलाई पराजित गरेर राष्ट्रपति बनेका ट्रम्पले सन् २०२० को चुनावमा गम्भीर चुनौतीको सामना गर्नु पर्ने देखिएको छ । उनका विभिन्न नीति तथा कार्यशैलीले धेरै अमेरिकीमा असन्तोष पैदा भएको विश्लेषण गरिन्छ ।
डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार को बन्ने भन्ने तय भइसकेको छैन र पार्टीबाट उम्मेदवारी जित्नका लागि नेताहरुको कसरत चलिरहेको छ ।
व्यापार र आप्रवासी सम्बन्धी कडा नीतिका कारण ट्रम्पको आलोचना भइरहेको छ । यस्तै साढे दुई वर्षको कार्यकालमा बढ्दै गरेको अर्थतन्त्र र कम भएको बेरोजगारी उनका सकारात्मक पक्ष हुन् ।







