ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा साबिक विजेता चिलेले लगातार दोस्रो जित दर्ता गरेको छ । समूह चरण अन्तर्गत शनिबार बिहान भएको खेलमा चिलेले इक्वेडरलाई २–१ ले पराजित गरेको हो ।
चिलेको जितमा जोसे पेड्रो फुएन्जालिडा र एलेक्स सान्चेजले गोल गरे । इक्वेडरका लागि इनर भ्यालेन्सियाले एक गोल फर्काए ।
आठौँ मिनेटमा जोसेको गोलबाट चिलेले सुरुवाति अग्रता लियो । २६ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै इनरले इक्वेडरका लागि बराबरी गोल फर्काए ।
पहिलो हाफमा १–१ को बराबरीमा पुगेको चिलेका लागि ५१ औँ मिनेटमा सान्चेजले गोल गरे । त्यसपछि दुवै तर्फबाट गोल हुन सकेन । तर ८९ औँ मिनेटमा गाब्रिएल एकिलिएरले रातो कार्ड पाएपछि इक्वेडर केही मिनेट १० खेलाडीमा सीमित भयो ।
पहिलो खेलमा चिलेले आमन्त्रित टिम जापानलाई ४–० ले पराजित गरेको थियो । लगातार दुई जित निकालेको चिले ६ अंकसहित समूहको शीर्ष स्थानमा छ ।
चार अंकसहित उरुग्वे दोस्रो स्थानमा रहेको छ । इक्वेडरले भने दुवै खेल गुमाएकाले अंक जोड्न सकेको छैन । जापान एक अंकसहित तेस्रो स्थानमा छ ।












