प्रदेश सरकार र स्थानीय सरकार हावाहुरी पीडितको लगत संकलनमै अल्झिरहेका बेला साझा विवेशील पार्टीले भने पीडितका ११ वटा घर निर्माण गरेको छ।
जेठ २३ गते राती आएको हावाहुरीका कारण कैलाली कञ्चनपुरमा ठुलो संख्यामा घरहरु क्षति भएका थिए। त्यस लगत्तै साझा विवेकशील पार्टी सुदूरपश्चिम प्रदेशले स्वतस्फुर्त रुपमा आफ्ना पार्टीका युवा परिचालन गरि पुर्ननिर्माण अभियान संचालन गरेको थियो।
साझा विवेकशीलले धनगढी उपमहानगरपालिका भित्रका विभिन्न वडाका गरि ११ घर निर्माण गरेको छ। उक्त पार्टीका अनुसार धनगढी उपमहानगरको वडा नम्बर १५ मा ६ घर, वडा नम्बर २ मा २ घर र वडा नम्बर १२ मा ३ वटा घर निर्माण गरिएको छ।

‘पुर्ननिर्माण अभियान शुरु गरेको ११ औँ दिनमा ११ घर निर्माण गर्यौं’ साझा विवेकशीलका सुदूरपश्चिम संयोजक गोपाल हमालले शनिवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘पार्टीमा आवद्ध साथीहरुबाटै आर्थिक संकलन र पार्टीकै युवा साथीहरुले जनश्रमदान गरि घर निर्माण गरेका हौँ।’ ११ घर निर्माण गर्दा श्रमदान बाहेक १ लाख २९ हजार ५ सय २५ रुपैयाँ नगद खर्च भएको संयोजक हमालले जानकारी दिए।
‘हावाहुरीले धेरैका घर भत्कीएका भएपनि हामीले निश्चित मापदण्डका आधारमा ११ घर निर्माण गरेका हौँ’, हमालले भने, ‘आयस्रोत नभएका र सहाराविहीनका घर हामीले निर्माण गर्यौँ। हामीले पार्टी, समुदाय नहेरी सबैभन्दा बढी पीडित र सहाराविहीनलाई प्राथमिकतामा राखेर घर निर्माण गर्यौँ।’
‘यो धेरै ठुलो काम नभए पनि अन्य पार्टी र संगठनलाई पनि प्रेरणा बन्न सक्छ’ संयोजक हमालले भने, ‘इच्छा शक्ति र सहि काम गरे जस्तोसुकै समस्या पनि सहजै समाधान गर्न सकिन्छ भन्ने पाठ सिकाउन पनि नमुनाका रुपमा यो अभियान हुन सक्छ।’
यसैगरी कैलालीकै गोदावरी नगरपालिकाको ओलानीमा पनि हावाहुरी पछि बत्ति नहुँदा स्थानीयलाई खानेपानीको निकै समस्या भएको थियो। त्यहाँ पनि साझा विवेकशीलले गाडीमा पानी लगेर वितरण गरेको थियो। ‘ओलानीमा गाडीमा पानी वितरण गरेपछि सबैको ध्यान केन्द्रित भयो’, संयोजक हमालले भने, ‘जसका कारण अन्य ठाउँमा बत्ति बनाउन १० दिन लागे पनि त्यहाँ ३ दिनमै बत्ति बन्यो र पानीको अभाव हट्यो।’
स्थानीय सरकार र प्रदेश सरकार वर्षा शुरु हुन लाग्दा समेत पुर्ननिर्माणमा नजुटी लगत संकलनमै अल्झिएको संयोजक हमालको भनाई छ।







