रुपन्देहीको देवदहमा २ बालबालिकामाथि सौतेली आमाले निर्घात कुटपिट गरेकी छन्।
देवदह नगरपालिका १० चरङ्गेकी ३५ वर्षीया डिलमाया सारुले १२ वर्षिय सुशील सारु र ८ वर्षिय सिर्जना सारुलाई निर्घात कुटपिट गरेकी हुन्। कुटपिटपछि बालबालिकाको शरीरमा निलडाम देखिन्छन्।
बालबालिकालाई बंगुरलाई खुवाउन ल्याएको ब्रेड, चिउरामा रक्सी हालेर जबरजस्ती खान दिने गरेको र नखाए पाइपले पिट्ने गरेको उनीहरुले बताएका छन्।
बालबालिकालाई अमानवीय व्यवहार गर्दै कुटपिट गर्ने डिलमायालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। उनीहरुकी आमा अन्यत्रै बिहे गरेर गएपछि बाबु जीतबहादुरले डिलमायासँग दोश्रो बिहे गरेका थिए।
फुपु वसन्ती थापासँगै बस्दै आएका उनीहरु कान्छी आमा आएपछि घर फर्किएका थिए। जीतबहादुर रोजगारीका लागि दुबईमा छन्। उनी दुबईमा रहेको समयमा उनले सौतेनी छोराछोरीलाई लामो समयदेखि निर्घात रुपमा कुटपिट गर्दै आएको र खाना समेत राम्रोसँग नदिएको बालबालिको भनाई छ।
‘अब हामी त्यो आमासँग बस्दैनौँ, हामीलाई कुटेर मार्नुहुन्छ, हामी त्यो आमासँग बस्दैनौँ, फुपुसँग बस्छौं’, कुटपिटबाट विक्षिप्त भएका बालबालिकाले भने। शुक्रबार विद्यालयमा झोक्राइरहेका बालबालिकालाई शिक्षकले के भयो भनेर सोधपुछ गरेपछि मात्रै घटना बाहिर आएको हो।







