काठमाडौं । योग, शारीरिक र मानसिकरुपमा चुस्त बन्ने महत्वपूर्ण माध्याम हो । जुन २१ अर्थात शुक्रबार अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । बदलिंदो जीवनशैलीमा योगको प्रभावकारिता बढ्दै गएको जानकारहरु बताउँछन् । विश्वभर ३० करोड मानिस योग अभ्यासमा जुटेका छन् ।
संयुक्त राष्ट्रसंघले योगलाई शताब्दी विकासको सूचकांकका रुपमा राखेको छ । योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आधात्मिक चेतका साथ जिउन सिकाउने कलाको रुपमा बुझिन्छ ।
योगका आसनहरूले मांसपेशीलाई बलियो बनाउँछ । योगले तनाव भगाउँछ, मीठो निद्रा लगाउँछ, भोक जगाउँछ र पाचनप्रक्रियालाई सही ढंगबाट चलाउँछ । प्राणायामले स्वासप्रश्वासको गति नियन्त्रण गर्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको केवल रोगबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रुपमा स्वस्थ हुनु हो । यो सबैको प्राप्तिको आधार योग नै हो । प्राचीन समयमा हठयोग, तन्त्रयोग, मन्त्रयोग, राजयोग, कर्मयोग, ज्ञानयोग जस्ता विभिन्न योग प्रमुख रुपमा रहेका थिए ।
वर्तमान समयमा विश्वमा यिनैबाट विकसित गरिएका भावातित ध्यान, विपश्यना ध्यान, सूदर्शन क्रिया, अष्टाङ्ग योग, विक्रम योग, विन्यास योग, आयङ्गर योग, कुण्डलिनि योग जस्ता अनेकौ विधिहरुको बृहत अनुसन्धान तथा उपयोग भैरहेको छ । इन्टरनेशनल योग फेडेरेशनका अनुसार विश्वभरी ३० करोड मानिसहरुले योग अभ्यास गर्दछन् यो संख्या बढ्दै छ ।
https://youtu.be/9GTAOdfnWgE







