खोटाङ– ‘प्रधानमन्त्रीले म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न भन्नु भएको छ। त्यो अगाडिको म गर्दिन भन्नेचैँ पूरा भएको छ। त्यो गर्न दिन्न भन्नेचैं पूरा भएन।’ उल्लेखित भनाई प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईको हो।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको बैंकचोक–पोखरी टोल ताकिल निर्माण उपभोक्ता समितिले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य भट्टराईले जताततै भइरहेका भ्रष्टाचारका कारण देशको बिकास हुन नसकेको बताए।

हरेक योजनाको काम गुणस्तरहिन गर्ने र आर्थिक अनियमितता गर्ने प्रबृत्तिले दिक्क बनाएको भट्टराईले उल्लेख गरे। ‘भ्रष्टाचार गर्न दिन्न भनिएको छ तर, गौंडा–गौंडामा, छिन–छिनमा, मिनेट–मिनेटमै भ्रष्टाचार भएपछि देश कसरी बन्छ,’ भट्टराईले भने, ‘लड्न पनि कति लड्नु। कति जनासँग छुचो हुनु! साह्रै दिक्क लागेर आउँछ।’

दिक्तेल–खोटाङबजार सडक स्तरोन्नतीका काम र मध्यपहाडी लोकमार्गको जयराम–हलेसी सडक खण्डमा भइरहेको प्याच वर्कको काम गुणस्तरहिन भएकाले आवाज उठाएको प्रतिनिधिसभा सदस्य भट्टराईले उल्लेख गरे। ‘भ्रष्टाचारका बिरुद्ध धेरै वर्ष लडियो, अझै लड्नु छ,’ भट्टराईले भने, ‘मलाई यस्ता पक्षहरुसँग सम्झौता गरेको, झुकेको, मिलेको पाउनुहुन्न। म कुनै पनि हालतमा यस्तो कम्प्रमाइज गर्दिन।’

प्रतिनिधिसभा सदस्य भट्टराईकै स्थानीय पूर्वाधार विकास कार्यक्रमको १० लाख बजेटबाट बैंकचोक–पोखरी टोल ताकिल निर्माण गरिएको हो। बैंकचोकबाट पोखरी टोल झर्ने सडक बाटो भत्केको, विग्रेको र भिरालो भएकाले स्थानीय पुर्वाधार विकास कार्यक्रमको बजेट माग गरेर तालिक निर्माण गरिएको बैंकचोक पोखरी टोल ताकिल निर्माण उपभोक्ता समितिका अध्यक्ष लिलाकुमार बजिमयले बताए।

सार्वजनिक सनुवाईमा तालिक निर्माणका क्रममा भएको कर्मी खर्च, टेलिकमको पोल सार्ने, गिटी खरिद, सिमेन्ट खरिद, बालुवा खरिद, ढुंगा खरिद, पलामे छड खरिद लगायतका शीर्षकमा ११ लाख १ हजार ४८२ रुपैयाँ खर्च भएको जानकारी दिइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार