राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाउने १०० कम्पनीमाथि गरेको अनुसन्धानबाट करिब साढे सात अर्ब रुपैयाँ कर छली भएको खुल्न आएको छ ।
प्रारम्भिक निष्कष निकाल्दै उसले कार्बाही प्रस्ताव अघि बढाएको छ । ती कम्पनीबाट नक्कली बिल खरिद गर्ने झण्डै एक हजार कम्पनीको हिसाबकिताब जोड्दा कुल कर छली १५ अर्ब रुपैयाँ पुग्ने समाचार कान्तिपुर दैनिकले छापेको छ। २०६७ सालको नक्कली भ्याट बिल प्रकरणमा झण्डै ६ अर्ब रुपैयाँ कर छली भएको थियो।
राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले अहिलेसम्म नक्कली भ्याट बिल बनाउने ३२ वटा कम्पनीका सञ्चालक र कर्मचारीविरुद्ध मुद्दा दायर गरिसकेको जानकारी दिए। ‘अन्य ४५ कम्पनी छानबिनका क्रममा छन्’, मैनालीले भने, ‘अदालतमा गइसकेको मुद्दामै बिगोको आकार करिब पाँच अर्ब रुपैयाँ पुगिसकेको छ।
अरु कम्पनीको अनुसन्धान सकिँदा यो अंक सहजै साढे सात अर्ब रुपैयाँ पुग्छ।’ नक्कली बिल उत्पान गर्ने कम्पनीसँग बिल खरिद गर्ने कम्पनीमाथि छानबिन हुँदा थप त्यति नै राजस्व चुहावट भेटिने विभागका अधिकारीहरूको भनाइ छन।







