गुठी विधेयकविरुद्ध ४ असारमा माइतीघर मण्डलामा ठूलै प्रदर्शन भयो । धन्य, सञ्चार माध्यममा पनि त्यसको समाचार आएछ र प्रधानमन्त्रीले थाहा पाएछन् । प्रदर्शन ठूलै थियो ।
प्रधानमन्त्रीले त्यसको भिडियो मगाएर हेरेछन् । भिडियो हेर्न दायाँतिर भूमिसुधारमन्त्री पद्मा अर्याल बसिन्, बायाँतिर सञ्चारमन्त्री गोकुल बाँस्कोटा ।

माइतीघर मण्डलामा मान्छेको भीड देखेर प्रधानमन्त्रीले सोधे, ‘यी सबै मान्छे नै हुन् ? कि कीराफट्यांग्रा गोकुल ?’
गोकुलले चस्मा मिलाउँदै भने, ‘मान्छे त मान्छे नै हुन्, तर सबै सामन्तवादी हुन् प्रधानमन्त्रीज्यू । सामन्तवादी मिलेर निकालेको जुलुस हो यो ।’
‘हो ?’ प्रमले चस्माको प्वालबाट हेरे ।
‘योऽऽ सामन्तवादी मात्र होइनन् प्रधानमन्त्रीज्यू, यिनीहरु जम्मै भाडामा ल्याइएका हुन् । भाडामा नल्याएको भए यति धेरै मान्छे आउँछन् ?’
‘मलाई पनि त्यस्तै लाग्छ । हामीले पूरा शक्ति लगाएर बोलाउँदा पनि काठमाडौँमा यति मान्छे आउँदैनन् । यो त कसैले पनि बोलाएको होइन रे । नबोलाइकन को आउँछ ? उही भाडाकै मात्र होइन र आउने ?’
‘त्यही त भनेको । पार्टीले बोलाउँदा त आउँदैनन् भने नबोलाइकनै को आउँछ ? भाडाकै हुन् । भाडा तिर्न धेरै पैसा खर्च गर्या हुनुपर्छ ।’ पद्माले तर्कपूर्ण विचार राखिन् ।
‘केही त भाडामा पनि होलान्, तर मूलतः यिनीहरु सामन्तवादी नै हुन् प्रधानमन्त्रीज्यू ।’ गोकुलले पनि तर्क पेस गरे ।
‘सामन्तवादीहरु पनि भाडामा लिन मिल्छ ?’ प्रधानमन्त्रीले क्रस क्वेसन राखे ।
‘मिलिहाल्छ नि, किन मिल्दैन ? नमिल्या भए यति मान्छे जम्मा हुन्थे ?’ गोकुलले पनि ट्वाक्क कुरा मिलाइहाले ।
‘त्यसो भए हामीले केही गर्नुपरेन ?’ प्रम ।
‘किन गर्नु, अब जे गर्नुपर्ने हो, उनीहरुले नै गर्छन् ।’
भिडियो अफ् । तीनै जनाले तनावपूर्ण मुस्कान छाडे ।
ekantipur







