काठमाडौ । कञ्चनपुर, नवलपरासी (पूर्व) र सिन्धुलीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । कञ्चनपुर, बेदकोट नगरपालिका(३ स्थित सडकमा म.१ प ५८९५ नम्बरको मोटरसाइकल र म.२ प ८६८ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाँई सोमबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका म.१ प ५८९५ नम्बरको मोटरसाइकल चालक बेदकोट नगरपालिका-३ दैजी बस्ने ३७ वर्षीय पुष्पराज कलौनीको महाकाली अञ्चल अस्पताल हुँदै थप उपचारका लागि भारतको भोजिपुरातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अन्य २ जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । दुबै मोटरसाइकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नवलपरासी (पूर्व), गैंडाकोट नगरपालिका-२ स्थित सडकमा ना.७ ख ७७१ नम्बरको ट्रकले ना।२७ प ५३६ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४० वर्षीय तिलचन्द्र अधिकारीलाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवनतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । ट्रक चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।
सिन्धुली, सुनकोशी गाउँपालिका-२ कमेरेफांटस्थित सडकमा बा.१३ च३७९३ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल सुनकोशी नदिको किनारमा खसेर मंगलबार बिहान दुर्घटना हुँदा कारमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका चालक समेत २ जनामध्ये १ जनाको स्थानीय अस्पताल रातामाटामा उपचार भइरहेको छ भने १ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
उता झापाको कन्काई नगरपालिका-३ सुरुङ्गा बजारमा डेरा गरी बस्ने भारत काटियारी ग्राम पंचायत कालिगंज थाना मानियारी बस्ने ४० वर्षीय मोहमद जुबेरको कोठामा खाना पकाउने क्रममा ग्याँस लिक भई सोमबार बेलुका आगलागी हुँदा सोही घरमा रहेको चियापसल र घर नजिकै रहेको सालिकराम कार्कीको घरमा रहेको पसल समेत जलेर करिब ६ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैगरी पर्साको वीरगंज महानगरपालिका-६ माईस्थानबाट हुण्डी कारोबारमा संलग्न ८ जनालाई नगद ४१ लाख ९२ हजार ९ सय रुपैयाँ र २ केजी ९० ग्राम चाँदी जस्तो देखिने वस्तु सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रौतहट चन्द्रपुर नगरपालिका-७ बस्ने ३३ वर्षीय बिनोद सुनार, पर्सा छिपहरमाई नगरपालिका-२ बस्ने ३५ वर्षीय राज कपुर साह, पर्सा वीरगंज महानगरपालिका-१० बस्ने २६ वर्षीय चन्दन कुमार सर्राफ, पर्सा वीरगंज महानगरपालिका-६ बस्ने ३७ वर्षीय राकेश कुमार सिंह, पर्सा विन्दवासिनी गाउँपालिका-२ बस्ने २४ वर्षीय सुजित कुमार साह, बारा परवानीपर गाउँपालिका(१ बुनियाद बस्ने २९ वर्षीय घनश्याम सर्राफ, भारत विहार मोतिहारी पूर्वी चम्पारण बस्ने ३६ वर्षीय सुनिल कुमार प्रसाद र भारत विहार मोतिहार नैनपुर बस्ने ३५ वर्षीय गुलाब साह रहेका छन् ।
उक्त ठाउँस्थित केपी स्वर्णकलाकेन्द्र सुनचाँदी पसल मा हुण्डी कारोबार हुँदैछ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त रकम सहित फेला पारी पक्राउ गरेको हो । साथै जिल्ला प्रहरी कार्यालय पर्सा र आन्तरिक राजश्व कार्यालय वीरगंजबाट खटिएको संयुक्त टोलीले उक्त पसल सिल गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका बौद्ध बस्ने खोटाङ मंगलटार गाउँपालिका- ६ घर भएका २९ वर्षीय भविराज राईलाई चन्दा असुली रसिद लगायत नेकपा विप्लप समूहको विभिन्न दस्ताबेज सहित काठमाडौं महानगरपालिका-४ सुकेधारबाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा जाँच गर्ने क्रममा राईले चलाएको बा.२ ज ३८७१ नम्बरको ट्याक्सीबाट चन्दा असुली गर्ने रसिद, अखिल क्रान्तिकारी यातायात मजुदर संघको सदस्य रसिद ५० थान, सोही संघको पर्चा ३ सय थान लगायतका कागजात फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यता बुढानिलकण्ठ नगरपालिका-१० कपन डेरा गरी बस्ने सोलुखुम्बु घर भएका युवराज घिमिरेको कोठाबाट सुन तथा चाँदीका बिभिन्न गर गहना समेत गरी करिब ३ लाख ३३ हजार १ सय रुपैयाँ बराबरको धनमाल सोमबार दिउँसो चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-१६ खरिवोट डेरा गरी बस्ने गोरखा गण्डकी गाउँपालिका-३ घर भएका अमृत पन्त र खोटाङ हलेसी गाउँपालिका-७ घर भएका सुस्मिता बस्नेतको कोठाबाट नगद तथा सुन चाँदीका बिभिन्न गरगहना समेत गरी करिब ४ लाख ७२ हजार रुपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।







