नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले विप्लव छिट्टै मुलधारको राजनीतिमा आउने दाबी गरेका छन् ।
भरतपुर महानगरपालिकाको चाैथो नगरसभालाई सम्बोधन गर्दै प्रचण्डले आफुलाई नेतृत्वकर्ताको हिसावले विप्लवले घृणा नगर्ने विश्वास लिएको जनाएका छन् ।
उनले एउटै पार्टीमा हुँदा विप्लवले आफ्नो दिमाग अलिअलि खल्बलिने गरी गरेको तर्क सुनाए ।
शान्ति प्रक्रियामा आएर पहिलो संविधानसभा चुनाव भइसकेपछि एउटा बैठकमा विप्लवले गरेको तर्क सुनाए, ‘कमरेड तपाईले हामीलाई काठमाडौं त लिएर आउनुभयो तर, मलाई चाहिँ अनुभूति के भयो भने नुवाकोटको भर्खरको तामाङ केटीलाई काठमाडौं लगेर बिहे गर्छु भनेर बम्बई पुर्याएको जस्तो महसुस भयो ।’
प्रचण्डले अघि भने, उहाँले शायद अब बुझ्नुभयो होला, मैले बम्बई लगेको होइन, काठमाडौं ल्याएको छु ।’
विप्लवले जुन दिन ‘प्रचण्डले बम्बई लगेको रहेनछ, काठमाडौं नै लगेको रहेछ’ भन्ने बुझ्छन्, यो दिन उनी मूलधारको राजनीतिमा आउने प्रचण्डको दाबी छ । योभन्दा बढी मसँग नसोध्नुहोला भन्दै नेकपा अध्यक्ष प्रचण्डले भने, ‘यही बुझ्न केही केही गर्नुपर्ने थियो । अब धेरै गर्नुहुन्न भन्ने लागेको छ मलाई छ ।’
आज भोलि पाएको संकेतमा विप्लवले बम्बई होइन, काठमाडौं नै ल्याएको बुझ्न थालेको भन्दै उनले यो समस्याको छट्टै शान्तिपूर्ण समाधान हुनुपर्ने र हुने बताए ।







