
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि लेखिका ई जीन केरोलले लगाएको यौन शोषणको आरोपबारे फेरि जवाफ दिएका छन् । ट्रम्प्ले उनीमाथि यौन शोषण नगरेको फेरि दाेहाेर्याएका छन् ।
उनले भनेका छन्, ‘मैले उनलाई यौन शोषण गरेको थिइनँ, किन कि, उनी मलाई मन पर्दैन ।’ एले म्यागजिनकी कोलमिस्ट केरोलले भने आफूलाई ९० को दशकमा डोनाल्ड ट्रम्पले एक कपडा पसलको स्टोरभित्र ड्रेसिङ रुममा यौन शोषण गरेको आरोप लगाउँदैआएकी छन् ।
ट्रम्पले भने एक अन्तर्वार्तामा केरोलले झुट बोलिरहेको बताएका छन् । केरलले लगाएको आरोप गलत भएको उनको भनाइ छ । लेखिकाले पूर्ण रुपमा झुट बोलिरहेको ट्रम्पले बताएका छन् । साथै उनीबारे आफूलाई केही जानकारी नभएको पनि उनले बताएका छन् । यसअघि पनि सिएनएनमा दिएको अन्तर्वार्तामा केरोलले भनेकी थिइन्, ‘ट्रम्पले मलाई ढोकाभित्र यति बेस्सरी धक्का दिए कि, मेरो टाउको उनीमाथि ठोक्कियो ।’
मेनहट्टनको बर्गडर्फ गुडम्यान स्टोरको फिटिङ रुममा ट्रम्पको आक्रामक व्यवहारको प्रतिकार गरेको लेखिकाको भनाइ छ । २०१६ को चुनाव प्रचारका बेला पनि ट्रम्पमाथि यस्तो आरोप लागेको थियो ।
विमान यात्राको क्रममा ट्रम्पले यौन शोषण गरेको आरोप थियो । यसपटक पनि ट्रम्प चुनावी प्रचारमा लागिरहँदा उनीमाथि यौन शोषणको आरोप लागेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।







