काठमाडौ । अहिले सरकार फेरबदलको चर्चा भइरहेको छ । दुई जना अध्यक्ष भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अहिले सरकार परिवर्तन गर्ने र मन्त्रीमण्डल हेरफेर गर्ने दुई थरी कुरा बाहिर आइरहेका छन् ।
अहिले प्रधानमन्त्री रहनु भएका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाललाई लिएर अनेक चर्चा सुरु भइरहेको छ । सरकार फेरबदलको विषयलाई लिएर नेकपा स्थायी समिति सदस्य एवं सांसद देवेन्द्र पौडेलले बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पुनर्गठन हुने दावी गर्नुभएको छ ।
मंगलबार राजधानीमा भएको एक कार्यक्रममा पौडेलले मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भइरहेकोले बजेट कार्यान्वयनसँगै मन्त्रीहरु अदलीबदली हुनसक्ने बताउनु भएको छ । उहाँले पार्टी एकता गर्दा नै दुवै अध्यक्षले आलोपालो बैठकको अध्यक्षता गर्ने र सरकार पनि आलोपालो चलाउनेबारे सहमति भएको भन्दै सोही सहमति अनुसार अघि बढ्नुपर्ने स्पष्ट पार्नुभयो ।पौडेलले भन्नुभयो, ‘हामी एकताको पक्षमा छौं । एकता रहरको लागि गरिएको होईन । त्यसैले विगतमा भएका सहमति ईमानदारिताका साथ कार्यान्वयन गर्नुपर्छ ।’ उहाँको आशय नेकपाका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री पार्टी एकता धरापमा पर्नसक्छ ।पौडेलले वर्तमान सरकार पाँच वर्षसम्मको लागि निर्वाचित भएकोले तत्काल स्थानीय, प्रदेश र संघमा सरकार फेरबदल हुने अवस्था नरहेको जिकिर गर्नुभयो । यद्यपी संघीय सरकार भने पार्टीको निर्णयका आधारमा फेरबदल गर्न सकिने पौडेलको भनाइ रहेको छ ।
सरकारको कामलाई प्रभावकारिता बनाउनको लागि पनि मन्त्रिमण्डल फेरबदल गर्न सकिने उहाँले जानकारी गराउनुभयो । सरकारको काम सुशासनको क्षेत्रमा अझै राम्रो हुनुपर्ने भनेर जनस्तरबाटै गुनासो आईरहेको भन्दै गुनासो गर्नुभयो । भ्रष्टाचार न्यूनिकरणको लागि पनि त्यस्तै गम्भिर पहलकदमी चाल्नुपर्ने पौडेलको भनाई थियो ।