सत्ताधारी नेकपाका नेता घनश्याम भुषालले आफ्नो पार्टी वास्तविक पार्टी नबनेको र त्यसले कार्य संचालन गर्न नसकेको बताएका छन् ।
अहिले पार्टी गुटमा मात्र सक्रिए भइरहेको भन्दै जबसम्म पार्टी बन्दैन तबसम्म पार्टीले कुनै आफ्नो लक्ष्य हासिल नगर्ने उनको भनाई छ ।
नयाँ पत्रिका दैनिकसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । भुषालसँगको कुराकानीको सानो अंश ।

पार्टीभित्रै पनि असन्तुष्टि छ । पार्टीका कमजोरी के हुन् ? सरकार कहाँनिर असफल भयो ?
पार्टी त चलेकै छैन । यसका के कमजोरी भन्नू ? पूर्ण रूपमा पार्टी गठन भएकै छैन, घोषणा मात्रै भएको छ । गठन हुन त सबै ठाउँका कमिटी र तिनको कार्यविभाजन हुनुपर्छ, अधिकार र कर्तव्यहरू प्रत्यायोजन भएर काम गर्न थाल्नुपर्छ, त्यो गठन हो । कुनै संस्था गठन गर्ने निर्णय हामीले लियौँ । तर, त्यसको स्वरूप बनाउन बाँकी छ भने त्यो त घोषणा मात्रै हो । नेकपा पनि गठन गर्ने घोषणा भएको हो, पार्टी पुनर्गठन भएकै छैन । यसमा हामी चौध महिनादेखि लागेका छौँ । त्यो पूरा भइसकेको छैन । त्यसो हुँदा यस्तो पार्टीको के कमजोरी भन्नु र ? सरकारको कुरामा मन्त्रालयपिच्छे म जान चाहन्नँ ।
सरकारका मुख्य दुई काम हुन्छन् । एउटा त्यसले जनताबाट सहमति लिइरहन्छ र अर्को शासन गर्छ वा दमन गर्छ । जुन सरकारले शासन गर्नका लागि यथेष्ट जनमत लिँदैन, त्यो ध्वस्त हुन्छ, ढल्छ । संसारभरिका विद्वान् र घटनाले यही भन्छन् । सरकारले बजेट ल्याउँछ, कानुनहरू बनाउँछ, त्यसमार्फत् कार्यान्वयन गर्छ र जनमत सिर्जना गर्छ । फेरि आफू बलियो हुन्छ र कार्यान्वयन गर्छ । जति कार्यान्वयन प्रभावकारी बनाउँछ, त्यति नै जनमत सिर्जना गर्छ । यो द्वन्द्वात्मक हुन्छ । जनमत सिर्जना गर्ने एजेन्सी पार्टी हो । जहाँ पार्टीले काम गर्दैन, त्यहाँ व्यक्ति जति चिच्याए पनि केही चल्दैन । म पपुलर हुँ, म कुलको वा वंशको हुँ, म राजखानदानको हुँ भनेर हुँदैन । यहाँको सैद्धान्तिक समस्या यो हो । सरकारले गरेका कामबाट जनमत वा सहमति सिर्जना गर्ने काम भएन । यो सरकार शासन मात्रै गर्न चाहन्छ । विधेयक ल्याएको छ, कहाँ जुलुस गर्ने–नगर्ने भनेको छ, प्रेसलाई के भन्दै छ, अर्कोलाई के भन्दै छ । यो सबै शासनको पाटो मात्रै हो । जनमत सिर्जना गर्ने कारखाना (पार्टी)लाई उसले बन्द गरिदिएको छ, चाबी लगाएर राखेको छ । राजनीतिक शास्त्रको आँखाले हेर्नुहुन्छ भने केपी ओलीको असफलता यहाँनेर हो ।
हाम्रो लगाव दुईजना नेतामा केन्द्रित भयो । उहाँहरू बोल्नुभएन भने पूरै पार्टीको तलसम्मै बोलचाल बन्द । दुईजनाले बोल्नुभयो भने फेरि पूरै पार्टीभित्र बोलचाल सुरु । पार्टीको हालत यस्तो छ । बाँकी आठ लाख सदस्यको त्यहाँ कुनै मूल्यांकन छैन । तिनको काम छैन ।
नेकपामा अहिले प्रधानमन्त्री केपी ओलीको विकल्प खोजिँदै छ भन्ने सुनिन्छ नि ?
लोकतन्त्रमा लोकतान्त्रिक भइरहनुपर्छ । लोकतन्त्र चलाउँछु भन्नेले सबैभन्दा पहिले आफैँ लोकतान्त्रिक भइरहनुपर्छ । एक दिन लोकतान्त्रिक भएर हुँदैन । सातौँ महाधिवेशनताका केपी ओली लोकतान्त्रकि बन्नुभएको थियो । त्यो एक दिन बनेर भएन । भारतले नाकाबन्दी लगाउँदा प्रधानमन्त्रीका रूपमा उहाँ राम्रै भूमिकामा हुनुहुन्थ्यो । मैले भनेको थिएँ– तपाईंले धेरै राम्रो काम गर्नुभयो । त्यसरी एकचोटी गरेर हुँदैन, निरन्तर गरिरहनुपर्छ । लोकतन्त्रमा मेरा पुर्खाले अर्जेको माटो भनेर अस्तिसम्म ज्ञानेन्द्रले बोलेजसरी हुँदैन । कसैले हटाउन खोजेको छ ? केपी ओलीले राम्रै गर्नुभएको छ भने कसैका बाउको दैया चल्दैन ।
उहाँले ठीकसित चलाउनुभएन भने पनि कसैका बाउको दैया चल्दैन । त्यसैले, हटाउन खोज्ने र नखोज्ने कुरा सब्जेक्टिभ हुन् । कसैलाई कमरेड ओलीसँग रिस उठेर यसो भन्दै छ भने यो व्यक्तिगत कुरा हो । तर, समाजले नै विकल्प सोच्न थाल्यो भने त्यो खतरा हो । सहमति लिने भल्भ तपाईंले बन्द गरिदिनुभयो र आदेश मात्रै दिनुभयो भने त्यो ‘क्र्यास’ हुन्छ । इतिहासमा क्र्यास भएका छन् । समग्रमा भन्नुपर्दा जुन पोटेन्सियल नेकपामा छ, यत्रा कार्यकर्ता छन्, त्यत्रो डरलाग्दो युद्धको व्यवस्थापन गरेर आएको नेतृत्व छ । यता गाउँगाउँमा गएर आमा–बूढीआमाहरूसँग सुखदुःख साटेर, तिनका विदेश गएका छोराछोरीलाई फोन हानेर ‘लौ आमा कुरा गर्नुस्’ भनेर, पाँच वर्ष लाएर एउटा आमाको भोट लिने तन्मयतासहित आएका नेता–कार्यकर्ताको पल्टन छ ।
मान्छेसित मात्रै होइन, धुलोमाटोसँग समेत भोट माग्न सिकेको पंक्ति छ । राजनीतिक रूपले यत्रो संसदीय उपस्थिति छ । यो सबै हेर्ने हो भने केपी ओलीले साँच्चै गर्नुभएन, गरिराख्नुभएको छैन । ओली कमरेडको (भविष्य) के हुन्छ भन्ने कुरा उहाँको कर्म, क्षमता, दायित्व निभाउने तरिका आदिले भन्ने कुरा हो । मैले भन्ने कुरा होइन ।







