माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज पत्रकार सम्मेलन गर्दै एसईईको नतिजा सार्वजनिक गरेको हो । बोर्डले गत वर्षको चैत १० गते लिएको एसईईको परीक्षाको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै रुपमा सार्वजनिक गरेको हो ।
मुलुकभरबाट ४ लाख ७५ हजार ३ जना परीक्षामा सहभागी भएका थिए । जसमध्ये छात्र २ लाख ३० हजार १ सय ४१ र छात्रा २ लाख २९ हजार १ सय ३४ गरी कुल ४ लाख ५९ हजार २ सय ७५ जना परिक्षार्थी उत्तीर्ण भएका छन् । परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार १७ हजार ५ सय ८० जनाले ३ दशमलव ६० देखि ४ जीपीए प्राप्त गरेका छन् ।
३ दशमलव २० देखि ३ दशमलव ६० जीपीए पाउने विद्यार्थीको संख्या ५१ हजार १ सय ३७, २ दशमलव ८० देखि ३ दशमलव २० जीपीए पाउनेको संख्या ६३ हजार ७ सय ४१ रहेको छ । २ दशमलव ४० देखि २ दशमलव ८० जीपीए पाउनेको संख्या ७६ हजार ५ सय ६४, तथा २ देखि २ दशमलव ४० जीपीए पाउने विद्यार्थीको संख्या ९८ हजार २ सय ७ रहेको बोर्डले जनाएको छ ।
९५ हजार ३ सय ७ जनाले १ दशमलव ६० देखि २ जीपीए पाएका छन् भने ४ हजार ४ सय २९ जनाले शून्य दशमलव ८० देखि १ दशमलव २० जीपीए पाएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सामुदायिक विद्यालय तर्फ ३ लाख २५ हजार ३ सय ३० तथा निजी विद्यालय तर्फबाट १ लाख ३३ हजार ९ सय ४५ जना परिक्षार्थी उर्त्तीण भएको बोर्डले जनाएको छ । नियमित तर्फको परीक्षामा छात्र ९ हजार ५ सय ९६ र छात्रा ७ हजार २ सय ८६ गरी कुल १६ हजार ८ सय ८२ जना उर्त्तीण भए भने प्रविधिक तर्फको परीक्षामा छात्र ६ हजार १ सय ९ र छात्रा ३ हजार ५ सय २४ गरी कुल ९ हजार ६ सय ३३ जना उर्त्तीण भएको बोर्डले जनाएको छ ।
यस्तै, राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सन्तोषजनक नभएको बताउनु भएको छ । नियमित कक्षा सञ्चालनमा रहेको भन्दै उहाँले पठनपाठनमा कुनै समस्या नभए पनि अपेक्षाकृत नतिजा आउन नसक्नु दुखद भएको बताउनुभयो ।
अहिले पनि सिकाई प्रणालीमा खासै उपलब्धी हुन नसेकोले विद्यार्थीहरुलाई सिकाउने शैलीमा परिर्वतन जरुरी रहेको उहाँले बताउनुभयो । अनिवार्य गणित विषयको पठनपाठन भने व्यवहारिक नहुँदा नतिजा सन्तोषजनक नभएको बोर्डका सदस्य सचिव अर्यालको भनाई छ ।
गत वर्षको एसईई परीक्षामा सम्मिलित भई नियमित समूहको सैद्धान्तिक तर्फ बढीमा दुई विषयमा डी ग्रेड प्राप्त गरेका वा अनुपस्थित भएका परीक्षार्थीले ग्रेड वृद्धिका लागि पूरक परीक्षामा सहभागी हुन पाउने उहाँले जानकारी दिनुभयो । पूरक परीक्षाको समय तालिका भने पछि मात्र प्रकाशन गरिने बोर्डका सदस्य सचिव अर्यालले बताउनुभयो ।







