काठमाडौं । अहिले नेपालमा सरकार परिवर्तनको विषय चर्चामा रहेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओलीले तानाशाही शैली नरोके सरकार नै ढाल्ने चेतावनी दिनु भएको छ ।

आज स्थानीय तह कर्मचारी युनियनको प्रथम राष्ट्रिय भेलालाई काठमाडौँमा सम्बोधन गर्दै सभापति देउवाले यस्तो उद्घोष गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘लोकतन्त्रमाथि प्रहार गरिरहने, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी विधेयकहरु ल्याउने काम सरकारले रोकेन र तानाशाही शैली देखाउँदै गायो भने यो सरकार ढाल्छौं ।’

लोकतन्त्रको लागि राणा ढालेको कांग्रेसले पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो भने केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै आइतबार नभएको उहाँले बताउनुभयो ।

देउवाले वर्तमान सरकार असफल भएको महसुस जनताले गरिसकेकाले अब कांग्रेसले सडक र सदनबाट आन्दोलन छेड्ने तयारी गरिसकेको पनि उहाँले जानकारी दिनुभयो ।

सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालत पारित हुन नदिने अडान दोहोर्याउनुभयो ।

मिडिया विधेयकले पत्रकारलाई नियन्त्रित गर्ने भन्दै कांग्रेस पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले कांग्रेस निकट कर्मचारीहरुलाई धेरै दुःख दिने गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो ।

वर्षौदेखि स्थानीय तहमा काम गर्दै आएका अस्थायी कर्मचारीहरुलाई स्वतः स्थायी गर्नुपर्ने उहाँको धारणा रहेको छ । दुई दिनसम्म चल्ने स्थानीय तहको भेलामा देशभरका कांग्रेस आवद्ध ट्रेड युनियनका कर्मचारीको सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार