रियो दि जेनेरियो : ब्राजिलमा जारी दक्षिण अमेरिकाको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिकाको क्वाटरफाइनलमा शुक्रबार राति अघिल्ला लगातार दुई संस्करणको उपविजेता अर्जेन्टिनाले भेनेज्वेलाको सामना गर्दै छ।

यो खेलमा सबैभन्दा बढी अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सी दबाबमा हुनेछन्। पाँचपटकका फिफा वर्ष खेलाडी मेस्सीले अझैसम्म अर्जेन्टिनाका लागि सिनियर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जित्न सकेको छैन। राष्ट्रिय टोलीबाट उपाधि जित्न नसकेकै कारण मेस्सीको पुर्ण क्षमतामाथी प्रश्न उठ्ने गरेको छ। मेस्सीका लागि यो सम्भवत् अन्तिम अवसर हो अर्जेन्टिनाका लागि उपाधि जित्ने।

तीन वर्षको बीचमा अर्जेन्टिनालाई तीन ठुला प्रतियोगिताको फाइनल पुर्‍याएपनि मेस्सीले उपाधि जित्न सकेका थिएनन्। सन् २०१४ मा विश्वकप तथा सन् २०१५ र २०१६ मा कोपा अमेरिकाको फाइनलमा पुगेको छ। कोपा अमेरिकाको पछिल्लो संस्करणको फाइनलमा चिलीसँग टाइब्रेकरमा पराजित भएको थियो।

टाइब्रेकरको पहिलो प्रहार गरेका मेस्सी त्यसमा चुकेका थिए। यहि असफलताका कारण मेस्सीले तत्कालै अन्तर्राष्ट्रिय फुटबलबाट सन्याशको घोषणा गरेपनि पछि पुन फर्किएका हुन्।

यसपटक कोपा अमेरिकामा अर्जेन्टिनाको क्वाटरफाइनल सहज रहेन। पहिलो खेलमै पराजित भएको अर्जेन्टिना दोस्रो खेलमा बराबरीमा रोकिएको थियो। अन्तिम खेलमा कतारसँग जित्नैपर्ने दबाबमा उत्रिएको अर्जेन्टिना २-० गोलले विजयी भएर अन्तिम ८ मा पुगेको हो।

अर्जेन्टिनाले पछिल्ला पाँच खेलमा तीन जित, एक बराबरी र एक हारको नतिजा निकालेको छ। भेनेज्वेलाले भने समूहगत चरणमा एक जित र दुई बराबरीको नतिजा निकाल्यो। उसले अन्तिम खेलमा बोलिभियालाई ३-१ गोलले हराएको थियो। उसले ब्राजिल र पेरुसँग गोलरहित बराबरी खेलेको थियो।

भेनेज्वेला र अर्जेन्टिनाबीचको प्रतिस्पर्धा सँधै रोमान्चक हुने गरेको छ। गत मार्चमा यी दुई टोलीबीच भएको मैत्रिपुर्ण खेलमा भेनेज्वेला ३-१ गोलले विजयी भएको थियो। त्यसअघि यी दुई टोलीबीच भएका पछिल्ला दुई खेल बराबरीमा सकिएका थिए विश्वकप छनोटअन्तर्गत।

सन् २०१६ मा आयोजित कोपा अमेरिका सेन्टेनारियोमा अर्जेन्टिनाले भेनेज्वेलालाई ४-१ गोलले हराएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार