काठमाडौ । राष्ट्रपतिले प्रदान गर्ने चलचित्र जगतको राष्ट्रिय अवार्ड नेपालमा आयोजना नभएको तीन वर्ष भइसकेको छ । राष्ट्रको बेफुर्सदीका कारण भन्दै तीन वर्षदेखिको पुरस्कार र सम्मान चलचित्र विकास बोर्डमा थन्क्याइएको छ।

कान्तिपुरमा समाचार छ, यही वेला नेपाल सरकार आफैँ आयोजक बनेर भारतीय निजी तहको फिल्म अवार्ड समारोह काठमाडौंमा आयोजना गर्न र यसको सम्पूर्ण खर्च बेहोर्न तत्पर रहेको खबर भने अनौठो देखिएको छ। भारतको निजी क्षेत्रबाट सञ्चालन हुने थुप्रैमध्येको एक कार्यक्रम इन्टरनेसनल इण्डिया फिल्म अवार्ड (आइफा) को २० औँ संस्करण काठमाडौंमा आयोजना गर्न सरकारले आर्थिक र अन्य सौजन्य सहयोग गरेर झण्डै एक अर्ब रुपैयाँ खर्चिन लागेको हो। सरकारको सहमतिमा नेपाल पर्यटन बोर्ड र काठमाडौं महानगरपालिकाले आइफा सम्मेलनलाई सिधै ४४ करोड दिने भएका छन्।

भने बाँकी अहिले दाबी गरिएअनुसार ५०० भन्दा बढी भारतीय ‘अइकन’ तथा कलाकारको आवतजावत टिकट, होटल बसाइमा समेत सौजन्य सहयोग बटुलिने छ।

‘आइफा अवार्डलाई स्थान र सुरक्षा दिनु उचित हो तर नेपाल सरकार नै आयोजक बन्न एक अर्ब लगानी गर्नु दलालीको पराकाष्ठा हो’, अभिनेता नवल खड्काले भने, ‘५० डिग्रीको तातोमा काम गर्ने युवाको रेमिट्यान्स र गरिब जनताको करको दुरुपयोग हो।

यता स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक स्वागत नेपालले आइफा अवार्डका लागि सरकारले डोनेसन दिएर नेपालमा कार्यक्रम गराउनु सरकार इण्डियन एजेण्ट भएको प्रमाण हो भनेका छन् ।

त्यो कार्यक्रममा व्यवधान खडा गरेर कार्यक्रम नै रोक्न सबै तयार बनौँ, यसलाई सकेसम्म शेयर गरौँ भन्दै उनले अपिल गरेका छन् । अभिवक्ता समेत रहेका नेपालले विदेशी मात्र होइन स्वदेशी नै भए पनि नाफा कमाउने उद्देश्यले सञ्चालित प्राइभेट कम्पनीलाई सरकारले डोनेसन दिन मिल्दैन यो भ्रष्ट्राचार हो भनेका छन् । हेरौ उनको बिचारको पूर्ण अंश ।

आइफा अवार्ड भ्रष्टाचारको विरोध र कार्यक्रम रोक्न चेतावनी / आदरणीय पत्रकार मित्रहरु ! नेपाल सरकारले इण्डियाको एउटा पूर्ण रुपमा नाफा कमाउने उद्देश्यले स्थापित प्राइभेट कम्पनी विजक्राफ्ट इन्टरन्याशनल इन्टरटेन्मेन्ट प्रा. लि.ले आफ्नै खर्चमा गर्दै आएको इन्टरन्याशनल इन्डियन फिल्म एकेडेमी -आईफा_ अवार्ड कार्यक्रम नेपालमा गर्नका लागि ४४ करोड २५ लाख रुपैयाँ खर्चिने र सो कार्यक्रमको संयोजक नेपालको मन्त्री वा राज्यमन्त्री रहने निर्णय गरेको समाचार औपचारिक रुपमा सार्वजनिक भएकोमा सो प्रति यस स्वतन्त्र राष्ट्रिय अभियान नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै सो निर्णय तत्काल फिर्ता गर्न र फिर्ता नगरे कार्यक्रम असफल पार्न पूर्ण रुपमा व्यवधान गर्ने चेतावनी दिन चाहन्छ ।

सरकारले आफ्नै देशभित्रैको पनि नाफा कमाउने उद्देश्यले सञ्चालित प्रा. लि. कम्पनीलाई सरकारी रकम चन्दा स्वरुप उपलब्ध गराउनु सोझै भ्रष्टाचारको परिभाषाभित्र पर्छ भने आफ्नै खर्चमा विश्वका विभिन्न देशमा कार्यक्रम गर्दै आएको र उल्टो सुटिंग लगायतका शुल्कहरु होस्ट कन्ट्रीलाई भुक्तानी गर्दै आएको इण्डियाको एउटा इभेन्ट म्यानेजमेन्ट र इन्टरटेन्मेन्ट एजेन्सीलाई सोझै मन्त्री वा राज्यमन्त्री स्तरको संयोजक तोकिने गरी विमान टिकट तथा खाना र आवासको समेत सम्पूर्ण खर्च व्यहोर्ने निर्णय नैतिक रुपले देश र जनताको हित विपरित तथा कानुनी रुपमा समेत भ्रष्टाचारपूर्ण निर्णय हो ।

सरकारले एकातर्फ क्लिन फिड लागू गरी अन्य मुलुकका विज्ञापनमा प्रतिबन्ध लगाउने नीति लिएको प्रचार गर्ने तर भित्रभित्रै जनताको कर तिरेको रकमबाट संकलित राज्यकोष नै भ्रष्टाचारयुक्त रुपमा विदेशी संस्कृतिको स्वदेशभित्र आमन्त्रित हस्तक्षेपको रुपमा विस्तार गर्ने एजेण्टको रुपमा देश र संस्कृतिघाती गतिविधि गर्ने क्रमलाई तत्काल रोकी सो निर्णय तत्कालै फिर्ता नगर्ने हो भने यस स्वतन्त्र राष्ट्रिय अभियान नेपाल उक्त कार्यक्रम नेपालमा असफल गराउनका लागि सबै उपायहरु अपनाउन बाध्य हुने जानकारी गराउँछौँ ।

यस संस्कृतिघाती र भ्रष्टाचारपूर्ण निर्णय फिर्ता लिनका लागि फिर्ता नभए सो कार्यक्रम स्थलमा समेत उपस्थित भई कार्यक्रम रोक्नका लागि गरिने सिर्जनशील हस्तक्षेपकारी विरोध प्रदर्शनमा सहभागी भइदिनुहुन सम्पूर्ण भ्रष्टाचार विरोधी, संस्कृतिप्रेमी र देशभक्त नागरिकहरुमा आह्वान पनि गर्दछौँ । – स्वागत नेपाल, संयोजक / स्वतन्त्र राष्ट्रिय अभियान, नेपाल

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार