नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले चालु आर्थिक वर्षको चैतसम्ममा विद्युत महसुल नबुझाउने झण्डै ६ सय ग्राहको विद्युत लाइन काटेको छ ।

प्राधिकरणले बारा पर्साका विभिन्न ठाउँका ५ सय ९८ ग्राहकको विद्युत लाइन काटेको केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिए । काटिएकामध्ये ५ सय ९५ जनाले पुनः लाइन जडान गरेको र त्यसबाट ५ करोड १४ लाख रुपैयाँ असुल भएको पनि उनले जानकारी दिए ।
साथै प्राधिकरणले ८७ ग्राहकलाई कालो सूचीमा राखेको छ । पटक पटक शुल्क असुलीको ताकेता गर्दा पनि नउठेपछि लाइन काटेर कालो सूचीमा राखिएको उनले बताए । कालो सूचीमा परेकाहरुबाट ३१ लाख ५४ हजार रुपैयाँ उठ्न बाँकी रहेको छ ।
यो बाहेक प्राधिकरण वीरगञ्ज शाखाले बिलिङ गरेको झण्डै शत प्रतिशत विद्युत महसुल संकलन भएको शाखा प्रमुख ठाकुरले जानकारी दिए । सडक बत्तीको शुल्क छाडेर बाँकी महसुल संकलन भएको उनले बताए ।
चालु आर्थिक वर्षको चैतसम्ममा प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले २ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ विद्युत महसुल उठाएको छ ।







