सरकारले भारतीय फिल्म अवार्डलाई काठमाडौंको सेनाको मुख्यालय अगाडी फुटबल ग्राउण्डमा गर्न स्वीकृत दिने र त्यसका लागी एक अर्ब खर्च दिने निर्णय सार्बजनिक भएपछि त्यसको सर्बत्र विरोध भएको छ ।
सरकारको यो निर्णयले राष्ट्रघात भएको भन्दै विरोध भएको हो । विप्लव नेकपानिकट अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले यसको घोर विरोध गरेका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा लेखेको छन्–
सिङ्गो नेपाली चलचित्रक्षेत्र र चलचित्रकर्मीको हुर्मत लिने गरी, सैनिक मुख्यालयमा परेड खेल्ने गरी, नेपाली जनताको खून(पसिनाबाट जम्मा गरेको राजस्वबाट १ अर्बको लगानी गर्ने गरी इन्टरनेसनल इन्डिया फिल्म अवार्ड ‘आइफा’ को २० औं संस्करण काठमाडौंमा आयोजना हुन लागेको समाचार प्रकाशनमा आएको छ । यो सांस्कृतिक लम्पसारवाद र दलालीकरणको भद्दा नमुना हो । आफ्नो राष्ट्रियताप्रति अत्यन्त चिन्तित नेपालीका लागि यो घोर अपमान र असह्य पीडा पनि हो । नेपाली जनतामा फासिवाद थोपर्न र वर्तमान सत्ता ९कुर्सी० को रक्षाकवचको अन्तरवस्तु बोकेको यो कार्यक्रमलाई हामी कुनै पनि हालतमा हुन दिनेवाला छैनौँ । हाम्रो अपेक्षा छ, सम्बन्धित पक्षले यथासमयमै यो कार्यक्रमका बारेमा पुनर्विचार गर्नुहुनेछ । स्मरण रहोस्, अघिल्लो वर्ष टुँडीखेलमा आयोजना गरिएको सलमान खानको द बंग द टुर रद्द भएको थियो ।
राष्ट्रिय जनमोर्चा निकट अखिल छैंठौंले पनि राजधानीमा विरोध सभा गरेको छ ।
सरकारको निर्णयमा प्रश्न त्यतिबेला उठ्यो, जब अवार्ड आयोजनाका लागि नेपालले कम्तिमा एक अर्ब खर्च गर्ने र त्यसबाहेक करिब ४५ करोड रुपैयाँ काठमाडौं महानगरपालिकाले आइफालाई नगद दिने समाचार बाहिर आयो । आइफासित समझदारीपत्रमा हस्ताक्षर भने भइसकेको छैन । आइफाको टिम केही दिनदेखि नेपालमै छ र अहिले पनि दुई पक्षबीच आर्थिकलगायत विविध विषयमा बार्गेनिङ जारी छ ।
के हो आइफा अवार्ड ?
इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड ९आइफा० भारतको भड्किलो अवार्ड हो । विजक्र्याफ्ट इन्टनरनेसनल इन्टरटेनमेन्टले सन् २००० बाट यसको आयोजना गर्न थालेको हो । यसका हरेक संस्करण भारतबाहिर हुने गर्छन् ।
अघिल्लो १९ औं संस्करण गत वर्ष थाइल्यान्डमा २२ देखि २४ जूनसम्म भएको थियो । उक्त अवार्ड समारोह टेलिभिजनको प्रत्यक्ष प्रशारणमार्फत ५० करोडभन्दा बढीले हेरेको दाबी आयोजकको छ ।
दक्षिण एसियामा भने नेपाल दोस्रो देश हुनेछ । श्रीलंकामा सन् २०१० मा कार्यक्रम भएको थियो । अमेरिका, बेलायत, दक्षिण अफ्रिका, सिंगापुर, मलेसिया, स्पेन, नेदरल्याण्डजस्ता देशहरुमा आइफा आयोजना भइसकेको छ ।
यीमध्ये विकसित देशहरुमा आयोजकले हल भाडामा लिएर कार्यक्रम गरेका हुन् भने केही देशमा त्यहीँका सिटीहरुले खर्च गरेका पनि छन् ।







