काठमाडौ । गोंगबुस्थित नयाँ बसपार्कको १ सय ६५ मध्ये करिब ९० रोपनी जग्गा व्यक्तिगत प्रयोजनका लागि अतिक्रमण भएको खुल्न आएको छ । उपत्यका भित्रिने र बाहिरिने बस पार्किङका लागि छुट्याइएको क्षेत्रमा होटल, वर्कसप, बहुउद्देश्यीय व्यापारिक केन्द्र र पेट्रोल पम्प चलाइएका छन् ।
यातायात विभागका महानिर्देशक कुमार दाहालले बसपार्कमा प्रयोजनअनुसार काम नभएको बताए । ‘उद्देश्य एउटा, प्रयोजन अर्कै भएको छ, बस पार्किङ गर्ने स्थान छैन,’ उनले भने, ‘करिब ७० रोपनी जग्गामा मात्र पार्किङ बनाएको छ । बसपार्क अतिक्रमण भएको छ ।’ जापान सरकारको सहयोगमा २०४९ मा नयाँ बसपार्क निर्माण गरिएको थियो ।
सरकारले काठमाडौं महानगरपालिकालाई सञ्चालन र व्यवस्थापनको जिम्मा लगाएको थियो । ‘अहिले पार्किङका लागि ठाउँ छैन भनेर हल्ला हुँदै छ तर पार्किङका लागि दिएको जग्गामा अरू नै भवन निर्माण गरिएका छन्,’ महानिर्देशक दाहालले भने, ‘अत्याधुनिक र प्रविधियुक्त बसपार्क बनाउनुको साटो विकृत बनाइयो ।’ महानगरपालिकाले लोत्से बहुउद्देश्यीय प्रालिलाई ४५ वर्षका लागि जिम्मा दिएपछि त्यहाँ अतिक्रमण बढेको दाहालको भनाइ छ ।
‘जग्गा नेपाल सरकारकै नाममा छ, महानगरले लामो समयका लागि लोत्सेलाई दिएको छ,’ उनले भने, ‘अब यसमा सरकारले कुनै नयाँ सरचना निर्माण गर्न सक्ने अवस्था छैन ।’
यस्तै, कालोपत्रे भएको मूल सडक नै बिक्री गरेको आरोपमा पक्राउ परेका धुलिखेल ४ का लोकेन्द्र तोलाङेले एकै समूहलाई नक्कली जग्गा देखाएर पटक–पटक ठगी गरेको खुलेको छ ।
काठमाडौं विश्वविद्यालय जाने मूल सडक २२ लाखमा बिक्री गरेका उनले सोही प्रकरणमा ठगिएका भक्तपुरका प्रवीण बाटी, लक्ष्मीप्रसाद प्रजापतिलाई विश्वासमा पारेर पटक–पटक ठगेको भेटिएको हो । लोकेन्द्रकै मध्यस्थतामा कात्तिकेदउराली–७ घर भई पाँचखाल–१० बस्ने रणबहादुर सार्कीले भक्तपुर–२ का बाटी र प्रजापतिलाई पाँचखाल १० स्थित बीपी राजमार्ग छेउको जग्गा देखाएर बालुवाको ५ रोपनी जग्गा बिक्री गरेका थिए ।
२४ लाख रुपैयाँमा कारोबार गरी एउटा जग्गा देखाएर अर्को पास गरेको भन्दै बाटी र प्रजापतिले जिल्ला प्रशासनमा ‘जीउधनको रक्षा गरी पाऊँ’ भन्दै निवेदन दिएका छन् ।
लोकेन्द्रले नै बाटी र प्रजापतिको समूहलाई श्रीखण्डपुर ७ को ७ रोपनी ५ आना जग्गा ४० लाखमा राजीनामा पास गरेर अर्कै भीर पाखा पास गरिदिएका छन् । ‘विश्वासिलो कुरा गरेर उसको नियत नै फसाउने रहेछ,’ पीडितमध्येका प्रवीण बाटीले भने, ‘विश्वासमा पर्दा पटक पटक फसियो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
https://www.youtube.com/watch?v=aYXEF1zbxR8&t=50s







