कोपा अमेरिकाको सेमिफाइनलमा दुई बलिया टोली ब्राजिल र अर्जेन्टिना भिड्दै छन् । खेल नेपाली समयअनुसार भोलि बिहान ६ः१५ बजे सुरु हुनेछ । घरेलु मैदानमा भइरहेको प्रतियोगिताको उपाधि १२ वर्षपछि जित्ने अभियानमा ब्राजिल हुनेछ ।
यता अर्जेन्टिना भने २०१५ र १६ मा चिलीविरुद्ध फाइनलमा व्यहोरेको हारलाई मल्हम लगाएर उपाधि जित्ने चाहान्छ । तर, उपाधि यात्रा बलियो बनाउन दुई टोलीले एकअर्कालाई हराउनु पर्नेछ । प्रतियोगिताका दुई प्रमुख उपाधि दावेदार टिम सेमिमै भिड्न लागेकाले यो खेल बहुप्रतिक्षित बनेको छ । क्वार्टरफाइनलमा ब्राजिलले पराग्वेलाई पेनाल्टी सुटआउमा ४–३ ले हराएर सेमिफाइनल पुग्दा अर्जेन्टिनाले भेनेज्वेलालाई २–० ले हराएर ब्राजिलसँगको भेट पक्का गरेको थियो ।
ब्राजिल अर्जेन्टिनाबीचको खेल मिनेराओ स्टेडिममा हुनेछ । यो त्यही स्टेडियम हो, जहाँ २०१४ को विश्वकपको सेमिफाइनलमा ब्राजिल जर्मनीसँग ७–१ ले हारेको थियो । ब्राजिल सोही मैदानमा ५ वर्षअघि भोगेको लज्जास्पद हारको इतिहासलाई मेटाएर जितको कथा लेख्ने प्रयासमा हुनेछ ।
हेड टु हेड
ब्राजिल र अर्जेन्टिना दक्षिण अमेरिकी क्षेत्रका दुई ठूला र चीर प्रतिद्वन्दी टोली हुन् । यी दुई सन् सन् १९१४ देखि २०१९ सम्म आइपुग्दा कूल १०९ पटक एक अर्काविरुद्ध खेलेका छन् । तुलनात्मक रूपमा अर्जेन्टिनाविरुद्ध ब्राजिलको इतिहास बलियो छ । जसमा ब्राजिलले ४५ खेल जितेको छ भने अर्जेन्टिनाले ३९ खेल जितेको छ । २५ खेल भने बराबरीमा सकिएका छन् ।
सेमिफाइनल यात्रा
घरेलु टोली ब्राजिलले समूह चरण र क्वार्टरफाइनलमा उत्कृष्ट प्रदर्शन गरेको थियो भने, अर्जेन्टिनाले ठूलै संघर्ष गरेर सेमिफाइनल पुगेको हो । आफ्नो घरमा खेलिरहेको ब्राजिलकाे पहिलो रोजाइका सबै खेलाडी अर्जेन्टिनाविरुद्ध उपलब्ध हुनेछन् । अर्जेन्टिनी टिममा मेस्सीको कप्तानीमा पहिलो रोजाइको टिम उत्रिनेछ ।







