पेइचिङ, २ जुलाई । चीनले हङकङको मामिलालाई आफ्नो आन्तरिक मामिला भन्दै हस्तक्षेप नगर्न आग्रह गरेको छ ।

मङ्गलबार आयोजित पत्रकार भेटघाटमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता केङ शुआनले हङकङ विशेष प्रशासनिक क्षेत्रको संसदीय परिषद्को भवनमा हिंसात्मकरूपमा भित्र पस्ने केही प्रदर्शनकारीको प्रयासलाई कानुनको गम्भीर उल्लङ्घन बताउनुभएको छ ।

उहाँले यस्ता हिंसात्मक गतिविधिले सामाजिक सद्भावमा दखल पुग्ने बताउनुभयो ।

उहाँले हङकङमा भएको हिंसात्मक गतिविधिको कडा शब्दमा भत्र्सना गर्दै कानुन मिच्नेलाई हङकङ सरकार र प्रहरीलाई कानुनअनुसार कारबाही गर्न आग्रह गर्नुभयो ।

केङले हङकङ चीनको विशेष प्रशासनिक क्षेत्र हो र त्यसकारण हङकङको मामिला पूर्णतः चीनको आन्तरिक मामिला भएको बताउनुभयो ।

“हामी हङकङमा प्रदर्शनको नाममा भइरहेका अराजक गतिविधिप्रति गहिरो असन्तोष व्यक्त गर्दछौँ । हङकङको मामिलामा हस्तक्षेप गरिरहेका देशप्रति हामी कडा आपत्ति जनाउन चाहन्छौं”, केङले भन्नुभयो ।

उहाँले हङकङको मामिलामा कुनै पनि देशलाई सचेततापूर्वक बोल्न र काम गर्न आग्रह गर्नुभयो । कुनै गलत खालको सङ्केत वा काम नगर्न उहाँले ती देशलाई सचेत बनाउनुभयो ।

हङकङमा विगत केही सातादेखि विभिन्न राजनीतिक विषयलाई लिएर प्रदर्शनहरू भइरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार