लिओनल  मेस्सीको कप्तानीमा महादेशिय च्याम्पियन बन्ने अर्जेन्टिनाको सपना यसपटक पनि चकनाचुर बनेको छ । यसअघिका दुई प्रतिस्पर्धामा फाइनलमा पराजित भएको अर्जेन्टिना यसपटक सेमिफाइनलबाटै घर फर्किन बाध्य भएको हो ।

मेस्सी कप्तानीको अर्जेन्टिना नेपाली समय अनुसार बुधबार बिहान सवा ६ बजे भएको सेमिफाइनलमा आयोजक ब्राजिलसँग २–० ले पराजित भयो । चोटका कारण नेइमार बिहीन रहे पनि घरेलु टिम ब्राजिलले अर्जेन्टिनालाई स्तब्ध पारेको हो ।

ब्राजिलको जितमा गाब्रिएल जिसस र रोबर्टो फिरमिनोले गोल गरे । ब्राजिले दुवै हाफमा एक एक गोल गरेको हो । १९ औँ मिनेटमा जिससको गोलबाट घरेलु टोलीले सुरुवाति अग्रता लियो । ७१ औँ मिनेटमा फिरमिनोले ब्राजिलको अग्रता दोब्बर पारे ।

अर्जेन्टिनाले खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन । मेस्सीले यसपटकको कोपा अमेरिकामा खासै राम्रो प्रदर्शन गर्न सकेनन् । उनले सेमिफाइनलसम्म आइपुग्दा एक मात्रै गोल गरे त्यो पनि पेनाल्टी मार्फत ।

ब्राजिलसँगको खेलमा उनीबाट आश गरिएको थियो र उनले भने आफूले आफ्नो स्तरको खेल पस्किन बाँकी रहेको बताएका छन् । ब्राजिलको पूरै टिम पनि मेस्सीबाट डराएको थियो । तर ब्राजिलियन टिमले ‘मेस्सी’ भयलाई जितेर फाइनल यात्रा तय गरेको छ ।

अर्जेन्टिना सन् २०१५ र २०१६ को कोपा अमेरिकामा फाइनलमा पुगेको थियो । दुवै फाइनलमा मेस्सी कप्तान थिए र दुवै पटक अर्जेन्टिना चिलेसँग पराजित भएको थियो । मेस्सीले सन् २०१६ को कोपा अमेरिकामा चिलेसँग टाइब्रेकरमा पराजित भएपछि सन्यासको घोषणा गरेका थिए ।

पेनाल्टी चुकेका मेस्सीले सन्यासको घोषणा फिर्ता लिएर पछि विश्वकपमा सामेल भएका थिए । त्यसअघि सन् २०१४ को विश्वकपमा अर्जेन्टिना मेस्सीकै कप्तानीमा फाइनलमा पुगेको थियो । सो विश्वकपमा जर्मनीसँग पराजित भयो अर्जेन्टिना । तर सन् २०१८ को रुस विश्वकप भने अर्जेन्टिनाका लागि बिर्सन लायक रह्यो ।

त्यसपछि पनि हार नमानेका मेस्सीले यसपटकको कोपा अमेरिका जित्दै राष्ट्रिय टिमबाट पाउन नसकेको सफलताको स्वाद लिने ठानेका थिए । तर यसपटकको यात्रा भने उनको उत्कृष्ट प्रदर्शन देख्न नपाई सकिएको छ ।

फाइनलमा पुगेको ब्राजिलले उपाधिका लागि साबिक विजेता चिले वा पेरुसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार