काठमाडौं । जननिर्वा्चित संसद्लाई खबरदारी गर्न भन्दै पूर्वसांसदहरूले सिंहदरबारभित्रै गैरसरकारी संस्था (एनजिओ) चलाएका छन् । कार्यालय स्थापना गर्न सित्तैमा फ्ल्याट उपलब्ध गराइएको एनजिओलाई सरकारले वार्षिक बजेटसमेत दिँदै आएको छ । पिउने पानीदेखि कार्यालयमा आवश्यक फर्निचर र कर्मचारी संसद् सचिवालयले नै व्यवस्था गरिदिएको छ ।
पूर्वसभामुख तारनाथ रानाभाटको पालादेखि ‘पूर्वसांसद मञ्च, नेपाल’ नामक एनजिओ सिंहदरबारभित्रै अड्डा जमाएर बसेकोमा तत्कालीन संविधानसभाका सदस्यहरूले फेरि अर्को एनजिओ सुरु गरेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘संविधानसभा सदस्य परिषद्, नेपाल’ नामको एनजिओ दर्ता गरेर संघीय संसद् सचिवालयको भवनमा कार्यालय स्थापना गरेका हुन् ।
तत्कालीन माओवादी केन्द्रको संसदीय दलको कार्यालय रहेको संसद् सचिवालयको भवन नम्बर २ को तेस्रो तलामा परिषद्को बोर्ड झुन्ड्याइएको छ । कार्यालयका लागि हाल तीनवटा कोठा प्राप्त भएको परिषद् संयोजक अनन्तप्रसाद पौडेलले बताए ।
पूर्वसभामुखसमेत रहेका सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ संरक्षक र दोस्रो संविधानसभाकी सभामुख ओनसरी घर्ती सल्लाहकार रहेको परिषद्को सहसंयोजकमा ईश्वरी सुवेदी, महासचिवमा ऋषिकेश पोखरेल, सचिव डोरप्रसाद उपाध्याय र कोषाध्यक्षमा सीता गुरुङ छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
यस्तै, प्रदेशका मुख्यमन्त्रीहरू कूटनीतिक निकायलाई खबरै नगरी विदेश भ्रमणमा जान थालेका छन् । कोही मुख्यमन्त्री गैरआवासीय नेपालीको सम्मेलनमा भाग लिन त कोही भगिनी सम्बन्ध कायम गर्न भन्दै आफूखुसी विदेश भ्रमणमा निस्किएका हुन् ।
उनीहरूको भ्रमणलाई लिएर कूटनीतिक क्षेत्रमा बहस हुन थालेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार चिनियाँ समकक्षी वाङ यीसँग दुईपक्षीय वार्ता गरिरहँदा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल गान्सुको लान्झाओ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल सछुवान ९सिचुवान० मा थिए । मुख्यमन्त्रीहरूले चिनियाँ अधिकारीसँग गरेको वार्ताबारे कूटनीतिक निकाय बेखबर छ ।
उनीहरूको भेटमा कूटनीतिक प्रतिनिधिको उपस्थिति पनि थिएन । बेइजिङस्थित दूतावासका अधिकारीले मुख्यमन्त्रीको भ्रमणबारे जानकारी भए पनि अन्य विषयमा अनभिज्ञता प्रकट गरे । उनीहरुको गतिविधि र भेटघाटलाई नेपाली दूतावासले ‘नोट’ गरेको छैन ।
साथै भगिनी सहर सम्बन्धमा साक्षी बस्न पनि दूतावासका अधिकारी गएका छैनन् । सरकारले भ्रमणबारे जानकारी नराख्ने हो भने सबैले आफ्नै तरिकाले कूटनीति चलाए भइहाल्यो भन्दै परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूले गम्भीर चासो देखाएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो । यो समाचार आजको अन्नपूर्ण दैनिकमा छ ।
https://www.youtube.com/watch?v=aYXEF1zbxR8







