काठमाडौं । आज बिहानै पहिरो खस्दा सडक अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका–८ दोबिल्लामा खसेको सुख्खा पहिरोका कारण पोखरा–बाग्लुङ सडक अवरुद्ध भएको हो ।
सडकमाथिबाट खसेको पहिरोसँगै आएका ठूला ढुंगा र माटोका कारण शनिवार बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामबहादुर भट्ट क्षेत्रीले जानकारी दिनुभयो ।
निर्माणाधीन मध्यपहाडी लोकमार्गको सडक चौडा बनाउने क्रममा अग्लो गरेर भीर काटिएको ठाउँबाट पहिरो झरेको छ । पहिरो खसेको खबर पाउँदासाथ मध्यमहाडी लोकमार्ग निर्माणको ठेक्का लिएको लामा कन्सट्रक्सनको एक्साभेटर लगाएर अवरुद्ध सडकलाई खुलाउने प्रयास भैरहेको छ ।
पुर्ण रुपमा काम सम्पन्न नभएकोले अहिले सडक सञ्चालन हुन नसकेको ट्राफिक प्रहरी प्रमुख क्षेत्रीले जानकारी दिनुभयो । सडक बन्द हुँदा पोखराबाट साविकको धौलागिरीका बाग्लुङ, म्याग्दी, पर्वत र मुस्ताङबाट पोखरा हुँदै बाहिरिने सयौँ सवारी साधनहरु रोकिएका छन् ।
पोखराबाट सोही जिल्लाहरुका लागि छुटेका सवारी र हजारौं यात्रुहरु अलपत्र परेका छन् । सवारीहरुको जाम मात्रै झण्डै ३ किलोमिटर पुगेको छ ।
https://www.youtube.com/watch?v=aYXEF1zbxR8







