काठमाडौं । बिहानै देखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । वीरगन्ज महानगरपालिका–२१ परवानीपुरमा रहेको सुशील वनस्पति घ्यु उद्योगमा भीषण आगलागी भएको हो ।
शनिबार बिहान करिब दुईबजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास भइरहे पनि अहिलेसम्म नियन्त्रणमा आएको छैन । उद्योगमा लागेको आगो निभाउन लागि पाँचवटा वारुण यन्त्रको सहयोगमा अग्नि नियन्त्रक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले प्रयास गरिरहेका पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराईले जानकारी दिनुभयो ।
आगो नियन्त्रणका लागि वीरगन्ज महानगरपालिका, पोखरीया नगरपालिका, जितपुर सिमरा र कलैया उपमहानगरपालिका र नेपाल आयल निगमको अमलेखगन्ज डिपोको गरी पाँच वटा वारुण यन्त्रले प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो ।
आगो निभाउनका लागि नेपाल प्रहरीका ५२ जना, सशस्त्र प्रहरीका ३५ जना र नेपाली सेनाका २२ जना परिचालन गरिएको छ । विद्युत सर्किट सर्ट भएर उद्योगमा आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ ।
आगो उद्योग बाहिर पनि फैलनसक्ने जोखिम भएकाले उद्योग आसपास घर भएका स्थानयीलाई सतर्क रहन आह्वान गरिएको छ ।
https://www.youtube.com/watch?v=aYXEF1zbxR8







