सर्लाहीमा गत असार ५ गते प्रहरीसँगको विप्लव नेकपाका नेता कुमार पौडेलसँगको मुठभेडमा मारिएको दाबी सरकारले गर्दै आए पनि गृहमन्त्रालय भित्रै त्यो घटनाबारे विवाद सेलाएको देखिदैन।
सर्लाही प्रहरीको नियन्त्रणमा रहेका पौडेललाई काठमाडौँबाट गएको प्रहरीको विशेष टोलीले नियन्त्रणमा लिएपछि उनको ‘मृत्यु’ भएको थियो। विप्लव नेकपाले त्यसलाई ‘नक्कली’ इन्काउन्टर अर्थात ‘हत्या’ भएको दावी गर्दै आएको छ।
त्यो विवाद चर्किएपछि गृहमन्त्री रामबहादुर थापा बादलले यस बारे आफूलाई कुनै जानकारी नभएको प्रधानमन्त्री केपी ओलीलाई बताएको बुझिएको छ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुमार पौडेलको मृत्युबारे विवाद भइरहँदा सार्वजनिक अभिव्यक्तिमार्फत पौडेलको अतीत केलाउन आग्रह गरी मुठभेडका नाममा भएको हत्याको औचित्य सावित गर्ने प्रयास गरेका थिए।
एक उच्च गृह मन्त्रालय श्रोतका अनुसार काठमाडौँबाट गएको प्रहरी टोलीको नेतृत्व एक इन्स्पेक्टरले गरेका थिए र राजधानीबाट टोली पठाउने निर्णयमा मन्त्रीको संलग्नता थिएन।







