
लामो रस्साकस्सीपछि सत्ताधारी नेकपाले तयार पारेको भनिएको राजनीतिक प्रतिवेदनमा ‘माओवाद’ र ‘सशस्त्र क्रान्ति’ दुवै गायव पारिएका छन् ।
प्रतिवेदनको शुरुमै सोभियत संघको विघटन र कतिपय मुलुकहरूमा समाजवादी सत्ताहरूको विस्थापनसँगै विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा पुगेको चर्चा गरिएको छ भने सशस्त्र संघर्षको बाटो अवलम्बन गरेका अधिकांश मुलुकहरूमा कम्युनिस्ट आन्दोलनले गम्भीर धक्का खाएको निष्कर्ष निकालिएको छ ।
यद्यपि प्रतिवेदनले यसअघिका सशस्त्र विद्रोहहरूलाई सामन्तवाद विरोधी पूँजीवादी जनवादी क्रान्ति अर्थात् लोकतान्त्रिक क्रान्तिलाई वामपन्थी शक्तिहरूको नेतृत्वमा पूर्णता दिने वस्तुगत र आत्मगत आधार तयार गरेको भन्दै प्रशंसा गर्न भने पछि परेको छैन ।
प्रतिवेदनले तत्कालीन माओवादीले २०५२ सालमा जनयुद्धको शुरूवात गर्दै महिला, दलित, मधेसी, आदिवासी जनजाति लगायतका उत्पीडित वर्ग र समुदायलाई जागृत र संगठित गर्न, राजनीतिमा समावेशीकरणका मुद्दालाई स्थापित गर्न, संविधानसभाको निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको आधार तयार पार्न मुख्य भूमिका खेलेको भन्दै प्रशंसा गरेपनि एकीकरणपछि बनेको नेकपामा माओवादको आवश्यकता र औचित्यबारे कुनै कुरा उल्लेख गरेको छैन ।







