काठमाडौं । चालू आर्थिक वर्षको पछिल्लो १५ दिन (असार १५) देखि मुलुकभरका सरकारी कार्यालयले चालू बजेटमा विनियोजित पूरै रकम रित्याउने गरी खर्च गर्न सुरु गरेका छन् । विगत वर्षहरुमा जस्तै यो वर्ष पनि कार्यालय प्रमुख, लेखा, स्टोर, प्रशासन र प्राविधिक कर्मचारीबीचको मिलेमतोमा चालू बजेटमा विनियोजित अर्बौं रुपैयाँ दोहन गर्न सुरु गरिएको हो ।

आइतबार (असार २२) मा एकै दिन ६ अर्ब ९ करोड रुपैयाँ चालू खर्चअन्तर्गत भुक्तानी दिइएको छ । सरकारी तथ्यांकअनुसार चालू आर्थिक वर्षको ३ सय ३० दिन (असार १) सम्म चालू खर्च दैनिक औसतमा एक अर्ब ८४ करोड रुपैयाँका दरले भएको थियो । तर असार १५ पछिको सात दिनमा भने यो खर्च दैनिक औसतमा सबा ३ अर्ब रुपैयाँका दरले भइरहेको छ । सरकारको लेखा राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार यो आवको असार १ सम्म ६ खर्ब १० अर्ब रुपैयाँ चालू बजेट खर्च भएको छ ।

असार १ देखि १५ सम्म खर्च बढेर ६ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । १५ दिनमा मात्रै ३९ अर्ब रुपैयाँ खर्च भएको छ । यो औसतमा दैनिक २ अर्ब ६० करोड हो । वर्षको अन्तिम दिनतिर झनै खर्च बढेर गएको देखिन्छ ।

पछिल्लो एक साता (असार १६ देखि २२) मा २२ अर्ब रुपैयाँ खर्च गरिएको छ । असार २२ मा एकै दिन ६ अर्ब ९ करोड रुपैयाँ भुक्तानी दिइएको छ । अब बाँकी ८ दिनमा योभन्दा पनि बढी रकम खर्च हुने निश्चित छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार