
नेपाल कम्युनिस्ट पार्टी निकट जनगणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगर र केन्द्रीय सचिव पूर्ण श्रेष्ठलाई आइतबार काठमाडौँको ठमेलबाट प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूसँगै पक्राउ परेका अर्का एकजनालाई भने प्रहरीले पक्राउपछि भोलिपल्ट रिहा गरेको जानकारी मञ्चका केन्द्रीय सदस्य रणबहादुर पुनले दिए । उनीहरूलाई प्रहरीले आइतबार काठमाडौँको ठमेलबाट पक्राउ गरेको हो । पक्राउपछि काठमाडौँको प्रहरी परिसर टेकुमा राखिएका उनीहरूलाई सार्वजनिक मुद्दा दायर गरिएको छ ।
यसैबीच पारिवारिक स्रोतले दिएको जानकारीअनुसार मञ्चका अध्यक्ष मगरको घरमा प्रहरीले खानतलासी गरी विभिन्न कागजपत्रहरू लुटेको छ । मगरको परिवारले राजनीतिक पार्टीमा लागेकै कारण प्रहरीले पक्राउ गर्ने र घरमा आएर दुःख दिने गरेको बताएको छ । सरकारले बिनाकारण आफ्नो पार्टी सम्बद्ध व्यक्तिहरूलाई गिरफ्तार गरेको भन्दै नेकपाले बिनासर्त रिहाइको माग गरेको छ ।
यसैगरी नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन, नेपालका अध्यक्ष पाटन जंगलीले मंगलबार विज्ञप्तिमार्फत आफ्ना संगठनका केन्द्रीय सदस्य श्याम भट्टलाई बैतडीको पाटन नगरपालिका हतासबाट केपी–प्रचण्डको कठपुतली सरकारले गिरफ्तार गरी झुठा मुद्दा लगाएकोमा घोर आपत्ति प्रकट गरेका छन् ।
अध्यक्ष पाटन जंगलीले विज्ञप्तिमा भनेका छन्, ‘कथित केपी–प्रचण्डको कठपुतली सरकारले नेपाली जनतामाथि दिन प्रतिदिन दमनको चक्र चलाइरहेको छ । बिनाकारण घर खानतलासी, धरपकड गरी नेपाली जनतामाथि आतंक सृजना गर्दै आएको छ । यहि क्रममा हाम्रो संगठनका केन्द्रीय सदस्य कमरेड श्याम भट्टलाई बैतडीको पाटन नगरपालिका हतासबाट गिरफ्तार गरी झुट्टा मुद्दा लगाएकोप्रति हाम्रो संगठन घोर आपत्ति प्रकट गर्दछ ।’
जंगलीले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘कथित स्थानीय र केन्द्रीय सरकारका नाममा जनतामा लुट मच्चाउदै गाउँगाउँमा भ्रष्टाचार, सुदखोर, कमिसनखोरहरुको बिगबिगीले नेपाली जनता आजित भएका छन् । आफ्नो स्वार्थ पुरा गर्न जस्तो सुकै निर्णय गर्न पछि नपर्ने सत्ताका मालिकहरुले नेपाली जनताको स्वास्थ्यमाथि पनि खेलवाड गरिरहेका छन् । यी चरम ब्यथितिका बिरुद्धमा हाम्रो संगठन जस्तो सुकै मुल्य चुकाउन पनि पछि नपर्ने सबैमा अवगत गराउछौ ।’
विज्ञप्तिको अन्त्यमा अध्यक्ष जंगलीले भनेका छन्, ‘बिदेशीको गुलाम गर्ने कथित दलाल सरकारले नेपाली जनतामाथि गर्दै आएको दमनलाई तुरुन्त बन्द गरी गिरफ्तार कमरेडहरुको बिनासर्त रिहाईको जोडदार माग गर्दछौ ।’







