
नेत्रविक्रम चन्द ‘विप्लव नेकपा चार नेता कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ।
जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका विप्लव नेकपाका चार नेता कार्यकर्तालाई पाँचौं पटक प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विप्लव समूहका कास्की जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, रुकुम घर भएका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मिलन राई र कास्कीको अन्नपूर्ण गाउँपालिका घर भएका कार्यकर्ता सन्तोष विक छन्।
राजद्रोहको मुद्दामा गत असार ४ गतेदेखि तनहुँ प्रहरीको हिरासतमा रहेका उनीहरुलाई अदालतले सोमबार फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ बमोजिम साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो।
उनीहरु विरुद्ध स्याङ्जा जिल्ला अदालतमा राजद्रोहको मुद्दा दर्ता भएका कारण जिल्ला प्रहरी कार्यालय स्याङ्जाको पत्रअनुसार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। लामिछानेका अनुसार पक्राउ परेका चारैलाई स्याङ्जा पठाइनेछ ।
गत असार ४ गते चारै जनालाई प्रहरीले पोखराको मुस्ताङचोकबाट पक्राउ गरी तनहुँ ल्याएको थियो।
बन्दी प्रत्यक्षीकरणको रिटमा उच्च अदालत पोखराले उनीहरु सबैलाई रिहा गर्न असार ३ गते आदेश दिएको थियो। अदालतको आदेशमा रिहा भएका उनीहरु तनहुँ जिल्ला अदालतमा राजद्रोहको मुद्दा दर्ता भएका कारण पोखराबाट पक्राउ परेका थिए।
त्यसअघि गत जेठ २५ गते कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो।







