वासिङटनस्थित सेन्टर फर एड्भान्सड डिफेन्स स्टडिजले सार्वजनिक गरेको नयाँ रिपोर्ट अनुसार जुन १४, २०१८ मा बाहिरी सुरक्षा कभरसहित दुईवटा मर्सिडिज–मेब्याच एस ६०० गाडीलाई रोटरडमको डच पोर्टबाट ६ वटा देश हुँदै हजारौँ माइलको यात्रामा पठाइएको थियो । चीन, जापान, दक्षिण कोरिया र रुसमा रोकिँदै प्रति ५ लाख डलर पर्ने ती कारको अन्तिम गन्तव्य उत्तर कोरियाको प्योङयोङ भएको दाबी गरिएको छ । र त्यहाँ त्यस किसिमको लक्जरी कार एउटै व्यक्तिका लागि मात्र हुन सक्छ, ती हुन् नेता किम जोङ उन ।

यो खबर पहिलोपटक सीफोरएडीएसले रिपोर्ट गरेको हो । यसरी अमेरिकाले सबै कम्पनीलाई व्यक्तिगत रुपमा वा कुनै पनि तरिकाले उत्तर कोरियालाई लक्जरी सामान बिक्री गर्नबाट प्रतिबन्ध लगाएको छ । तरपनि २०१५ देखि १७ का बीच प्योङयोङले १९ करोड डलर बराबरका लक्जरी सामानहरु ९० वटा राष्ट्रबाट खरिद गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

यसरी कस्ता सामग्री लक्जरीमा गनिन्छन् भन्नेबारे स्पष्ट नभएको हुँदा र उत्तर कोरियाले अत्यन्तै गोप्य रुपमा सामानहरु भित्र्याउने गरेकाले पनि यसको विस्तृत विवरण हासिल गर्न कठिन रहेको बताइएको छ ।

तर मर्सिडिज–मेब्याच एस६०० भने निश्चित रुपमा लक्जरी वस्तुमा पर्दछ जसमा छालाको मसाज गर्ने सिट समेत जडान हुन्छ भने बिस्फोटक हतियारबाट पनि त्यो पूर्ण रुपमा सुरक्षित हुन्छ ।

किम प्रायः मर्सिडिज पुलमन गार्ड लाइमोसिनमा देखा पर्ने गरेका छन् जसको मूल्य १० लाख डलर रहेको छ । अघिल्लो वर्ष दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनसँगको बैठकका बेला उनका सुरक्षा गार्डहरु त्यही गाडी वरपर दौडिएका थिए जसबारे विश्वव्यापी चर्चा भएको थियो । यसका साथै अघिल्लो वर्ष नै किम रोल्स रोयल्स गाडीमा पनि देखिएका हुन् ।

यसबारेमा मर्सिडजका मालिक डेइमरले सो गाडी कसरी किमकहाँ पुर्याइयो भन्नेबारे कुनै जानकारी नभएको बताए ।

उनले भनेका छन्, “हाम्रो कम्पनीको पछिल्लो १५ वर्षदेखि उत्तर कोरियासँग कुनै व्यापारिक सम्पर्क छैन । र उत्तर कोरियाका कुनैपनि दूतावास मार्फत प्योङयोङमा गाडी निर्यात नहोस् भनेर हामीले कडा नियन्त्रण प्रक्रिया लागू गरेका छौँ । तर तेस्रो पार्टीले विशेषगरी प्रयोग भएका गाडीहरु बिक्री गर्दैगर्दा त्यसलाई चाहिँ हामी नियन्त्रण गर्न र जिम्मा लिन सक्दैनौँ । तापनि हामी मिडियामा देखिएका शंकास्पद सवारीहरुको राम्ररी अनुसन्धान गर्ने गरेका छौँ । तर गाडीको ‘आइडेन्टिफिकेसन नम्बर’ बिना त्यसबारे स्पष्ट प्रमाण फेला पार्न असम्भव सरह हुन्छ ।”

यसरी उत्तर कोरियाले २०१५ र १७ को बीचमा मात्र ८०३ लक्जरी सवारी आयात गरिसकेको रिपोर्टमा जनाइएको छ जसमध्ये अधिकांश रुसी कम्पनीका हुने गरेको पाइएको हो ।

उत्तर कोरियाले यस्ता अनेकौँ लक्जरी सामानहरु भित्र्याउन जटिल योजना बनाउने गरेको पत्ता लागेको छ ।

यसमा उनीहरुले नयाँ नयाँ तरिका अपनाउनुका साथै निरीक्षकहरुले कसरी उनीहरुको सो हर्कत निरीक्षण गरिरहेका छन् भन्ने समेत ध्यानपूर्वक हेरिरहेको सीफोरएडीएस पेपरका सहलेखक जेसन आर्टरबर्न बताउँछन् । यो जानकारी हासिल गर्न आठ महिना अनुसन्धान गरेको अर्का सहलेखक लुकस कुओले बताए । उनका अनुसार पहिले ती मर्सिडिजहरु रोटरडमबाट डेलियन पुर्याइयो त्यसपछि जापानको ओसाका हुँदै दक्षिण कोरियाको बुसानबाट रुसी सहर पुर्याइएको हो । त्यसपछि ठूलो विमान समेत अटाउने उत्तर कोरियाद्वारा सञ्चालित कार्गोमा हालेर तिनलाई प्योङयोङसम्म पुर्याइएको बताइएको छ । यसरी लक्जरी सामानहरु किम शाषनका लागि उच्च मौद्रिक मूल्यका साथै शक्तिको प्रतीकका रुपमा पनि काम गर्ने गर्दछ ।  सीएनएनबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार