
देशको शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई न नागरिक झुक्याउने अधिकार छ, न त आफैँ झुक्किने छुट नै । तर अरुलाई झुक्याउने मामिलामा दर्जनभन्दा धेरै गोल गरेका छन् भने आफू झुक्किने मामिलामा ह्याट्रिक पार गरेका छन् ।
आफ्ना नागरिकसित पटक पटक झुट बोल्न अप्ठेरो नमान्ने र आफू झुक्किएँ भनेर सार्वजनिक लज्जाबोध प्रदर्शन गर्ने प्रधानमन्त्रीप्रति नेपाली नागरिक न आक्रोश देखाउन सक्ने अवस्थामा छन् न सद्भाव नै बाँकी छ । दुई तिहाई बहुमतको प्रधानमन्त्रीको यही बानीका कारण नेपाली नागरिक उहाँभन्दा पनि निरिह भएका छन् ।
अघिल्लो दशैँमा मेलम्ची आउँछ र अघिल्लो पुसमै पानीजहाज चढ्ने टिकट काटिन्छ भनेर झुक्याएको कुरा पुरानो भैसक्यो । अघिल्लो हप्ता मात्रै उहाँले काठमाण्डौमा मास्क लगाएर हिँड्नुपर्ने अवस्था छैन भनेर सबैलाई झुक्याउनुभयो । नागरिकलाई त धेरैपटक झुक्याउनुभयो नै, बेलाबेला उहाँ आफैँ पनि झुक्किएका छन् । भित्रभित्र कतिपटक झक्किए, त्यो त उहाँ आफैंलाई थाहा होला । अहिलेसम्म तीनपटक आफू झुक्किएको उहाँकै मुखबाट बाहिर आइसकेको छ ।
भर्खरै मात्र प्रधानमन्त्रीले विषादी प्रकरणमा भारतले पठाएको पत्रबारे आफूलाई झुक्काइएको बताए । बुधबार नेपाल टेलिभिजनबाट प्रसारण भएको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम र बिहीबार काठमाण्डौमा भएको एक सार्वजनिक समारोहमा उहाँले आफू ढाँटिएको भन्दै निरिहता प्रकट गरे ।
‘भारतबाट पत्र आएको कुरा साँचो होइन हल्ला हो भनेर मैले भनेको थिएँ, तर परराष्ट्र, वाणिज्य र कृषि मन्त्रालय यो विषयमा जानकार रहेछन् । मलाई बताइएन । कुटनीतिक संवादबाट अनभिज्ञ राखियो । मैले २३ गते बेलुका मात्रै पत्र आएको बारेमा जानकारी पाएँ । त्यसबाट अत्यन्त दुःखी छु’ प्रधानमन्त्रीले भने । यसबाट आफू लज्जित भएको भन्दै उहाँले क्षमा पनि मागे ।
थाहा हुनैपर्ने कुरा थाहा भएन भनेर प्रधानमन्त्रीले सार्वजनिक रुपमा बोलेको यो पहिलोपटक होइन । यसअघि पनि मेलम्चीको पानी आउने विषयमा आफूलाई कर्मचारीले झुक्याएको भनेर उनले बोलेका थिए ।
अघिल्लो वर्ष असारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी परियोजनाको कामको बारेमा आफूलाई सचिवले ढाँटेको भनेका थिए । सचिवले झुट बोल्दा आफू नागरिकको नजरमा गलत हुन पुगेको भन्दै उनले दुखेसो पोखेका थिए । ‘पटक पटक मेलम्ची आउँछ भन्ने, तर नआउने भएपछि मैले नोटबुकमा नै सचिवलाई मेलम्ची आउने मिति लेख्न भनें, तर उनले भनेको मितिमा पानी आएन, उल्टो ठेकेदार नै भाग्यो’ त्यतिबेला पनि प्रधानमन्त्रीले अहिले जसरी नै निरिहता प्रकट गरेका थिए ।
मेलम्चीको विषयमा मात्रै होइन, पोहोर दशैँताका चिनी अभाव हुँदा पनि प्रधानमन्त्रीले यसैगरी आफूलाई उद्योगीले झुक्याएको बताएका थिए ।
प्रधानमन्त्रीले मात्र होइन, मन्त्रीहरुले पनि आफूलाई कर्मचारीले झुक्याएको भनेर बेलाबेला बोल्ने गरेका छन् । विषादी प्रकरणकै कुरामा उद्योगमन्त्री मातृकाप्रसाद यादवले आफूलाई सचिवहरुले झुक्याएको भन्दै पन्छिन खोजे । अहिले प्रधानमन्त्री आफैंले आफूलाई झुक्याइएको भन्दा पनि मन्त्रीहरु जिम्मेवारीबाट पन्छिन खोज्दैछन् ।
सचिवले मन्त्रीलाई झुक्याउने र मन्त्रीले प्रधानमन्त्रीलाई झुक्याउने तथ्य सार्वजनिक हुँदा राज्य संयन्त्र कसरी चलिरहेको छ भन्ने गम्भीर प्रश्न उठेको छ ।
एक त दुई तिहाई बहुमत भएका शक्तिशाली प्रधानमन्त्रीलाई कसैले झुक्याउनै नसक्नुपर्ने हो । उनलाई आवश्यक सूचना, जानकारी र सल्लाह दिनकै लागि सिंहदरबार र बालुवाटारमा ठूलै टिम खटिएको छ । प्रधानमन्त्री आफैँ पनि हरेक कुरामा हरक्षण अपडेट भइरहन्छन् । फेसबुक र ट्वीटरमा सरकारको बारेमा लेखिएका टिकाटिप्पणी पढिरहन्छन् । देश विदेशमा कहाँ के भैरहेको छ भनेर जानकारी लिइरहन्छन् ।
राति अबेरसम्मै किताब पल्टाएर बसिरहन्छन् । बाहिरका हरेक गतिबिधि थाहा पाइरहन्छन्, तर थाहा पाउनै पर्ने कतिपय कुरा चाहिँ थाहा पाउँदो रहेनछन् । । आफ्नै मन्त्रीर सचिवहरुबाट झुक्किने रहेछन् ।
त्यसो त देशको कार्यकारी ठाउँमा बसेका प्रधानमन्त्रीलाई सबै कुरा थाहा हुनुपर्छ । राष्ट्रिय महत्वको तथा देश र नागरिकलाई प्रत्यक्ष असर पर्ने कुरामा त पहिल्यै जानकार हुनुपर्छ । थाहा पाइनँ, झुक्किएँ भनेर सुखै पाइँदैन ।
देश चलाउने कुरा खेलाँची हैन । प्रधानमन्त्री र मन्त्रीहरुलाई राष्ट्रिय महत्वको विषयमा थाहा हुनैपर्छ । थाहा भएन भन्नै सुहाउँदैन, मिल्दैन सुख पाईंदैन । जसले थाहा दिनुपर्ने हो, त्यसले थाहा दिएन भने कारबाही गर्नुपर्छ । तर प्रधानमन्त्रीले मेलम्चीको पानी पोहोर नै आउँछ भनेर ढाँट्ने सचिवलाई कारबाही गरेका छैनन् । चिनी पर्याप्त छ भनेर झुक्याउने उद्योगीसँग स्पष्टीकरण लिएका छैनन् । यसपटक भारतबाट आएको पत्र नदेखाउने आफ्नै मन्त्रीहरुसँग बेलैमा सोधपुछ गरेर सचेत गराएका छैनन् ।
धेरैपटक प्रधानमन्त्री आफैँले पनि विवादित अभिव्यक्ति दिने गरेका छन् । सरोकारवालासँग रायसुझाव नै नलिइकन विधेयक बनाउँछन् । र त्यसमै चिप्लिन्छन् ।अरुलाई विश्वासमा लिनुको सट्टा गालीगलौज र आलोचनाबाट भाषण सुरु गर्छन् । हल्का र सतही टिप्पणीमा रमाउँछन् । न आवश्यक ठाउँमा हस्तक्षेप गर्छन्, न आफ्नो काम र बोलीमा नै लगाम लगाउन खोज्छन् ।
यस्तै, भैरहने हो भने प्रधानमन्त्री अझै धेरै चिप्लिन र झुक्किन सक्छन् । आफू झुक्किएन भने नागरिकलाई झुक्याउनै पर्दैन, अनि नागरिकलाई नझुक्याउने हो भने आफूलाई झुक्याउने पनि कोही हुँदैन । आफ्नै कारण पटकपटक आफैँ गुमराहमा रहनुपर्ने अवस्थामा पुगेका प्रधानमन्त्रीले यो कुरामा ध्यान दिन सक्लान् त ?







