
नेपाल भ्रमणमा रहेको भारतीय गुप्तचर संस्था रिर्सच एन्ड एनालाइसिस विङ (रअ) को टोली पाँच दिने नेपाल मिसन सकेर भारत फिर्ता भएको छ ।
रअ प्रमुख सामन्त गोयलले सत्ताधारी नेकपाका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उच्चस्तरको भेटघाट गर्यो ।
साथै सो टोलीले मधेशवादी दलका नेताहरुलाई पनि पालैपालो हयात होटलमा बोलाएर भेट गर्यो । प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको भन्ने समाचार आएपनि त्यो पुष्टि हुन सकेको छैन ।
भारतीय रअ प्रमुखको भेटले नेपालमा राजनीतिक तरंग पैदा गरेको छ । रअ टोलीको भेटले नेपालको राजनीतिक कोर्स फेरि बदलिने विभिन्न उच्च स्रोतले बताएको छ ।
उच्च स्रोतका अनुसार दशै अगाडि नेपालमा ओली सरकार परिवर्तन भएर अर्को नयाँ सरकार बन्ने अनुमान गर्न थालिएको छ ।
रअ टोलीले नेपाल भ्रमणका क्रममा सरकार परिवर्तनसँगै हिन्दु राष्ट र भारतीय स्वार्थ अनुकूल हुनेगरी सीमा सम्झौतालगायतका विषयमा छलफल गरेको उच्च स्रोत बतायो ।
रअको टोलीले सत्तारुढ र प्रतिपक्षी दलका केही नेतासहित संसदका विभिन्न समितिका पदाधिकारीसँग सामूहिक र छुटाछुट्टै भेटवार्ता ग¥यो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आइतबार राति भेटवार्ता गरेका रअ अधिकारीले सोमबार विहान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको हो ।
रअ प्रमुख समान्तकुमार गोयल नेतृत्वको पाँच सदस्यीय टोली आइतवार दिउँसो काठमाडौं आएपछि भेटवार्तामा जुटेको थियो । भेटघाटका लागि नेता देउवा स्वयं लैनचौरस्थित भारतीय दूतावास पुगेका थिए भने प्रचण्डलाई भेट्न रअका अधिकारी प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
दूतावास स्रोतका अनुसार आइतवार साँझ ७ बजेर ४० मिनेटमा दूतावास पुग्नुभएका देउवा करिव चार घन्टापछि राति ११ बजेर ४० मिनेटमा बाहिरिएका थिए । देउवासँगको भेटमा काँग्रेस सांसदद्वय डा. अमरेशकुमार सिंह र विनोद चौधरी पनि सहभागी भएको बताइएको छ । रअ अधिकारीको सम्मानमा दूतावासले आइवार साँझ दूतावास परिसरमा रात्री भोज दिएको थियो । सोही जमघटमा देउवा सहितको टोली दूतावास पुगेको हो ।
रअ प्रमुख गोयल सहितको टोली बौद्धस्थित हायात होटलमा बसेको थियो ।
देउवासँगको भेटवार्ता अघि राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका पदाधिकारी हायल होटल पुगेर रअ अधिकारीसँग सामुहिक भेटघाट गरेका थिए । गोयल नेतृत्वको टोलीमा रअको तर्फबाट नेपाल डेक्स नियाल्ने अरुण जैन, सोही संस्थाका उच्च अधिकारी शशीभूषण सिंह, भारतीय मन्त्रिपरिषद् नियाल्ने एक सचिव समेत सहभागी थिए ।
सोमबार विहान खुमलटार पुगेको रअ टोलीले नेकपा अध्यक्ष प्रचण्ड निवासमा साढे दुई घन्टा भन्दा बढी समय विताएको छ । विहान साढे आठ बजे शुरु भएको भेटवार्ता १० बजेर ५० मिनेटसम्म चलेको दूतावास स्रोतले जनाएको छ । सत्तारुढ दलभित्र सत्ता नेतृत्व हेरफेर हुने वहस चलिरहेका बेलाको यो भेटवार्तालाई नेकपा पदाधिकारीले अर्थपूर्ण रुपमा लिएका छन् ।
नेपालका लागि भारतीय पूर्व राजदूत श्याम शरणले प्रचण्डलगायत अन्य नेतालाई भेटेर फर्किएको एक महिना बित्न नपाउँदै भएको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको नेकपाका एक नेताले बताए ।
यसैबीच रअ टोलीले सोमबार अपरान्ह प्रतिनिधिसभा र राष्ट्रिय सभाका समितिका सभापतिसँग पनि सामूहिक भेटवार्ता गरेको छ । दुवै संसदका सबै समिति सभापतिलाई डिनर सहितको भेटवार्तामा बोलाइए पनि शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती र महिला तथा सामाजिक समिति सभापति निरुदेवी पाल भने व्यस्तताको कारण जनाउँदै सो जमघटमा सहभागी भएनन् ।
अनुपस्थित हुनुपर्ने कारणबारे सोधिएको जिज्ञासामा सभापति पालले भनिन्– ‘न भारतीय स्वतत्रता दिवस, न त गणतन्त्र दिवस त्यसैले बिनाप्रसङ्ग दूतावास जान उचित लागेन ।’
उनकाअनुसार सोमबारको जमघटका लागि दूतावासले डेढ साता अघि नै निम्तो पठाइएको थियो । सो जमघटमा सत्तारुढ दलकी सांसद पम्फा भुसाल, कांग्रेस नेता बालकृष्ण खाँडलगायका अन्य केही सांसद पनि सहभागी भएको दूतावासले जनाएको छ ।
‘मिसन पूरा भएकोले’ रअ टोली फिर्ता
पाँच दिनको भ्रमणका लागि नेपाल आएको टोली आकस्मिक रुपमा भ्रमण अवधि छोट्याएर सोमबार साँझ दिल्ली फर्किएको छ ।
समिति सभापतिहरुसँगको भेटवार्तालगत्तै रअ प्रमुख गोयल सहितका अधिकारी दूतावासबाट बाहिरिनु भएको थियो । दूतावासबाट हायात होटल पुगेको टोली त्यसलगत्तै साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको सुरक्षा निकायको उच्च स्रोतले जनाएको छ ।
सोमबारै फर्किनुको कारणमा स्रोतले भन्यो, ‘मिसन पूरा भएकोले थप बसिरहनु आवश्यक भएन ।’







