
बेलायतको प्रधानमन्त्रीका लागि बोरिस जोन्सन निर्वाचित भएका छन् । मंगलबार मध्यान्ह सार्वजनिक भएको मतपरिणाम अनुसार जोन्सनले प्रतिद्वन्द्वीसमेत रहेका बहालवाला विदेशमन्त्री जेरेमी हन्टलाई झन्डै आधा मतान्तरले पराजित गरेका हुन् ।
एक लाख ६० हजार सांसदले गरेको मतदानमा जोन्सनले ९२ हजार १५३ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दीले ४६ हजार ६५६ मत ल्याएका छन् । बुधबार उनले पदभार ग्रहण गर्नेछन् ।
जोन्सन प्रधानमन्त्रीका लागि निर्वाचित भएपछि संसद भवन बाहिर विरोध प्रदर्शन गरिएको छ । त्यसैगरी शिक्षा विभाग मन्त्री एन्ने मिल्टनले पदबाट राजीनामा दिएकी छन् । उनले युरोपियन युनियनबाट ब्रिटेन बाहिरिनु नपर्ने प्रधानमन्त्री टेरिजा मे को कदमको विरोध गर्दै भने युरोपियन युनियनबाट बाहिरिनु पर्ने तर्क गरेका थिए ।
जोन्सन प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि टेरिजा मेले बधाई दिएकी छन् । उनले ब्रेक्जिट सम्झौताका विषयमा मिलेर काम गर्न र अन्य विषयमा आफ्नो पूर्ण समर्थन रहेन बताएकी छन् । त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेसमेत पनि उनलाई ‘महान’ प्रधानमन्त्री बन्ने भन्दै बधाई दिएका छन् । ट्रम्पले ट्विट गर्दै जोनसनलाई बधाई दिएका हुन् ।
प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि जोन्सनले आफूसँग पराजित हन्ट र बाहिरिँदै गरेकी प्रधानमन्त्री मेलाई सम्मान व्यक्त गरेका छन् । उनले हन्टलाई ‘फन्ट अफ एक्सलेन्ट आइडिया’ (उत्कृष्ट विचारक) भएको बताएका छन् । त्यसैगरी मेलाई यति लामो समयसम्म राष्ट्रको सेवा गरेको भन्दै सम्मान व्यक्त गरेका हुन् । त्यसैगरी उनले सबै मतदातालाई धन्यवाद दिएका छन् ।
लन्डनका पूर्व मेयरसमेत रहेका जोन्सन सत्यलाई तोडमोड गर्न, अनावश्यक प्रचार गर्ने र झुक्याउन सिपालु मानिन्छन् । अब ब्रेक्जिटको विषयमा कस्तो निर्णय गर्ने भन्ने साँचो जोन्सनको हातमा परेको छ ।
जोन्सन पार्टीको नेतामा निर्वाचित भएलगत्तै विपक्षी दलका नेताले प्रतिक्रिया दिएका छन् । विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोरवियनले जोन्सन आफ्नो दलको समर्थन पाएको तर राष्ट्रको समर्थन पाउन नपाउने प्रतिक्रिया दिएका छन् । उनले ट्विट गर्दै भनेका छन्, ” जोन्सनको नो डिल ब्रक्जिट एजेन्डाले बेरोजगारी समस्या बढाउने, महँगी बढाउनेछ ।” जोन्सनले भनेकोजस्तो नो डिल ब्रेक्जिटको अभियानलाई पूरा हुन नदिनेसमेत चेतावनी दिएका छन् ।
बीबीसीकी राजनीतिक सम्पादक लउरा कुइन्सबर्गले ‘अस्वीकार गर्न नमिल्ने राजनीतिज्ञ’ भन्दै टिप्पणी गरेकी छन् । उनले भनेकी छन्, “बोरिस जोन्सन बेलायतको प्रधानमन्त्री बन्ने – यो वाक्यले तपाईंलाई हल्लाउँछ, तपाईंलाई त्रसित पार्छ । १२ महिना अघि बोलेका उनका वाक्यहरु र प्रतिबद्धताहरु अहिले मरिसकेका छन् । जब तपाईं बोरिस जोन्सनका बारेमा सोच्नुहुन्छ । उहाँ अस्वीकार गर्न नमिल्ने राजनीतिज्ञ हुन् ।”
उनले भनेकी छन्, “जोन्सन बच्चा हुँदादेखि नै विश्वमा राज गर्न चाहन्थे । अहिले ‘टोरीका राजा’ बनेका छन् । उनका सामने ऐतिहासिक चुनौतीहरु छन् ।”
जोन्सनका पिता स्टेन्ली जोन्सले आफ्नो छोरा प्रधानमन्त्रीका लागि निर्वाचित भएको गर्व गरेका छन् । तर, ट्रम्पको ‘स्लेभिस’ (दास) नबन्न सुझाएका छन् । उनले सीएनएनसँगको कुराकानीमा भनेका छन्, “दुबै जना (जोन्सन र ट्रम्प) को एउटै किसिमको ‘हेयर स्टाइल’ छ । दुबैको स्वभाव पनि उस्ताउस्तै छ । तर, हामीले बेलयातलाई अमेरिकाको दास नबन्नेप्रति सचेत रहनुपर्छ ।”
को हुन् जोन्सन ?
नेता जोनसनको जन्म सन् १९६४ जुन १९ मा अमेरिकाको न्यूयोर्क सहरमा भएको थियो । सन् १९८३ मा एटन कलेजमा विद्यालयस्तरको शिक्षा प्राप्त गरी अक्सफोर्ड बालिओल कलेजबाट चारबर्ष पछि स्नातक पास गरेका थिए ।
कन्जरभेटिभ पार्टीका सांसद रहेका ५५ वर्षीय जोन्सन बेलायतका पूर्व विदेशमन्त्री र लन्डनका पूर्वमेयर हुन् । बेलायतको राजनीतिमा फरक धारणा राख्ने नेताका रुपमा उनी परिचित छन् । उनका समर्थकमाझ जोन्सन कडा स्वभाव, रणनीतिक कार्यशैली र विवादित वक्तव्यहरुले चर्चामा रहन्छन् । एक समय उनी पार्टीभित्र निकै चर्चित नेताको छवी बनाएका थिए तर अहिले त्यति चर्चा छैन ।
उनी जातीय, लैंगिक र इस्लामिक मुद्दाहरुविरुद्ध निकै खरोरुपमा प्रतिक्रिया दिन्थे । उनलाई जातीय नेताका रुपमा पनि लिइन्छ ।
सन् २०१६ मा भएको ब्रक्जिट जनमत संग्रहमा बेलायतले युरोपीयन युनियनबाट अलग हुने विषयमा वकालत गरेका थिए । उनलाई कट्टर ब्रेक्जिटर पनि भनिन्छ । टेरिजा मेको ब्रेक्जिट सम्झौतको उनले निकै कडा रुपमा विरोध गरेका थिए । ब्रेक्जिट सम्झौतालाई निष्कर्षमा पुर्याउन नसक्नु नै मे को राजीनामाको कारण बन्यो ।
जोन्सनले पत्रकारीताबाट आफ्नो करियर सुरु गरेका थिए । सन् १९८८ मा टाइम्स अफ लन्डनबाट निष्कासन गरेपछि उनी चर्चामा आएका थिए । उनी ब्रसेल्स संवाददाता हुँदा समाचारमा गलत ‘कोट’ गरेको भन्दै निष्कासन गरिएको थियो । उनले इयूका सम्बन्धमा शंकास्पद समाचार प्रकाशन गरेका थिए । जुन मुद्दा सन् २०१६ को जनमत संग्रहसम्म आइपुग्यो ।
जोनसनले सन् १९८९ देखि १९९४ सम्म टेलिग्राफको युरोपेली संघको सम्वाददाताका रूपमा काम गरेका थिए । उनले सन् १९९९ देखि २००५ सम्म द स्पेक्टेटर नामक खबर पत्रिकामा काम गरे ।
सन् २००१ मा उनी कन्जरभेटिभ दलको सांसद बनेका थिए । सन् २००८ मा उनी लन्डनको मेयर बनेका उनले दुई कार्यकालसम्म मेयर भएर चलाए ।
उनले लन्डन ओलम्पकमा जिपलाइनमा प्रतिस्पर्धासमेत गरेका थिए । सन् २०१५ मा फेरि उनि संसदका लागि निर्वाचित भएका थिए, जो अहिलेसम्म पनि छन् । भक्स डटकममा अनुसार उनले इयूबाट बेलयात अलग हुनुपर्छ भन्ने पक्षमा मतदान गर्न उनले मतदाता किनेको आरोपसमेत लगाइएको थियो ।







