
कसैले विप्लवलाई राजनीतिक शक्ति भन्छ, कसैले आतङ्कवादी भन्छ । तपाईंका मूल्याङ्कनमा विप्लव कस्तो शक्ति हो ?
राजनीतिक र आतङ्कवादीको कुरा होइन । उहाँले उठाउनुभएका विषय राजनीतिक नै छन् । तर राजनीतिक विषयलाई कार्यान्वयन गर्ने बाटोको सन्दर्भमा अहिले संविधानले दिएको अधिकारलाई कसैले उँहालाई लागू गर्न नदिँदासम्म उहाँ यही बाटोबाट जानुपर्छ । लागू गर्न नदिए पो उहाँले अर्को बाटो खोज्ने हो । लागू गर्न पाएसम्म यही बाटो जाने हो ।
उहाँलाई आएर भ्रष्टाचारका विरुद्ध कुरा उठाउन कसले रोकेको छ ? कसैले रोक्दैन । अनियमितताका बारेमा कुरा उठाउन, जनताको पक्षमा बोल्न, विकास निर्माणको पक्षमा कुरा गर्न, संविधानमा भएका अधिकारकारका कुरा लागू गर्नुपर्छ भन्न कसैले रोक्दैन । त्यसकारण उहाँहरूले यो बाटो जानुपर्छ । त्यसैले उहाँले उठाएको विषय राजनीतिक त हो तर बाटो गलत छ ।
विप्लव र सरकारबीच वार्ताका लागि त दुरी कम गर्नुपर्र्यो । तर दुरी घटाउन सत्तापक्षका केही व्यक्तिका उग्र भनाइ र गतिविधिले बाधा पुर्याइरहेको छ भनिन्छ । तपाईं यी दुवैपक्षलाई के सल्लाह दिनुहुन्छ ? जसले गर्दा सरकार र विप्लवबीचको दूरी कम होस् र वार्ताको वातावरण बनोस् ?
पहिलो कुरा विप्लवजीहरूले बम हतियार अहिले बोक्नुभएन । उहाँले वार्तामा आउनका लागि आफ्ना राजनीतिक एजेन्डा प्रस्तुत गर्नपर्यो । सरकारले पनि ती एजेन्डामा छलफल गर्नुपर्यो ।
अहिले वार्ताको कुरा गर्दै जाँदा विभिन्न घटना घटेका छन् । त्यस्ता घटनाले बिग्रेको वातावरणलाई सहजीकरण गरेर वार्तामा जानु पर्यो । वार्तामा ढिलाइ हुँदै जादा थप बढी क्षति, गिरफ्तारी र तोडफोड भएर जाने कुरा होला । तर त्यो वार्ता आजै गर्दा कम क्षति, कम गिरफ्तारीमा हुने कुरा हो ।
सरकारलाई मेरो आग्रह के भने सरकारले वार्ता गर्छु भनेकै छ, ठोसमा वातावरण बनाउनु पर्यो । विप्लवजीले पनि हामीले वार्ता नगर्ने त भनेका छैनौँ भनेर मात्रा हुँदैन । वार्ता गर्दा हामी यो यो एजेन्डामा गर्न चाहन्छाँै भनेर अनौपचारिक रूपमा पहिला छलफलमा आउनुपर्यो । त्यो अनौपचारिक छलफलले मात्रै औपचारिक वार्तामा आइपुग्न सजिलो पर्छ । त्यो दुवैले वातावरण बनाउनुपर्छ ।
हिजोको अनुभव हेर्दा तत्कालीन माओवादी र सरकारबीच वार्ता गर्न विश्वासको वातावरण बनाउन नागरिक समाजहरूले भूमिका खेलेको थियो । अहिले योबीचमा नागरिक समाजबाट केही पहल भएको छ कि छैन ?
नागरिक समाज भनेर अहिले ठ्याक्कै त्यस्तो सङ्गठित छैन । अहिले विप्लवजीले युद्ध घोषणा गरिहालेको अवस्था पनि होइन । तर केही घटनाहरू पनि घटे । बम विस्फोटहरू हुँदा सरकारलाई शान्ति सुरक्षा कायम गर्नुपर्ने अवस्था आयो ।
अहिले कम्युनिस्ट पार्टीकै सरकार छ । उहाँले पनि कम्युनिस्ट पार्टी नै भन्नुभएको छ । त्यसलाई हामीले पनि सहजीकरण गर्ने प्रयत्न पनि गरिराखेका छाँै । भोलि आवश्यकता पर्दा मध्यस्थता गर्ने मान्छेहरू पनि चाहिएला, त्यो एउटा कुरा हो । तर आज सहजरूपमा सरकासँगै प्रत्यक्ष वार्ता गर्ने वातावरण नै छ । उहाँहरू तयार हुँनेबित्तिकै यो कुरा अगाडि बढ्छ ।
रातोपाटी अनलाइनसँगको कुराकानीको सानो अंश ।







