कैलालीको टीकापुर नगरपालिका १ बजार क्षेत्रमै रहेको भूमाफियाको घरलाई विप्लव नेकपाले कब्जामा लिएको छ।

विप्लव नेकपा निकट थारुवान् स्वायत्त प्रदेश एरिया नम्बर १ जनपरिषद् टीकापुरले विज्ञप्ति जारी गर्दै व्यापारी रेखा कडायतको घरलगायत सम्पत्ति कब्जामा लिएको जनाएको छ।

जनपरिषद् प्रमुख विमर्शले सार्वजनिक गरेको विज्ञप्तिमा टीकापुरमा अवैधानिक ढंगबाट मिटर ब्याज, ढुकुटी जस्ता वित्तीय कारोवार गर्न संलग्न रहेको, सामान्य जनताले दही, दुध, घिउ, गाईं, भैंसी बेचेको पैसा लिएर ठगेको आरोप लगाइएको छ।

त्यस्तै कडायतले राज्यलाई कर छली गरेको र पैसा दिएवापत् ठूलो ब्याज दिने भन्दै प्रलोभनमा पारेर करोडौं रुपैयाँ खाएर भागेकाले कडायतको घर र सम्पत्ति कब्जामा लिएको उल्लेख छ।

विज्ञप्तिमा सबै जनताको रकम फिर्ता नगरेसम्म कडायतको घर र सम्पत्ति कब्जामा लिने उल्लेख छ।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी मनोहरप्रसाद भट्टले कब्जा लिएको भनिएको घरमा केही नभेटिएको बताएका छन्। उनले भने, ‘हामीले त्यता टोली पठाएका थियौं, त्यहाँ केहीपनि भेटिएन्।’

कडायत टीकापुरमा सञ्चालित रेखा ब्युटीपार्लरकी सञ्चालक हुन्। उनलाई ढुकुटी र मिटर ब्याजको नाममा करोडौं ठगी गरेर फरार रहेको आरोप लाग्दै आएको छ। उनी एक वर्ष यता टीकापुर भन्दाबाहिर रहेको स्थानीय बताउँछन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार