मोहनविक्रम सिंह अहिले पनि आफूलाई अर्धभूमिगत बताउछन् । नेकपाका नेता प्रचण्ड,किरण लगायतका राजनीतिक गुरु पनि मानिन्छन् । हाल ८४ बसन्तमा रहेका नेता सिंहसँग गरिएको कुुराकानीको सम्पादित अंश ।

तपाईं कम्युनिस्ट आन्दोलनको धरोहर हुनुहुन्छ । अहिलेको कम्युनिस्ट आन्दोलन अलिकति धर्मरायो, विचलित भयो भन्ने छ । तपाईंले अहिलेको वाम आन्दोलनलाई कसरी हेर्नुभएको छ ?

पहिलो कुरा त अहिलेको नेपालको मात्रै होइन, विश्वको कम्युनिस्ट आन्दोलन अत्यन्तै कमजोर भएको छ । त्यसमा विचलन आएको छ । त्यसमा संशोधनवादी धार बढ्दै गएको छ । त्यसको एउटा रूप नेपालको कम्युनिस्ट आन्दोलन पनि हो ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई पनि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनबाट अलग गरेर हेर्न सकिँदैन । त्यसको असर नेपालको कम्युनिस्ट आन्दोलनमा पनि परेको छ । यहाँ पनि संशोधनवादी दिशाको नै बढी प्रभाव छ ।

अहिले जुन सरकार बनेको छ, यो कम्युनिस्ट पार्टीको सरकार होइन । अहिलेको सरकारले कम्युनिस्ट नीतिअनुसार काम गरेको पनि छैन ।

नेकपाले आफूलाई नेपालको कम्युनिस्ट आन्दोलनको मियो र केन्द्र भनेर दाबी गर्छ । यो आन्दोलनचाहिँ के हो त्यसो भए ? यसलाई के भन्नुहुन्छ ?

यो कम्युनिस्ट पार्टी होइन, यो कम्युनिस्ट सरकार पनि होइन । यसलाई कम्युनिस्ट आन्दोलनको केन्द्र वा मियो ठान्नुहुँदैन । जनतालाई यो कम्युनिस्ट पार्टी हो भन्ने भ्रम छ । यसको परिणाम के भएको छ भने यसले गलत कामहरू गरिरहेको छ । त्यसले गर्दा कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीको बदनाम हुँदै गइरहेको छ । यसले गरेका क्रियाकलापका कारण कम्युनिस्ट आन्दोलनलाई धेरै ठूलो क्षति पुगेको छ । यसबाट कम्युनिस्ट आन्दोलनमा गलत असर परेको छ । कम्युनिस्ट आन्दोलनलाई नोक्सान पुगेको कुरा प्रस्ट छ ।

दुई तिहाइ बहुमतप्राप्त नेकपालाई कम्युनिस्ट पार्टीका रुपमा तपाईंले अस्वीकार गरे पनि उसले आफूलाई कम्युनिस्ट केन्द्र भनेर दाबी गरेको अवस्थामा अहिले बनेको कम्युनिस्ट पार्टीले नेपालको कम्युनिस्ट आन्दोलनलाई सहयोग पु¥याउँछ कि बदनाम गर्छ ?

निश्चित रुपमा बदनाम गर्छ । यो कम्युनिस्ट पार्टी र सरकार नभए पनि जनताको आमविश्वास के छ भने यो कम्युनिस्ट पार्टी हो । यसका गलत क्रियाकलापले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउँछ र बदनाम गर्छ ।

नेपाली जनता वामपन्थीतिर छन् भनेर हामी विश्लेषण गर्छाैं । तर, कम्युनिस्ट पार्टीले गरिब, मजदुर र सर्वहारा वर्गसँग सम्बन्ध टुटाउँदै गएको छ । किन ?

संसारभर त्यही भइरहेको छ । जब कम्युनिस्ट आन्दोलन सही दिशा र विचारबाट विचलित हुन्छ, तब दक्षिणपन्थी र गलत दिशा समात्छ । र, त्यो जनता, मजदुर र किसानबाट अलग हुँदै जान्छ । त्यसकारण, समाजवादी देशको पनि पतन भयो । रुसमा कम्युनिस्ट पार्टीले दक्षिणपन्थी बाटो लियो । त्यसले नोकरशाही रूप लिँदै गयो । त्यहाँ पुँजीवादको स्थापना भयो र कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीको नै विघटन भयो । ठीक त्यही अवस्था यहाँ पनि
छ ।
अहिलेको नेकपा र तपाईंहरूजस्तो आफूलाई विभिन्न समूह र पार्टीमा संगठित गरिरहनुभएका नेपालका वाम शक्तिको अवस्था हेर्दा त तपाईंहरूले न संगठन गर्न सक्नुभयो न विचारको विकास गर्न सक्नुभयो भने एकातिर र तपाईंहरू विस्तारै क्षयीकरण अथवा कमजोर हुँदै जाने स्थिति किन भयो ?

यो सत्य हो । संसारमा कम्युनिस्ट आन्दोलन अत्यन्तै कमजोर भएको छ । रक्षात्मक अवस्थामा पुगेको छ । यसको प्रयोग कति देशका पार्टीले गरेका छन् । गलत दिशा समातेका छन् । त्यसको अर्थ जुन नेपालका वामपन्थी कम्युनिस्ट पार्टीहरू हुन्, उनीहरूमा त्यो स्थिति उत्पन्न भएको छ । यसको परिणामस्वरूप नै कम्युनिस्ट आन्दोलन र हाम्रो पार्टी पनि २०, ३० ४० सालमा जुन स्थितिमा थियो, त्यो भन्दा कमजोर भएको छ त्यसैले प्रतिकूल स्थितिमा पनि हामीले आफूलाई बचाउने प्रयत्न गरेका छौं ।

माक्र्सवादी लेनिनवादी कम्युनिस्ट सिद्धान्तको आधारमा हाम्रो पार्टीको अस्तित्वलाई हामीले बचाएका छौं । यो सत्य हो कि पहिलेको तुलनामा हाम्रो स्थिति धेरै नै कमजोर भएको छ । कमजोर हुनुको कारण हो, दक्षिणपन्थी संशोधनवादी दिशा बढ्दै जानु । यो स्थितिमा पनि पार्टी र यसको सैद्धान्तिक पक्षलाई बचाउन हामी सफल भएका छौं । हामी कमजोर हुनुको परिणाम देशमा दक्षिणपन्थी संशोधनवादी तत्त्वहरू शक्तिशाली हुँदै गएका छन् ।

तपाईं कम्युनिस्टहरू कार्यनीति र रणनीतिमा अलि बढी खेल्नुहुन्छ । तर, तपाईंहरूको कार्यनीति मात्रै देखिन्छ, रणनीति देखिँदैन । कार्यनीति र रणनीतिका बारेमा तपाईंहरूबीच किन धेरै ठूलो विरोधाभास देखिन्छ ?

कम्युनिस्ट पार्टीको रणनीति भनेको लामो समयसम्म चल्ने नीति हो । कार्यनीति भनेको तत्कालको नीति हो । जस्तो भनौं, नयाँ जनवाद हाम्रो रणनीति हो । रणनीति कुन बेला हामीले पूरा गर्न सक्छौं भन्ने कुरा कुनै खास बेलाको स्थितिमा निर्भर गर्छ । अहिले देशमा तत्काल नयाँ जनवादी क्रान्ति गर्ने स्थिति छैन । नयाँ जनवादी क्रान्ति पूरा गर्न सशस्त्र संघर्षको नीतिको आवश्यकता हुन्छ ।

दीर्घकालीन जनयुद्धको आवश्यकता हुन्छ । हाम्रो देशमा तत्काल जनयुद्धलाई सफल पार्ने या सञ्चालन गर्ने अवस्थामा हामी छैनौं । जुन संगठनहरूले त्यो दिशामा कोसिस गरे, पहिलेको माले या माओवादीले परिस्थितिलाई ध्यान दिन सकेनन् । त्यसको परिणाम के भयो भने उनीहरूले अवसरवादी बाटो समातेर शान्तिपूर्ण राजनीतिमा आउनुप¥यो । त्यसकारण, हामी परिस्थिति तयार नभईकन रणनीति र उद्देश्यहरू पूरा गर्न सक्दैनौं । नयाँ जनवादी क्रान्तिको पक्षमा अहिले हामीले बढीभन्दा बढी प्रचार गरिरहेका छौं ।

हाम्रा ठोस रणनीति, ठोस योजना र ठोस कार्यक्रम कार्यनीतिका रूपमा रहन्छ । यसो भन्नुको अर्थ हामीले कुनै बेला गणतन्त्रको पक्षमा संघर्ष गरेका छौं । अहिले संघीयताको विरुद्धमा आन्दोलन गरिरहेका छौं ।
अहिले देशमा राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको विरुद्ध जुन खतरा छ, त्यसका विरुद्ध संघर्ष गरिरहेका छौं ।

संघीयताको नाममा तराईलाई टुक्र्याउने षड्यन्त्र भइरहेको छ, त्यसका विरुद्ध संघर्ष गरिरहेका छौं । त्यसकारण, ठोस रूपमा हाम्रा तत्कालीन कार्यक्रम कार्यनीतिका रुपमा नै जान्छन् । अहिले हामी एकैपल्ट जनयुद्ध सुरु र नयाँ जनवाद लागू गर्न सक्ने कार्यक्रम बनाएर जान सक्ने स्थितिमा छैनौं ।

नेकपा (मसाल)लाई खास गरी लाग्ने गरेको आरोप रणनीति र कार्यनीतिमा विरोधाभास छ भन्ने हो । एक–दुई वटा कारणहरू म बताउँछु । एउटा, तपाईंहरू संघीयताको पक्षधर होइन तर त्यही संघीयताअन्तर्गतका संरचनामा तपाईंहरूको सहभागिता छ, संघीय सरकारदेखि स्थानीय तहसम्म । दुई, नेकपा (मसाल) हिजो नेकपाको नेतृत्वको सरकारमा सामेल भयो । तर, अहिले आएर तपाईं भन्नुहुन्छ कि नेकपा कुनै कम्युनिस्ट पार्टी होइन । यो अलि विरोधाभासपूर्ण भएन र ?

यो विरोधाभासपूर्ण छैन । रणनीति र कार्यनीति कैयौं अवस्थामा विपरीत पनि हुन्छन् । रणनीतिले एउटा कुरा गरेको हुन्छ, त्यसको विपरीत कार्यनीतिले अर्काे कुरा गरेको हुन्छ । उदाहरणका लागि माओको प्रसिद्ध भनाइ छ– सबै प्रतिक्रियावादी कागजी बाघ हुन् । यो कुरा रणनीतिमा मात्रै सत्य हो र कार्यनीतिमा त्यसको विपरीत सत्य हो किनभने प्रतिक्रियावादीहरू कार्यनीतिका रुपमा साँच्चिकै बाघ हुन्छन् ।

रणनीतिक रुपमा हामी सशस्त्र संघर्षमा जोड दिन्छौं । तर, कार्यनीतिका रूपमा शान्तिपूर्ण आन्दोलनमा जोड दिएका छौं । हामी नेपाली कांग्रेसलाई दुस्मन शक्ति मान्छौं । तर, कतिपय बेला ऊसँग हामीले एकता गरेका छौं । २०४६ र २०६३ सालमा हामीले उनीहरूसँग कार्यगत एकता गरेका थियौं । गिरिजा र सुशील कोइरालाको सरकारलाई हामीले समर्थन गरेका थियौं ।

हामी संसदीय प्रणालीलाई प्रतिक्रियावादी व्यवस्था ठान्छौं । तर, हामीले त्यो प्रतिक्रियावादी संसदीय प्रणालीलाई कैयौंपल्ट उपयोग गरेका छौं । यो त माक्र्सवादी लेनिनवादी सिद्धान्त हो । लेनिनको उदाहरण दिऊँ, जारशाहीले प्रतिक्रियावादी व्यवस्था घोषणा गरेका थिए । तर, खास परिस्थितिमा जारशाहीको प्रतिक्रियावादी व्यवस्थाअन्तर्गतको दुस्मनलाई उनीहरूले उपयोग गरेका थिए ।

त्यो परिस्थितिमा जारशाहीका विरुद्ध ठूलो क्रान्तिकारी आन्दोलन चल्न सक्ने स्थिति थिएन । त्यसकारण, हामीले परिस्थितिअनुसार कार्यनीति बनाएका हुन्छौं । त्यहीअनुसार नेकपालाई हामी कम्युनिस्ट पार्टी मान्दैनौं तर कतिपय बेला बुर्जुवासँग मिलेर सरकार बनाउँछौं । त्यस्तै, हामी संघीयताको विरोध गर्छौं तर हामीले यो संघीयतालाई प्रदेश र स्थानीय तहमा उपयोग गरिरहेका छौं । त्यो उपयोगको नीति हो ।

त्यसकारण, हाम्रो मूल नीति र कार्यनीतिमा यस प्रकारको जुन अन्तर हुन्छ, त्यसलाई बुझ्न नसकेर र माक्र्सवादी लेनिनवादी दृष्टिकोणअनुसार बुझ्न नसकेर विरोधाभापसूर्ण भएको देख्छन् । वास्तवमा विरोधाभास होइन, यो रणनीति र कार्यनीतिबीच सन्तुलन कायम गर्न परिस्थितिअनुसार एक अर्काबाट तिनीहरूको बेग्लै मूल्यांकन गरेका हुन्छौं ।

उदाहरणका लागि चीनमा माओले च्याङकाइसेकसँग मिलेर जापानका विरुद्ध संघर्ष गरे । स्टालिनले कुनै बेला अमेरिका र ब्रिटिससँग मिलेर फासीवादका विरुद्ध संघर्ष गरे । यो विरोधाभास होइन, बेग्लाबेग्लै परिस्थितिको अध्ययन तथा विश्लेषण गरेर अपनाउने नीति हो ।

उपयोगको नीतिले नेपालको कम्युनिस्ट आन्दोलनमा के योगदान पु¥यायो भन्ने प्रश्न पनि उठ्छ । जस्तो गरिबहरू झन् गरिब हुँदै गए, धनी झन् धनी हुँदै गए । गरिबको सम्बन्धमा कम्युनिस्ट पार्टीहरू टुट्दै गएका छन् । सर्वहारा वर्गसँग उनीहरूको सम्बन्ध टुटेको छ । आज सभ्रान्त र व्यवसायीको पकडमा प्रमुख पार्टीका नेताहरू पुगेका छन् । तपार्इंको उपयोगको नीतिले पनि कम्युनिस्ट आन्दोलनमा कहीँ योगदान पु¥यायो ?

परिस्थितिअनुसार जो हिँड्न सकेनन्, उनीहरू गलत दिशामा गइरहेका छन् । मालेले पहिले सशस्त्र संघर्ष सुरु ग¥यो । माओवादीले १० वर्ष सशस्त्र संघर्ष गर्यो । उनीहरूले पनि परिस्थितिको मूल्यांकन गर्न सकेनन् । आखिर उनीहरू पनि दक्षिणपन्थी दिशामा पुगे । उनीहरूको पार्टी बाहिरबाट हेर्दा ठूलो देखिए पनि आफ्नो सिद्धान्तमा कम्युनिस्ट धरातलबाट धेरै तल गइसकेका छन् ।

आज समाजमा जुन सभ्रान्त वर्गहरू आइरहेका छन्, बढ्दै गइरहेका छन् र गरिबहरू झन् थिचिँदै गइरहेका छन् । यो पुँजीवादी व्यवस्था र अहिलेको प्रतिक्रियावादी व्यवस्थाको परिणाम हो । संसारमा जहाँ पनि यस प्रकारको स्थिति आउँछ, आएको छ । प्रतिक्रियावादी सरकारमा यस्तो हुन्छ । हाम्रो उपयोगको नीतिले त्यस्तो भएको होइन ।

कस्तो पनि भयो भने नेपालका कोही कम्युनिस्ट कांग्रेसजस्ता ठ्याक्कै संसदीय पार्टी बनिदिने र दक्षिणपन्थी दिशामा गइरहने । अनि, केही बचेखुचेका टुकुडीहरू अझै सानो र अझै सीमित भएर विघटनको अवस्थामा पुग्ने स्थिति किन आयो ?

यसका लागि जस्तो भनौं, कैयौं कम्युनिस्ट पार्टी आफ्नो सिद्धान्त, नीति र उनीहरूको चरित्रबाट पतन र विचलन भएर दक्षिणपन्थी दिशामा पुगेका छन् । मूलभूत रूपमै उनीहरू कांग्रेसजस्ता वा प्रतिक्रियावादी शक्तिजस्ता बन्न गएका छन् । कतिपय कम्युनिस्ट पार्टीहरू साना भएका छन्, यो परिस्थितिको बाध्यता हो । आज विश्वभर कम्युनिस्ट आन्दोलन कमजोर भएको छ ।

यसको असर नेपालको कम्युनिस्ट पार्टीमा पनि परेको छ । तर, मुख्य कुरा के हो भने यो स्थितिमा पनि हामीले आफूलाई बचाउने प्रयत्न गरिरहेका छौं । राजनीतिमा हामीले आफ्नो अस्तित्व कायम राख्ने, आफ्नो आन्दोलन कायम राख्ने र क्रान्तिकारी चरित्र कायम भएको पार्टीका लागि अत्यन्तै कठिन स्थितिमा हामीले संघर्ष गर्नुपरेको छ । त्यसले गर्दा हामी जति शक्तिशाली हुनुपथ्र्याे, त्यो हुन सकेका छैनौं ।

नेपालमा त्यसो भए कम्युनिस्टको भविष्य के हो ?

नेपालको मात्रै कुरा होइन, विश्वको कुरा गरौं । कम्युनिस्ट पार्टीको भविष्य धेरै उज्ज्वल हुन्छ । युरोपमा त्यहाँको कम्युनिस्ट आन्दोलन भनेको एउटा भौतिक परिस्थितिले ल्याएको हो । पुँजीवादको जति जति विकास हुँदै जान्छ, त्यसले साम्राज्यवादको रुप लिँदै जान्छ । त्यसले गरिब र धनीबीचको खाडल झन् बढ्दै जान्छ । त्यसले गर्दा वर्ग संघर्षको आवश्यकता झन् बढेर जान्छ । पुँजीवादभित्र आएको संकटका कारण वर्ग संघर्ष झन् बढ्दै गएको छ । त्यही परिस्थितिले गर्दा कम्युनिस्ट आन्दोलन सफल हुनु आवश्यक छ ।

ठीक नेपालमा पनि गरिब र धनीबीचको खाडल बढ्दै गएको छ । केही मुठीभर व्यक्तिले धेरै सम्पत्ति जम्मा गरेका छन् । सार्वजनिक सम्पत्ति र जग्गाजमिन कब्जा गरेका छन् । यो स्थितिबाट जनताको जुन चेतना बढ्दै गएको छ, यसले नै कम्युनिस्ट आन्दोलनलाई धेरै शक्तिशाली बनाउँदै लैजान्छ । त्यसकारण, नेपालमा पनि कम्युनिस्ट आन्दोलनको भविष्य छैन, यसको भविष्य सकियो, विघटन भयो भन्ने सोचाइ वैज्ञानिक तथ्यहरूसँग मेल खाँदैनन् । एउटा माक्र्सवादी लेनिनवादी सिद्धान्त र ऐतिहासिक भौतिकवादी सिद्धान्तसँग पनि मेल खान्न ।

विचारको पनि विकास हुन सकेको छैन, संगठन पनि त्यति बन्न सकेको छैन । एउटा आशंका, अहिलेको नेकपालाई हेरेर नेपालमा पनि कम्युनिस्टहरूको अवस्था ज्योति बसुको जस्तै हुने त होइन भन्ने टिप्पणी पनि गरिन्छ । देख्नुहुन्छ त्यो खतरा ?

ज्योति बसुहरू दक्षिणपन्थी दिशामा गइसकेका थिए । भारतमा धेरैजसो पार्टीहरूले दक्षिणपन्थी दिशा समातेका छन् । नेपालमा पनि नेकपाहरूको कुरा गरौं, उनीहरूले दक्षिणपन्थी दिशा समातिसकेका छन् । यसकारण, ज्योति बसुको जस्तै हुने कुरा स्पष्ट छ ।

त्यस्तो स्थिति सम्पूर्ण कम्युनिस्टमा लागू हुँदैन । अहिले पनि अन्तर्राष्ट्रिय रूपमा क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले विभिन्न देश र आफ्नो देशमा कार्यक्रम र आन्दोलन अगाडि बढाउँदै लगेका छन् । संगठन बढाउने र विचार सशक्त पार्ने काम गरिरहेका छन् । त्यही प्रयत्न हामीले पनि गरिरहेका छौं । बाहिरबाट हेर्दा कम्युनिस्ट नामधारीहरू एकै जस्ता देखिन्छन् । बाहिरबाट हेर्दा मात्रै त्यस्तो देखिएको हो । उनीहरूबीच वैचारिक र चरित्रगत अन्तर छ, त्यसमा ध्यान दिन नसक्दा त्यस्तो देखिने गरेको छ ।

कम्युनिस्ट पार्टीलाई लाग्ने गरेको आरोप भनेको कम्युनिस्ट पार्टीमा अहिले जनवाद नै भएन । केन्द्रीयता बढी भयो, हावी भयो । जनवादले फक्रनै पाएन भन्ने आरोप छ । तपाईंको पार्टीमा पनि त्यो देखिन्छ ?

त्यो कुरा सही होइन । हाम्रो पार्टीमा जति जनवाद छ, त्यति नेपालको कुनै पनि राजनीतिक पार्टीमा छैन । नेपालको कुनै कम्युनिस्ट पार्टीमा छैन । भर्खरै सम्पन्न महाधिवेशनले त्यो कुरा स्पष्ट गरेको छ । महाधिवेशनको बेलामा बेग्लाबेग्लै मतहरू आएका थिए । तिनका बारेमा जिल्ला तहदेखि स्थानीय तहसम्म छलफल भयो । हाम्रो पार्टीमा जति उच्च प्रकारको जनवाद छ, अरु कुनै पार्टीमा छैन । जनवाद हनन भएको कुरामा सत्यता छैन ।

उसो भए आजको कम्युनिस्ट पार्टीको कार्यक्रम के हो ? कम्युनिस्ट पार्टीको कार्यक्रम कस्तो हुनुपर्ने हो ?

आजको कम्युनिस्ट पार्टीको कार्यक्रम भनेकै कार्यनीति के हुन्छ भन्ने कुरा हो । कार्यनीतिका रुपमा राष्ट्रियता कसरी बचाउने भन्ने समस्या छ । भारतीय साम्राज्यवादबाट हामीमाथि लगातार आक्रमण भइरहेको छ । अमेरिकी साम्राज्यवादले बहुराष्ट्रिय कम्पनीहरूबाट नेपालको राष्ट्रिय पुँजी र राजनीतिमाथि हमला गरेर लगातार कमजोर पार्ने प्रयत्न गरिरहेका छन् ।

राजावादीले गणतन्त्रलाई समाप्त पार्ने कोसिस गरिरहेका छन् । उनीहरूले धर्मनिरपेक्षतालाई समाप्त पार्ने प्रयत्न गरिरहेका छन् । भारतीय साम्राज्यवादले राजावादी र प्रतिक्रियावादीलाई मद्दत गरिरहेको छ । यस्तो स्थितिमा हामीले देशको राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षामा जोड दिनुपर्छ । त्यसको साथै संघीयताले देशलाई जातीय र क्षेत्रीय रुपमा विखण्डनको स्थितिमा पुर्याइरहेको छ, त्यसको विरुद्धको संघर्षलाई लगातार अगाडि बढाइरहेका छौं । योबाहेक जनताका तत्कालीन समस्याहरू जे छन्, तिनको समाधानमा जोड दिएका छौं ।

तपाईंलाई धेरैपटक सोधिएको र सार्वजनिक रुपमा टिप्पणी पनि गरिएको प्रश्न हो । नीति र नेतृत्वबीचको जुन सम्बन्ध छ नि, त्यसमा तपाईं कमजोर हुनुभयो । त्यसकारण, तपाईं र तपाईंको विचार तथा राजनीतिसँग सहमत हुँदा हुँदै पनि सांगठनिक रुपमा नेकपा (मसाल)ले गति लिन सकेन भन्ने आरोप छ । तपाईं व्यवस्थापकीय रुपमा कमजोर र असफल नेता हो । तपाईं एउटा विचारक मात्रै हो, संगठक होइन, नेतृत्वकर्ता पनि होइन तर नेतृत्वमा तपाईं सधैं हुनुहुन्छ भन्ने आरोप किन लाग्छ ?

आज पार्टी जसरी कमजोर भएको छ, त्यो अन्तर्राष्ट्रिय र राष्ट्रिय परिस्थितिको असर हो । विश्व कम्युनिस्ट आन्दोलन नै कमजोर भएको छ र रक्षात्मक अवस्थामा पुगेको छ । संसारका ठूलठूला कम्युनिस्ट पार्टीहरू समाप्त भएका छन् । रुसकै विघटन भयो । युरोपका धेरै देशका कम्युनिस्ट आन्दोलन खत्तम भए । आज चीनमा कम्युनिस्ट पार्टी छ तर त्यो वास्तविक कम्युनिस्ट पार्टी होइन । पुँजीवादी दिशामा गइसकेको छ ।

फ्रान्स, ग्रिस र लेटिन अमेरिकामा कम्युनिस्ट पार्टीहरू समाप्त भएका छन् । त्यो स्थितिमा पनि हाम्रो पार्टी जुन रुपमा कायम छ, लामो समयसम्म लगातार संघर्ष गरिरहेको छ, यसले के बताउँछ भने हाम्रो पार्टीको सही राजनीति र संगठनात्मक नीतिको परिणाम हो । त्यसलाई हामीले असफल भएको भन्न मिल्दैन । संसारका धेरै कम्युनिस्ट पार्टी या त दक्षिणपन्थी दिशातिर गए या उनीहरूको विघटन भयो ।

अर्काे कुरा हाम्रो नीति र नेतृत्व तथा संगठनात्मक प्रणालीको बीचमा पूरै सामञ्जस्यता छ । हाम्रो पार्टीको नीतिअनुसार नै संगठनको काम गरिरहेका छौं । देशव्यापी रुपमा संगठनहरू, सम्मेलनहरू, महाधिवेशनहरू र कार्यक्रमहरू सम्पन्न भएका छन् ।

 तपाईंलाई लाग्ने अर्काे आरोप के छ भने मोहनविक्रम सिंह अर्थात् नेकपा (मसाल), नेकपा (मसाल) अर्थात् मोहनविक्रम सिंह पर्याय भयो । अघि मैले केन्द्रीयता र जनवादको कुरा गर्दा केन्द्रीयता मात्रै छ, जनवाद छैन भनेर तपाईंबाट दीक्षित र संगठित नेताहरू बाहिरिरहन्छन् । तपाइमाथि किन यो आरोप लाग्छ ?

यो आरोप पनि गलत हो । अहिलेको कम्युनिस्ट पार्टी भनेको यसको एउटा विचार, सिद्धान्त र संगठनात्मक प्रणालीअनुसार काम गर्ने पार्टी हो । त्यसमा कैयौंपटक त्यो अवस्थामा दीक्षित नभएका मान्छे पनि आउँछन् । त्यसरी हामीले संसारका कम्युनिस्ट आन्दोलनमा हे¥यौं भने कैयौंपटक गलत मान्छेहरू आएका छन् । तर, हामीले पार्टीको क्रान्तिकारी सिद्धान्त र चरित्रलाई बचाउन गलत तत्त्वहरूविरुद्ध संघर्ष गर्नुपर्छ ।

इतिहासमा पनि माक्र्सले जिन्दगीभर गलत तत्त्वहरूविरुद्ध संघर्ष गरे । लेनिनले पनि गलत तत्त्वहरूविरुद्ध त्यसरी नै ठूलो संघर्ष गर्नुपरेको थियो । स्टालिनले र माओले पनि त्यसरी लगातार संघर्ष गर्नुपरेको थियो । संसारको इतिहासमा पनि हामीले के देख्छौं भने पार्टीले द्वन्द्ववादको सिद्धान्त मान्छ, त्यही सिद्धान्तअनुसार पार्टीभित्र लगातार संघर्ष चलिरहन्छ ।

त्यही संघर्षको बीचबाट पार्टीको विकास हुँदै जान्छ । द्वन्द्ववाद पार्टीको अन्तर्संघर्षको सामान्य र सार्वभौम सिद्धान्त हो । त्यसअनुसार पार्टीभित्र कैयौंपटक गलत तत्त्वहरूविरुद्ध संघर्ष हुन्छ । जुन व्यक्तिहरू पार्टीको सिद्धान्तमा बस्न सक्दैनन्, पार्टीको संगठनात्मक प्रणाली मान्दैनन्, पार्टीको नीति र कार्यक्रम मान्दैनन्, ती व्यक्तिहरू पार्टी छाडेर जान्छन् ।

तपाईंहरू संघीयतालाई बाहिरी एजेन्डा भन्नुहुन्छ, संघीयताले त जनतालाई अधिकारसम्पन्न बनायो नि । यसले स्थानीय तहसम्म जनताको सशक्तीकरणमा योगदान दिएको छैन र ?

पहिलो कुरा त नेपालमा संघीयताको आवाज कम्युनिस्ट वा कांग्रेसले कहिल्यै पनि उठाएनन् । संघीयता पार्टीहरूको माग पनि नेपाली जनताको माग पनि होइन । पहिलोपटक मधेसवादीहरूको आन्दोलनमा संघीयताको कुरा उठ्यो । भारतको ग्राइन्ड डिजाइनमा नै उनीहरूले त्यसरी कुरा उठाए । त्यसको पछाडि नेपालको भलो पनि थिएन, नेपाली जनतालाई अधिकार दिनु पनि थिएन ।

नेपाललाई टुक्र्याएर भारतमा समावेश गर्ने नीति थियो । संघीयताले नेपालमा विखण्डन ल्याउने स्थिति पैदा भयो । त्यसको मूल उद्देश्य नै गलत छ । त्यसका साथसाथै जस्तो अहिले पनि हेरौं, संघीयता जातीय र क्षेत्रीय रुपमा आयो । संघीयतालाई जातीय रुप दिने कुरा त पश्चिमी साम्राज्यवादी देशहरूको हो । त्यसका विरुद्ध हामीले ठूलो संघर्ष गर्नुपरेको छ । पहिलो संविधानसभाको समयमा १२–१४ वटा जातीय राज्य बनाउने धेरै प्रयत्न भए । दोस्रो संविधानसभाको समयमा उनीहरू पराजित भए ।

राज्यको सामन्ती र केन्द्रीकृत स्वरुपलाई बदलेर विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमा आधारित एकात्मक शासनप्रणाली अपनाउनुपर्छ । स्थानीय तहलाई अझ मजबुत पार्नुपर्छ । त्यसलाई वैज्ञानिक रुप दिनुपर्छ । संघीयताले जातीय र क्षेत्रीय द्वन्द्व बढाएको छ ।

राष्ट्रियतामाथि खतरा पैदा भएको छ । राष्ट्रिय विखण्डनको स्थिति पैदा भएको छ । त्यसले गर्दा हामीले संघीयता देशका लागि उपयुक्त छैन भन्दै आएका छौं । संसारमा एकात्मक प्रणाली अपनाएका देशले नै छिटो विकास गरेका छन् । जसले संघीयता अपनाए, तिनीहरूले पनि संघीयतालाई छोड्दै गएका छन् । अमेरिकामा संघीयता भए पनि केन्द्रलाई मजबुत बनाउने नीति अपनाइएको छ । संघीयता विश्वस्तरमै असफल हुँदै गएको छ ।

नेपाली जनताले कम्युनिस्ट पार्टीको यति बलियो सरकार पाएका छन् । संविधान बनेको छ । अघिल्लोपटक प्रधानमन्त्री हुँदा राष्ट्रवादको नारा उठाउँदा जनमत निर्माणमा ठूलो मद्दत मिलेको थियो । यही बेला तपाईं भन्दै हुनुहुन्छ, देशको राष्ट्रियता एकदमै कमजोर भएको छ । परिवर्तनका मुद्दाहरू संस्थागत गर्ने स्थितिमा सरकार छैन । अहिलेको समस्याको हल के हो, त्यसो भए ?

पहिलो कुरा त संघीयता खारेज गर्नुपर्छ । संघीयताको प्रादेशिक संरचना खत्तम हुनुपर्छ । राष्ट्रियताको स्थिति अहिले पनि गम्भीर प्रकृतिको छ । पहिले नाकाबन्दीपछिको अवस्थामा कांग्रेस र प्रचण्डले संविधान संशोधन विधेयकहरू ल्याए, त्यसका विरुद्धमा एमालेले महत्त्वपूर्ण भूमिका खेल्यो ।

सुशील कोइरालाले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउने प्रस्ताव गरे । ओलीले त्यसलाई समर्थन गरे । तर, हामीले त्यसको विरोध गरेका थियौं । जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउँदा तराईमा निर्वाचन क्षेत्र बढेर गए । पहाडमा निर्वाचन क्षेत्र घट्दै गए । त्यो गलत भयो । यसका लागि ओली नेतृत्वको सरकार पनि जिम्मेवार छ ।

संघीयता खारेजको मुद्दा अहिले समाधान होला त ? फेरि मुलुक द्वन्द्वमा जाँदैन पछाडि फर्कँदा ?

संघीयताले देशमा द्वन्द्व ल्याइसकेको छ । त्यसले नै जातिहरू, पहाड र तराईको बीचमा द्वन्द्व बढाएको छ । संघीयताले धेरै नराम्रो काम गरिसकेको छ । अहिले पनि जातीय आधारमा देशलाई विखण्डन गर्न खोजिरहेका छन् । क्षेत्रीय आधारमा विखण्डन गर्न खोजिरहेका छन् ।

तराई र पहाडलाई अलग गर्न खोजिरहेका छन् । यसले देशलाई निश्चित रूपमा विघटनको स्थितिमा लैजान्छ । देशको अस्तित्वलाई समाप्त गर्ने स्थितिमा लैजान्छ । हामीले त्यसलाई पूर्ण रूपमा गलत मानेका छौं । त्यसको समाधान भनेको संघीयतालाई खारेज गर्नु नै हो ।

 अहिलेको संसदीय दल अथवा तपाईंहरूको भाषामा संसदवादमा भासिएका दलहरू एकीकृत हुँदै गएका छन् । अर्काेतिर तपाईंहरू क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू जो सरकार बाहिर हुनुहुन्छ, तपाईं आफैं अर्ध भूमिगत अवस्थामा हुनुहुन्छ । पार्टी भूमिगत छ । यी साना कम्युनिस्ट पार्टीबीच कोअर्डिनेसन, मोर्चाबन्दी वा एकताको सम्भावना छ कि छैन ?

साना कम्युनिस्ट पार्टीहरू बीचमा तत्काल पार्टी एकताको सम्भावना देखेका छैनौं । कार्यगत एकता गर्न सक्छौं । जस्तो वैद्य, विप्लव र अन्य पक्षहरूसँग पनि कार्यगत एकता गर्न सकिने नीति छ । जहाँसम्म कार्यगत एकताको प्रश्न हो, त्यो कम्युनिस्ट घटकहरूसँग मात्रै हुन्छ भन्ने होइन, कम्युनिस्ट भन्दा बाहिरका समान विचार र समझदारीका आधारमा कार्यगत एकता हुन सक्छ ।

पञ्चायतका विरुद्ध २०४६ सालमा नेपाली कांग्रेससँग कार्यगत एकता भएको थियो । २०६३ को जनआन्दोलनमा मधेसवादीहरू र कांग्रेससँग पनि कार्यगत एकता गरेका थियौं । यसकारण, विशेष परिस्थितिमा कार्यगत एकता कम्युनिस्ट घटकभन्दा बाहिरका शक्तिहरूसँग पनि हुन सक्छ ।

तर, अहिले कार्यगत एकताको सम्भावना पनि कम हुँदै गएको छ । खास गरेर विप्लवकै कुरा भन्नुस्, विप्लव समूहले गाउँपालिकाका अध्यक्षहरूलाई धम्की दिने, राजीनामा देऊ नत्र कारबाही गर्छौं भन्ने गरेका छन् । बजेटको दुई प्रतिशत हामीलाई देऊ भन्ने गरेका छन् । हामीले मित्रशक्ति भनेका शक्तिहरूको त्यस प्रकारको कार्यशैलीका कारण पनि सम्भव भइरहेको छैन ।

अन्य पक्षहरूसँग पनि हामीले कार्यगत एकता गरेका छौं । नागरिकताको विषयमा हामीले कैयौं पक्षहरूसँग कार्यगत एकता गरेका छौं । माथिल्लो कर्णाली र लिपुलेकको विषयमा जहाँ समझदारी बन्छ, त्यो अवस्थामा कार्यगत एकता गरेका छौं ।

१० वर्षको प्रयासपछि करिब असफल भएर शान्ति प्रक्रियामा आएको तत्कालीन नेकपा माओवादी (विप्लवसमेत सहभागी पार्टी) एक किसिमले त्यो बाटो छोडेर यता आइसकेपछि विप्लव फेरि त्यही बाटोमा लागिरहेका छन् । यसको पछाडिको कारण केही देख्नुहुन्छ ?

माओवादीहरू जुन बाटोमा गएका थिए, त्यसलाई हामीले गलत भनेका थियौं । त्यो उग्र वामपन्थी हो, त्यसले देशको परिस्थितिसँग मेल खाँदैन भनेका थियौं । एक दशकपछि त्यो कुरा प्रमाणित भएको छ । उनीहरूले पनि महसुस गरे र उनीहरू शान्तिपूर्ण बाटोमा आउनुप¥यो । विप्लव समूहले तिनीहरूको पुरानो जुन विरासत हो, त्यसैलाई नै अगाडि बढाउने प्रयत्न गरेका छन् ।

त्यो निश्चित रुपमा गलत तरिका हो । माओवादीले सशस्त्र संघर्षको बाटो समातेको थियो । तर, विप्लव समूहले बीचको बाटो हो भनेका छन् । बीचको बाटो भनेको बम हान्ने जस्ता केही आतंकवादी तरिकाहरू अपनाएका छन् । जनताबाट अलग भएर गरिने त्यस प्रकारका आन्दोलनलाई हामीले सही मान्दैनौं । तिनीहरूले अपनाएको गलत बाटो हो । त्यो असफल हुन्छ भन्ने हाम्रो दृढ र निश्चित मत छ ।

तपाईंहरूको मोहन वैद्यलगायतका पार्टीसँग मोर्चाबन्दीको कुरा चलिरहेको थियो । त्यो कहाँ पुग्यो ?

त्यो कुरा अहिले चलिरहेको छैन । खासै छलफल भएको पनि छैन । मोहन वैद्यको जोड पार्टी एकतामै थियो । हामीले तत्काल त्यसलाई स्वीकार गर्न सकेनौं । केही विषयमा हाम्रा गम्भीर प्रकारका राजनीतिक मतभेद छन् । अहिलेको संविधानको विषयमै मतभेद छ ।

हामीले संविधानसभामा भाग लिने नीति अपनायौं । उहाँहरूले बहिष्कार गर्नुभयो । संघीयतालाई उहाँहरूले समर्थन गर्नुभएको छ । हामीले विरोध गरेका छौं । जातिवादी दृष्टिकोणलाई उहाँहरूले समर्थन गर्नुभएको छ । हामीले विरोध गरेका छौं । बुर्जुवा गणतन्त्र भए पनि यसलाई संरक्षण गर्नुपर्छ भनेर हामीले भनेका छौं, उहाँहरूले यो प्रतिक्रियावादी हो, त्यसलाई खत्तम गर्नुपर्छ भनेर विरोध गर्नुभएको छ ।

संविधानमा संघीयतालगायत कैयौं पक्षमा हाम्रो विरोध छ । तैपनि, यसलाई बचाउने कुरामा हाम्रो जोड छ । यस्ता कतिपय गम्भीर मतभेदका कारण उहाँहरूसँग हाम्रो पार्टी एकता सम्भव भएन । पार्टी एकता नहुने भइसकेपछि कार्यगत एकतालाई पनि उहाँहरूले अस्वीकार गर्नुभएको छ ।

प्रचण्ड र ओली नेतृत्वको नेकपाले त नेपालका सबै कम्युनिस्टलाई एकीकृत गरेर अब कम्युनिस्ट केन्द्र बनाउने भनेर अभियान सुरु गरेका छन् । उहाँहरूसँगको एकताको सम्भावना कतिको छ ?

उनीहरूसँग जो सहमत हुन सक्छन्, उनीहरूले एकता गर्न सक्छन् । जहाँसम्म हाम्रो प्रश्न हो, हामी उनीहरूसँग नीतिगत, सैद्धान्तिक र संगठनात्मक रुपमा पनि भिन्न छौं र हामी उनीहरुको विरोध गर्छौं त्यसैले पार्टी एकताको कुनै पनि सम्भावना छैन । हामीले त्यसलाई दृढतापूर्वक अस्वीकार गरेका छौं ।

अब अलिकति यो संविधानको कुरा गरौं । संविधानले अबको राज्यको बाटो समाजवाद उन्मुख भनेको छ । स्वाभाविक रुपले कम्युनिस्टहरूको एजेन्डा समाजवाद नै हो । मुलुक त्यतातिर गएको छ ?

हाम्रो अहिलेको कार्यक्रम संविधान उन्मुख नयाँ जनवादी व्यवस्था हो । त्यसको अर्काे स्टेजमा हामी समाजवादमा जान्छौं । तर, समाजवाद उन्मुख भन्नुको अर्थ समाजवादी दिशामा जाने प्रयत्न हो, पोलिसी हो । हामी त्यसलाई गलत भन्दैनौं । आफ्नो कार्यक्रममा पनि त्यसलाई हामीले स्वीकार गरेका छौं । कुनै पनि पक्षले त्यसलाई समर्थन गर्छ भने हामी स्वागत गर्दछौं ।

संविधानले पनि समाजवाद उन्मुख राज्यको निर्माण गर्ने कुरा गरेको छ । त्यसलाई हामी समर्थन गर्छौं । अहिलेको नेकपाले जुन प्रतिबद्धता जाहेर गरेको छ, त्यसलाई पनि हामी सही मान्छौं । तर, हामीले के भनेका छौं भने उनीहरू त्यो दिशामा गइरहेका छैनन् ।

संविधानले त्यसो भने पनि उनीहरूले प्रतिबद्धता प्रकट गरे पनि उनीहरूको नीति, कार्यक्रम र सम्पूर्ण कार्यप्रणाली समाजवाद उन्मुख दिशातर्फ गइरहेको छैन । उनीहरू यथास्थितिमा रमाइरहेका छन् । पुँजीवादी कार्यप्रणालीलाई कायम राख्ने प्रयत्न गरेका छन् । समाजवाद उन्मुख दिशामा उनीहरूले एक कदम पनि चालेका छैनन् ।

कतिले समाजको चरित्र व्याख्या गर्दा अर्ध औपनिवेशिक र अर्ध सामन्ती व्यवस्था रहेन, अब मुलुक पुँजीवादमा प्रवेश गरिसक्यो पनि भनेका छन् । अहिलेको अवस्था के हो ?

हामी त्यो विचारलाई सही मान्दैनौं । उनीहरूले नयाँ जनवादी क्रान्तिको चरण पूरा भइसक्यो, अब हामी समाजवादी दिशामा जाने हो भनेका छन् । जब कि नेपालमा अझै सामन्ती शोषण छ । सामन्ती व्यवस्था कायम छ । औपनिवेशिक शोषण कायम छ ।

साम्राज्यवाद र बहुराष्ट्रिय कम्पनीको शोषण कायमै छ । त्यो अवस्थामा नयाँ जनवादी क्रान्तिको चरण पूरा भयो भन्ने कुरा गलत हो त्यसैले देश पुँजीवादी अवस्थामा गयो भन्ने कुरा पनि हामी मान्दैनौं । देशको पुँजीवादी दिशामा संक्रमण भइरहेको छ । हामी त्यो कुरा स्वीकार गर्दछौं ।

अझै पनि देशको मूल अर्थ व्यवस्था सामन्ती प्रकारको नै छ । गाउँघरको परिस्थिति नै त्यही छ । अहिले समाजवादी कार्यक्रम हुन्छ भन्ने कुरा स्वीकार गर्दैनौं । नयाँ जनवादी क्रान्तिको कार्यक्रम नै अहिलेको कार्यक्रम हो । देश अझै पनि अर्ध सामन्ती र अर्ध औपनिवेशिक अवस्थामा छ भन्ने कुरा हामीले भन्दै आएका छौं ।

केपी ओली र प्रचण्डबीचको एकतालाई कसरी हेर्नुभएको छ ? त्यो मुलुकको निम्ति आवश्यक थियो ?

उनीहरूबीचको जुन एकता हो, त्यो कम्युनिस्टहरूबीचको एकता होइन । यो कुनै राजनीति, राजनीतिक कार्यक्रम र नीतिमाथि आधारित भएर भएको एकता पनि होइन । खास गरेर चुनावको बेलामा उनीहरूले विजय प्राप्त गर्न र नेपाली कांग्रेसको गठबन्धनलाई पराजित गर्न एकता गरेका हुन् । त्यो एक प्रकारको चुनावी तालमेल थियो । तैपनि, त्यसलाई हामीले सकारात्मक रुपले लिएका छौं । किनभने नेपाली कांग्रेसको नेतृत्वमा जुन गठबन्धन भएको थियो, राप्रपा र मधेसवादीहरू त्यसमा थिए ।

नेपाली कांग्रेसका कैयौं नेता धर्मनिरपेक्षतालार्ई खत्तम पार्ने र राजतन्त्रको पुनस्र्थापना गर्ने पक्षमा छन् । त्यो अवस्थामा नेपाली कांग्रेसको नेतृत्वको गठबन्धनले विजय प्राप्त गरेको भए देश प्रतिगामी दिशामा जान सक्थ्यो । तत्कालीन आवश्यकताअनुसार तिनीहरूको बीचमा जुन तालमेल भयो, चुनावी गठबन्धन भयो, त्यसलाई हामीले सकारात्मक रुपमा लिँदै समर्थन ग¥यौं र उनीहरूसँग हामीले सहकार्य पनि ग¥यौं ।

एउटा भू–राजनीतिक प्रसंगमा भन्दिनुस् कि नेपालमा भारत, चीन, युरोपियन युनियन र अमेरिका कहाँनेर छन् ?

पहिलो कुरा त नेपाल भू–राजनीतिक स्थितिमा सबैभन्दा मुख्य भूमिका त चीन र भारतकै छ । चीन पहिले समाजवादी देश थियो । पछि त्यो पुँजीवादी भयो । अहिले त्यो साम्राज्यवादी अवस्थामा पुगेको छ । भारत पनि अब साम्राज्यवादी अवस्थामा पुगिसकेको छ । साम्राज्यवादी देशहरूको आफ्नो मुख्य उद्देश्य आफ्नो साम्राज्यवादी स्वार्थ र उद्देश्यहरू पूरा गर्नमै सीमित हुन्छ । तैपनि, भारत र चीनबीच हामीले अन्तर गरेका छौं । भारतको तुलनामा चीनको भूमिका नेपालका लागि बढी सकारात्मक छ ।

भारतले नेपालमाथि जुन प्रकारले हस्तक्षेप गर्ने गरेको छ, बारम्बार नाकाबन्दी लगाउने गरेको छ । नेपालको राष्ट्रियतामाथि अतिक्रमण गर्ने गरेको छ । त्यसका विरुद्धमा अर्थात् सन्तुलन कायम गर्न चीनको भूमिकाले हामीलाई मद्दत गरिरहेको छ ।

चीन साम्राज्यवादी देश भए पनि चीनको भूमिका सकारात्मक छ । चीन साम्राज्यवादी देश भएकाले दीर्घकालीन रुपमा नेपालको हितमा हुँदैन । तर तत्कालीन अवस्थामा नेपालको भू–राजनीतिक अवस्थाको कारण नेपालको विकास र नेपालको व्यापारको विविधीकरणका लागि सकारात्मक छ ।

शिलापत्र अनलाइनले गरेको अन्तर्वार्ताको सम्पादित अंश ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार