
शुक्रबार दिउँसो २ बजे प्रज्ञा प्रतिष्ठानको एक हलमा नेपाली राजनीति र साहित्यका धुरन्धर व्यक्तित्व उपस्थिति भए ।
कार्यक्रम थियो नेपाल कम्युनिस्ट पार्टीका नेता तथा राष्ट्रियसभा सदस्य दिनानाथ शर्माद्वारा लिखित निबन्धसंग्रह ‘झरीको सौन्दर्य’को लोकार्पण । साथमा शमी साहित्य मासिक पत्रिकाको विमोचन पनि थियो । ‘झरीको सौन्दर्य’ शर्माको ७ औँ कृति हो ।
अनि मञ्चको अग्रपंतिमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ नेता माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ नेता राचन्द्र पौडेल र शताब्दी पुरुष सत्यमोहन जोशीलगायतका व्यक्तित्व आसीन भए । कार्यक्रमको सुरुमा ‘झरीको सौन्दर्य’ माथि कवि बेञ्जु शर्मा, प्रा.देवी गौतम, प्रा.राजेन्द्र सुवेदी लगायतले प्रकाश पारे । उनीहरुले निबन्ध ‘झरीको सौन्दर्य’मा नेता शार्मा सबै पक्षमा पोखिएको बताएका थिए ।
लेखक दिनानाथ शर्माले आफ्नो कृतिहरु आमाका नाममा ल्याएको बताए । साथै उनले भोली आमाको २० औँ स्मृति दिवस परेको चन्दै आज लोकार्पण गरिएको पनि बताए । शर्मापछि मञ्चबाट उठेर बोल्न गए शताब्दी पुरुष जोशी ।
जोशीले सुरुपमा नेपाली साहित्यको तितो अनुभूति सुनाए । र शमी साहित्य पत्रिकाको भविष्यमाथि पनि जोशीले प्रश्न उठाए । साथै जोशीको प्रश्न सिंगापुरमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पनि तेर्सियो । उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको नाराले देश विकास हुँदैन । साहित्यको विकास पनि मुलुक समृद्धिको बलियो आधार हो । प्रधानमन्त्रीले साहित्यको विकासको कुरा गर्नुनै हुन्छ ।’ उनी यतिमै रोकिएनन् ।
जोशीले भने, ‘लक्ष्मीप्रसाद देवकोटाको घरलाई संग्राहलय बनाउने कुरा कहाँ गयो ? अहिलेसम्म किन कुनै काम हुन सकेन । काम नगरेर समृद्धि कसरी आउँछ ? ’प्रधानमन्त्री ओलीले पदभार ग्रहण कै दिन लक्ष्मीप्रासद देवकोटाको जीर्ण अवस्थामा रहेको घरलाई संग्राहलय बनाउने बताएका थिए ।
गणतन्त्रले पनि नदिएको मेलम्चीको पानी
अनि जोशीको प्रश्न बल्ल मञ्चमा आसीन नेतागण तर्फ सोझियो । उनले भने, ‘आज हामी राजतन्त्रबाट गणतन्त्रमा आइराखेका छौँ । यो गणतन्त्र आउँदा राजतन्त्र पनि गयो । ज्ञानेन्द्र पनि गए । यो बीचमा के–के भयो । यतिबेला पनि फेरि विभिन्न ठाउँमा भागबन्डाको कुरा आइरहेको छ । यसले कसरी हुन्छ । गणतन्त्र आएर मात्र विकास हुन्छ ?’
साथै जोशीले प्रचण्डतिर फर्कँदै मेलम्चीको कुरा कोट्याए । ‘ए बाबा मेलम्चीको पानी त खुवाइदिनुहोस् । मेलम्चीको पानी खुवाउनुभयो भने सारा नेपाली तपाईँको पछि लाग्छ नि । अहिले काम नै बन्द छ । आज विहान समाचार हेरेको मन्त्री र सचिवबीच गोलमाल छ रे । के को गोलमाल ? यो गोलमाल पनि त भागबन्डा कै त होला ? सबै जना यही हुनुहुन्छ,’ जोशीले भने, ‘केहीले आउँछ मेलम्चीको पानी ? मेलम्चीको पानी समेत ल्याउन नसक्नेलाई कसले पत्याउँछ । हामीलाई पत्याएन भन्ने ? मेलम्चीको पानी ल्याउनुहोस पत्याउँछन् ।’

जोशी पछि आफ्नो धारणा राख्न पुगेका काँग्रेस नेता पौडेले जोशीको बोलीमा लोली मिलाए । उनले भने, ‘मेलम्ची आयोजना वर्तमान नेपाली राजनीतिको ब्यंग्य हो । मन्त्रीहरुले सुन्दरीजलमा गएर फाटो खिचे पानी ल्याउन कुनै अग्रसरता देखाएनन् । यो पाराले मेलम्चीको पानी आउन अझै कति दशै टर्छन् भन्ने आवस्था छैन ।’ तर नेकपाका नेताहरु मेलम्ची विषयमा प्रवेश नै गरेनन् । नेपाल मेलम्चीको प्रसंगमा नै गएनन् भने प्रचण्डले मेलम्चीबारे बोल्नु छैन भने ।
प्रचण्डलाई अर्धपागल बन्न गरिएको जोड
कवि शर्माले ‘झरीको सौन्दर्य’ माथि प्रकाश पार्ने क्रममा प्रचण्डलाई अर्धपागल बन्न आग्रह गरिन् । उनले भनिन्, ‘साहित्य भनेको मान्छेलाई अर्धपागल बनाउने विधा हो । जसले समाज र देशको परिवेश र दुःख राम्रोसँग नियाल्छ । देश विकासका लागि प्रचण्डजी दिनानाथ शर्मा झै अर्धपागल बन्नुहोस ।
देशले विकासमा गति लिन्छ कि ?’ यस्तै प्रा माधव पोखरेलले त प्रचण्डलाई जनयुद्ध व्यवस्थापनको अनुभवसहितको आलेख लेख्न आग्रह गरे । साथै उनले काँग्रेसले हिजोका कुरा छ, नेकपाले भोलीको कुरा गर्छ । साहित्यले आजको कुरा गर्छ । त्यसैले पनि साहित्यको विकास आवश्यक छ ।’ प्रचण्ड अर्धपागल बन्नुपर्छ भन्ने प्रसंगमा काँग्रेस नेता पौडेलले अब प्रचण्डलाई बौलाउन नहुने तर्क गरे ।
पौडेलले भने, ‘प्रचण्ड पहिले नै बौलाइसके । प्रचण्डलाई कति बौलाउने ? उहाँ बौलाउँदा यत्रो भइसक्यो । अब बौलाउने बेला होइन ।’ नेता नेपालले साहित्य काँग्रेस नेकपाको बीचमा रहेको विषयभन्दा पनि माथि गरेको तर्क गरे । आफूलाई अर्धपागल बन्न दिएको सुझावप्रति प्रचण्डले विमति जानए ।
उनले भने, ‘यहाँ अर्धपागल हुनुपर्ने कुरा आयो । हामी देशप्रति चिन्तित नभइ यहाँ सम्म आएका हैनौँ । म मेट्रिक पास गर्दा देखिनै साहित्यमा निकै रुचि राख्ने व्यक्ति हुँ । म विद्रोहको रुप पनि साहित्यमा लाग्दा लाग्दै आएको हो । म मा साहित्यको अनुराग थियो र छ । साहित्यबारे चासो अहिले पनि छ । लेख्ने वातावरण बनेको छैन ।’
उनले आफू अर्धपागल भएर नै विद्रोहमा लागेको पनि बताए । ‘मैले युवा अवस्थामा धेरै साहित्यिक पुस्तक पढेँ । विकृतिकै कारण विद्रोही चेत आयो । म अर्धपागल भएर राजनीतिमा लाग्नुमा साहित्यको देन छ ।’
रातोपाटीबाट ।







