
लामो रस्साकस्सीपछि सत्ताधारी नेकपाको सचिवालय बैठकले स्कुल विभागको नेतृत्व ईश्वर पोखरेललाई दिने भएको छ ।
योसँगैं सत्ताधारी नेकपामा ओली पक्षधर हावी हुन पुगेको छ । स्कुल विभागको दाबी गर्दै आएका नारायणकाजीले प्रचार विभाग पाएका छन् ।
आजको बैठकले सबैभन्दा धेरै विवादमा रहेको स्कुल विभागको संयोजक ईश्वर पोखरेललाई बनाउने निर्णय गरेको छ । यही विभागको दावी गर्दै आएका नारायणकाजी श्रेष्ठलाई भने प्रचार विभाग दिइएका् छ ।
त्यसैगरी विदेश विभागमा माधवकुमार नेपाल र नीति तथा अध्ययन विभागमा झलनाथ खनाल तोकिएको छ । यसअघि नै सहमति भइसकेका भनिएको संगठन विभागमा बामदेव गौतम नै पक्का भएका छन् ।
अर्थ विभागको प्रमुखमा सुरेन्द्र पाण्डेको नाम टुंगो लगाएको छ । जनवर्गीय संगठनसम्बन्धी विभागीय प्रमुखको भने टुंगो लाग्न बाँकी छ ।
आजको बैठकले सातवटै प्रदेशमा सहइन्चार्ज थप्ने निर्णय पनि गरेको छ । यस अघि प्रदेशमा इन्चार्ज मात्रै राख्ने निर्णय गरिएको थियो ।







