सत्ताधारी नेकपाका पहिलो अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आइतबारको सम्बोधनमार्फत् आफै एक्लैले पाँच वर्ष सरकार चलाउने बताएका छन् ।

“पद नगएको मान्छे कोही देखेको छैन । राजा, महाराजा, सम्राट, बादशाह, जनप्रतिनिधि सबैको पद कुनै न कुनै दिन जान्छ । आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन । त्यसकारण निर्वाचनसम्म धैर्य गर्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु ।”

गत जेठ १५ गते सञ्चारमाध्यमसँगको कुराकानीमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बेला भएको आलोपालो सरकार चलाउने सहमतिको स्मरण गरेका थिए । त्यतिमात्र नभई प्रचण्डले अबको १५ महिनापछि ओली सत्ता हस्तान्तरणका लागि तयार रहनुपर्ने धारणा खुलस्त राखेका थिए ।

तर प्रधानमन्त्रीको आइतबारको सम्बोधनले पार्टी एकताको पूर्वसन्ध्या अर्थात् २०७५ जेठ २ गतेको सहमतिको खण्डन गरेको छ । आगामी निर्वाचनसम्म वर्तमान सरकारलाई नै निरन्तरता दिने प्रधानमन्त्रीको सम्बोधनले प्रष्ट पार्छ ।

जबकि, सहमतिको चार नम्बर बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख छ ।

शान्ति प्रक्रियाका बाँकी काम मेरै नेतृत्वमा पूरा हुन्छ

वर्तमान सरकारालाई बिझाइरहने मुद्दा शान्ति प्रक्रियाका बाँकी कामहरू पनि हुन् । यही थाती रहेका कामले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई उत्तेजित पनि बनाउँछ बेलाबेला ।

गत साउन १३ गते आफ्नै निवास खुमलटारमा नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्तालाई भित्र्याउँदै उनले भनेका थिए– “हेग लगिए पनि मलाई केही फरक पर्ने छैन । हेग लगे भने त म झन् विश्वकै हिरो भएर निस्कन्छु, संसारभरिका जनताले मलाई यो त न्यायको पक्षमा रहेछ शान्तिको पक्षमा रहेछ भनेर चिन्नेछन् । त्यो त मेरो लागि गौरवको कुरा हुन्छ । तर मलाई लाग्दैन, तिनीहरूले लान्छन् र विश्वको हिरो बनाउँछन् भनेर ।”

द्वन्द्वकालीन मुद्दा किनारा लगाउन गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र व्यक्ति बेपत्ता छानबिन आयोग निस्क्रिय हुँदा युद्धका घाउहरू उकल्चिइरहेको थियो । त्यसबाट सबैभन्दा प्रताडित पूर्वमाओवादी केन्द्रका नेताहरु नै छन् ।

केपी ओलीले सम्बोधनका क्रममा दुवै आयोगलाई यसैसाता पूर्णता दिने बताएका छन् ।

“हामीले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठनका लागि प्रमुख आयुक्त, आयुक्तहरूको सिफारिस गर्न सिफारिस समिति निर्माण गरेका छौँ । समिति क्रियाशील छ । यसै हप्ताभित्र दुवै आयोग गठन हुनेछन् । सिफारिस आउनेबित्तिकै बिनाविलम्ब गठन गर्छौँ । र, हाम्रा प्रतिवद्धताअनुरूप नै समुचित ढंगले यस विषयको शीघ्रातिशीघ्र निरुपण गर्दछौँ । समाप्त भएको द्वन्द्वको घाउमा खाटा नबस्नु, घाउ चहर्‍याउनु वाञ्छनीय हुँदैन ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार