
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने लिखित प्रस्ताव पार्टीमा दर्ता गराएका छन् ।
सचिवालय बैठकका पछिल्ला निर्णयहरु प्रति असहमत नेता नेपालले सातबुँदे नोट अफ डिसेन्ट मंगलबार दर्ता गएका हुन् ।
डिसेन्टमा एक ब्यक्ति एक प्रमुख जिम्मेवारीको बैधानिक ब्यवस्थालाई पार्टी अध्यक्षद्वयदेखि सबै ब्यक्तिमा लागू गरियोस् भनिएको छ ।
वरिष्ठता एवम् योग्यतालाई वेवास्ता गर्दै बिना कुनै मापदण्ड कसैलाई खातैखात जिम्मेवारी र कसैलाई जिम्मेवारीविहीन बनाएर अपमानित गर्नु न्यायोचित नहुने उनको पत्रासय छ ।
नेता नेपालले शुक्रबारको सचिवालय बैठकमा ओलीलाई अध्यक्ष छाड्न आग्रह गरेका थिए तर प्रधानमन्त्रीले ठाडै अस्वीकार गरेका थिए । अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि यो ओलीको इच्छामा भरपर्ने भन्दै निर्णय गर्न नहुने बताएका थिए ।
नेकपामा कुनै समय ओलीले प्रधानमन्त्री र अध्यक्ष मध्ये एक पद छाड्नुपर्ने मुद्दा बामदेव गौतमले उठाएका थिए ।
अर्का अध्यक्ष प्रचण्डले पनि आलोपालो प्रधानमन्त्री हुने सहमति भएको स्मरण गर्दै आफूलाई एकल अध्यक्ष दिए ओली पाँच वर्ष प्रधानमन्त्री हुनसक्ने बताएका थिए ।
तर अहिले गौतम र प्रचण्ड दुबै ओलीतिर लागेका छन् भने नेता नेपाल एक्लिएका छन् । ओली निकट भएका गौतम संगठन विभाग प्रमुख भै सकेका छन् ।
वरिष्ठ नेता नेपालले पार्टीको विधानले तोकेको कमिटीका बैठकहरु नबसेको र विधि, पद्धति, मापदण्ड र कमिटी प्रणालीका आधारमा पार्टी नचलेको भन्दै असहममति दर्ज गराएका छन् ।
आफ्नो मानमर्दन गर्ने उद्देश्यले वरियता क्रममा आफूलाई घटुवा गरिएको कुरा पनि ओलीले उठान गरेका छन् ।







